समीक्षा- उद्वेलित मनहरू पनि एकत्रित हुन सक्छन् ! - रुपिन्द्र प्रभावी

Tuesday, December 29, 2009

समीक्षा- उद्वेलित मनहरू पनि एकत्रित हुन सक्छन् !

उद्वेलित मनहरू पनि एकत्रित हुन सक्छन् !

– रुपिन्द्र प्रभावी ‘कटु’

आमा तिम्रो न्यानो काखमा सधै बसौं जस्तो लाग्छ
आँखाबाट आँसुसँगै आफै खसौँ जस्तो लाग्छ

मन पनि अचम्मको हुन्छ । धेरै सुखमा पनि आत्तिन्छ, धेरै दुःखमा पनि आत्तिन्छ । यो मन कहिले के सोच्छ, कहिले के रच्छ । गजलकार देवकी खनाललाई सधैं आमाको काखमा रमाइरहन मन लाग्थ्यो । कहिलेकाहीं आफ्नै आँखाबाट आँसुसँगै खसौंजस्तो पनि लाग्थ्यो । मनले सोचेका कतिपय कुरा साकार हुन्छन् ; कतिपय अधुरै रहन्छन् । देवकी आफ्नै आँखाबाट मात्र खसिनन्, उनी सबैका आँखाबाट सदाका लागि अस्ताइन् । २०६३ भदौ महिना देवकीका लागि ‘दशा’ भएर आयो र टिपेर लग्यो परलोकमा । दुर्घटनाको शिकार भएर उनले आफ्नो इहलिला समाप्त गरिन् । त्यसपछि देवकीको भौतिक उपस्थिति कुनै साहित्यिक गोष्ठीहरूमा रहेन यद्यपि उनका भावनाका कोसेलीहरू हाम्रा लागि सदा उपस्थित छन् जसले देवकीलाई पनि अमर राखेका छन् । 

२०४१ सालमा दुलेगौडा तनहुँमा जन्मेकी देवकी कलिलै उमेरमा साहित्यिक सक्रियतामार्फत् आफ्नो प्रतिभाको परिचय दिन सफल थिइन् । उनको त्यही सक्रियतालाई स्मरणीय राख्ने काम उनी सदस्यसमेत रहेकी संस्था शुक्ला साहित्य संगम, तनहुँले गरेको छ आफ्नो प्रकाशन ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रहमार्फत् । शुक्लाले एउटा साहित्यिक संस्थाले एउटा स्रष्टाप्रति गर्नुपर्ने कर्तव्य पूरा गरेको मात्र छैन, एउटा इतिहासको संरक्षण पनि गरेको छ । छोटै जीवनकालमा पनि प्रशस्त राम्रा काम गर्न सकिन्छ भन्ने कुरा नेपाली साहित्यमा गजल भित्र्याउने मोतीराम भट्टले ३० वर्षको जीवनकालमा प्रमाणित गरेर देखाइदिएका थिए । मोतीरामले भिœयाएकै गजल विधालाई आÏनो साधनाको प्रमुख विद्या बनाएकी देवकी खनालले मोतीरामको भन्दा पनि छोटो उमेरमा उक्त कुरालाई थप पुष्टि गरेकी छिन् । उद्वेलित मनहरूमा श्रृङगारिक धारका नौवटा र एउटा देशप्रेमसँग सम्बन्धित गरी जम्मा दशवटा गजलहरू देवकीको समाविष्ट छन् । कृतिभित्र देवकी एक सफल गजलकारका रूपमा देखिएकी छिन् । 

