महिनावारी भोजन
‘दुवै जना क्रान्ति र
मुक्तिका कुरा गरेरै नथाक्ने ! आहा ! क्या गजबको जोडी ।’ मेरो मात्र होइन, धेरैको
टिप्पणी ।
छाउपडी प्रथाविरुद्ध
उनीहरूले चलाएको अभियानबाट प्रभावित भएर धेरैले आफूलाई क्रान्तिकारी बनाए । केही
संस्थाले उनीहरूको जोडीलाई नै सम्मान पनि गरे ।
ढल्कँदै गरेको त्यो
साँझ त्यही जोडी नेपालगन्जको दिदीबहिनी भोजनालयमा देखियो । दिदीबहिनीद्वारा
सञ्चालित दिदीबहिनी मात्र कार्यरत उक्त भोजनालयमा मानिसहरूको भिड नै लाग्ने
गर्थ्यो । होटल, भोजनालयमा साँझपख कमै देखिने यो जोडीलाई
मैले पहिलो पटक भेटेको थिएँ ।
“दाजु, आज कता आउनुभो त ?” मैले जिज्ञासा राखेँ ।
“खाना खाऊँ कि
भनेर भाइ !” दाजुको सहज जबाफ थियो ।
“अनि भाउजू पनि ?”
मेरो जिज्ञासा रोकिएन ।
“भाउजू नछुने
भएकी छन् क्या ! यस्तो बेला उनले पकाएको खाना खान पनि भएन । मलाई त चल्छ भन्दा पनि
उनी मान्दिनन् ।” दाजु सामान्य नै देखिए ।
दाजुलाई खाना थपेर गएकी
बहिनीको पछाडि रगतको टाटो देखियो । दाइले भने त्यो दृश्य देखेनन् । भाउजूले देखिन्
कि देखिनन् कुन्नि !