नेपाली गजलको सुरूवातकालीन सम्वृद्धि नै सामूहिक रूपमा भएको हो । मोतीरामले भिœयाए पनि ‘मोतीमण्डली’ नामक समूहमार्फत् नेपाली गजलले उच्चता प्राप्त गरेको हो । सोही इतिहासलाई एकपटक ‘शुक्लामण्डली’ले पुनर्जागरण गराएको छ–उद्वेलित मनहरूमार्फत् । उद्वेलित मनहरू स्वर्गीय देवकी खनाल सहित दसजना गजलकारहरूका दसदस गजलहरू समेटी शुक्ला साहित्य संगम, दुलेगौंडा, तनहुँले प्रकाशन गरेको संयुक्त गजल सङ्ग्रह हो । दसजना भावुकहरूका उद्वेलित मनहरू एकत्रित हु“दा एउटा सुन्दर गजल सङ्ग्रहको जन्म भएको छ । गजल सागरको उद्वेलनमा आसु श्रेष्ठ, जनार्दन दाहाल, देवकी खनाल, नारायण श्रेष्ठ, निर्जल घायल ‘भीम’, वसन्ती बा“स्तोला, वेणुप्रसाद खतिवडा, श्रीकृष्ण ‘आर्क’, सिर्जना थापा र सुरेन्द्र पौडेल ‘रोहित’का मनहरू उद्वेलित छन् । यस सङ्ग्रहको पहिलो क्रममा गजलकार आसु श्रेष्ठको गजल राखिएको छ । 

सङ्ग्रहमा समेटिएका दस गजलहरूका आधारमा हेर्दा आसु श्रेष्ठ मूलतः राष्ट्रपे्रमी गजलकारका रूपमा देखिएका छन् । नेपाली जनताको नजरका ‘दोषी’ राजतन्त्रलाई टिकाउने खेलका खेलाडीहरूप्रति रूष्ट आसु गणतन्त्रप्रति प्रतिबद्ध र नेपाली राजनीतिप्रति सचेत पनि छन् । भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो≤ देशका यस्ता शत्रुहरूको निर्मूल गर्न जस्तोसुकै कदम चाल्नुपर्नेमा जोड दि“दै राज्यसत्ता हातमा लिएर विदेशी इशारामा देश हा“क्ने अदूरदर्शी नेताहरूलाई उनी धिक्कार्छन् । उनी बालमनोवैज्ञानिक गजलकार पनि हुन् । श्रृङ्गारिक गजलमा पनि आसुको प्रतिभा प्रष्ट देखिएको छ तर यिनी समसामयिक राजनीतिक धारका गजलमा बढी सफल देखिन्छन् । अधिकांश गजलमा पूर्ण काफियाको सफल प्रयोग गरेका यिनले केही गजलमा काफियाका चयनमा उति ध्यान नदिंदा गजल कमजोर बनेका छन् । लयका हिसाबले केही गजलहरूमा लयभङ्ग भएका छन् भने तखल्लुसको सार्थक प्रयोगमा यिनी खप्पिस छन् ।

दोश्रो क्रममा जनार्दन दाहालका गजल समेटिएका छन् । दाहाल समसामयिक धारका गजलकार हुन् । यसअघि नै ‘मधुरिमा’ नामक गजल सङ्ग्रह र ‘कविको मृत्यु’ नामक कविता सङ्ग्रह पठकसमक्ष पस्किसकेका झापाली गजलकार दाहालको यो तेस्रो कृति हो । देशका लागि बलिदानी भएका सहिदका परिवारले सदा रोग, भोक र शोकको शिकार भइरह“दा भ्रष्टाचारी नेताहरूका भने पुस्तौंपुस्ता ऐसआराममा मग्न हुने दुरावस्थाको चित्रण जनार्दन दाहालले गरेका छन् भने देशप्रति सम्वेदनशील यिनी देश उचाल्नका लागि शिक्षित, विद्वान र कलमजीविहरू नै लाग्नुपर्ने विचार राख्छन् । यथार्थवादी जीवनवादी गजलकार दाहालका गजलमा बालमनोविज्ञानको छाप पनि पाइन्छ । सम्पूर्ण गजलहरू सवल हु“दाहु“दै पनि केही गजलहरूमा मात्राको ख्याल नगर्दा लयभङ्ग भएका छन् । 

 सहिदका सालिकहरू चोक कुर्दै छन् 
 तिनका छोराछोरीहरू भोक कुर्दैछन् ।

उद्वेलित मनहरूभित्रकै अर्का सशक्त गजलकार हुन्–नारायण श्रेष्ठ । व्यापारबाट बाँकी रहेको समय साहित्य साधानामा खर्चिदै आएका नारायण लोकलयलाई नजिकबाट छुन सक्ने गजलकार हुन् । उनका प्राय गजलहरू लोकलयमा आधारित छन्, मीठा पनि छन् । आमनेपाली जनताका साझा पीडामात्र उनले ओकलेका छैनन् मुक्तिका लागि एकताबद्ध सङ्.घर्षका लागि आव्हान पनि गरेका छन् । प्रगतिवादी धारका समसामयिक गजलकार नारायण मौलिक संस्कृति र जन्मभूमिप्रति अगाध स्नेह राख्छन् । व्यङ्गयचेत पनि नारायणमा उत्तिकै छ भने गजलको पारम्परिक विषय सुरा र सुन्दरीमाथिको गजल पनि उनका उत्तिकै सफल छन् । केही गजलमा भावको बेजोड प्रस्तुती रह“दारह“दै पनि गजलको अनिवार्य तत्व लयको ख्याल नगर्दा केही गजल कमजोर देखिएका छन् । 

वसन्ती बाँस्तोला पनि यस सङ्ग्रहकी अर्की सशक्त प्रतिभा हुन् । पत्रकारिता र साहित्यलाई एउटै धारमा हिंडाइरहेकी बा“स्तोला मूलतः श्रृङ्गारिक गजलकार हुन् । प्रेम गर्दा हुने समपर्ण, त्याग, वियोग, घात, पीडा आदिको कुशल प्रस्तुती उनका गजलमा छन् । वसन्ती प्रेममा पूर्ण समर्पित प्रेमिका हुन् तर अन्धी प्रेमिका भने हैनन् । हाम्रो समाजमा विदेश गएर धन कमाउने केटा भनेपछि जतिसुकै बत्तीस लक्षणले युक्त युवती पनि हुरूक्क हुने गर्छन् तर वसन्ती विदेश जाने युवकसँग बिहे नगर्ने कुरा गर्छिन् ।

भएन भन्छौ नेपालमा विकास, विदेसिएर के गर्ने 
 विदेश मेरै हो भन्ने साथी छान्दिनँ भो म त ।


वसन्तीले राष्ट्रिय भावनाले ओतप्रोत गजल पनि लेखेकी छिन् । लोकतन्त्रले जनतालाई केके नै देला भन्दा पुरानै शैली देखिंदा उनी असन्तुष्टि पोख्छिन् । केही गजलमा कफिया प्रयोगमा असावधानी र लय र मात्राको तालमेलमा ध्यान नदिंदा गजलहरूले भावको तौल धान्न सकेका छैनन् । 

निर्जल घायल ‘भीम’ यस सङ्ग्रहमा सर्वाधिक तखल्लुख प्रयोगकर्ता गजलकार हुन् । उनले दसवटा मध्ये छवटा गजलमा सातवटा तखल्लुख प्रयोग गरेका छन् । भीम द्वन्द्वको चपेटामा पिल्सिएका नेपालीको मनलाई नजिकबाट पढेर सार्थक शान्तिका लागि आवाज उठाउ“छन् । अबको शान्ति पुनः टायर बाल्नुपर्ने र ईट्टा फाल्नुपर्ने परिस्थितिबाट गुज्रनु नहुने उनको सर्त छ । व्यङ्गचेत भएका उनी आधुनिकताका नाममा अनावश्यक फेसन गर्नेहरूप्रति तीखोको व्यङ्गय गर्छन् । प्रेमभावका पनि उत्तिकै मीठा गजल लेख्ने भीमले लय र मात्रालाई ध्यान दिन सके अझ सफल गजलकार हुने निश्चित छ । 

वेणुप्रसाद खतिवडा पनि उद्वेलित मनहरूका एक सशक्त प्रतिभा हुन् । उनी जनजिब्रोको भाषा शैलीमा गजल लेख्छन् । तसर्थ उनका गजल सरल छन् तर गहन छन् । जनजिन्दगीको मार्मिक व्यथा प्रस्तुत गर्ने गजलकार खतिवडा हाम्रा स्वभिमानी माइलादाइहरू बुढेस कालमा विदेश गएर पैसा कमाउनुपर्ने बाध्यता किन सिर्जना हुन्छ ? भन्ने यक्ष प्रश्न गर्दै के विदेश जाँदैमा सबै समस्या हल हुन्छ त ? भन्ने प्रतिप्रश्न पनि गर्न पुग्छन् । मानिसको बाहिरी आवरण हेरेर उसको वास्तविक चरित्र बुझ्न सकिन्न, त्यसैले नेतालाई भोट दिनेदेखि हरेक कुरामा सचेत रहनुपर्ने उनको तर्क छ । उनी प्रेममा समर्पण खोज्छन् । प्रेममा समर्पण भएपछि प्रेमिकाले हानेको ढुङ्गा पनि गुलाबजस्तो लाग्छ, विष दिए अमृतजस्तो लाग्छ । निकै मीठा सेरहरू उनका गजलमा भेटिंदा भेटिदै पनि कतै भाव खज्मजिएको र कतै कमजोर काफियाको प्रयोगले दाँतमा ढुङ्गा लागेजस्तो भान हुन्छ । 

श्री कृष्ण ‘आर्क’ शुक्ला साहित्य सङ्गमका अध्यक्ष पनि हुन् । उनी र उनका सहयात्रीहरूको सक्र्रियताले उद्वेलित मनहरूजस्तो कृति आमपाठकमाझ आएको छ । सङ्ग्रहभित्र आर्क आदर्शोन्मुख यथार्थवादी गजलकारका रूपमा उभिएका छन् । उनको प्रेममा आदर्श छ, क्रान्तिमा आदर्श छ, पियाइ र जियाइमा पनि आदर्श छ यद्यपि यथार्थको धरातल भने उनले छोडेका छैनन् । नयाँ नेपाल बनाउने बेला घर्किन लागेकोमा चिन्तित श्रीकृष्ण असमानताका विरूद्ध हरेकले आ–आºनो ठाउँबाट लडेर आफूले खोजेजस्तो नया“ नेपाल निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । बेजोड भावका उनका गजलहरूमा कतै–कतै शब्दसंयोजन र अन्दाजेबया“को कमजोरी देखिन्छ भने केहीमा काफिया चयनमा पनि ध्यान दिनुपर्ने देखिन्छ । 

यस सङ्ग्रहकी अर्की गौरव हुन्–सिर्जना थापा । सिर्जना थापा विद्यालयीय शिक्षा हासिल गर्दै रहेकी एक कलिलो उमेरकी स्रष्टा हुन् तर उनका सिर्जनाले उमेरलाई छायामा पारिदिएका छन् । सातवटा चार सेरका र तीनवटा पा“च सेरका गजल लेखेकी सिर्जना नारीवादी गजलकार हुन् । उनी चोरलाई चौतारी र साधुलाई सूली चढाउने कुप्रथा र दण्डीनताको तीव्र विरोध गर्छिन् ।

निर्धालाई त्यसै कहा“ हेप्न पाइन्छ ? 
 हेप्दाहेप्दै टाउकैमा टेक्न पाइन्छ ?


नेपाली जाति र प्रकृतिको चित्रणमा रमाउने गजलकार सिर्जनाको कतै–कतै निराशावादी स्वर देखिए पनि मूलतः आशावादी र आशालाग्दी गजलकार हुन् । थप अध्ययन र साधनामार्फत् आफूलाई परिमार्जित गर्नमा सिर्जना लाग्ने हो भने नेपाली गजल साहित्यले सिर्जनाबाट प्रशस्त आशा राख्न सक्छ । 

सुरेन्द्र पौडेल ‘रोहित’ पछिल्लो समयमा साहित्यिक गतिविधिहरूमा अलि बढी सक्रिय नाम हो । ‘रोहित’ अध्ययनका शिलशिलामा दमौलीमा रहेर पनि पोखरा र आसपासका क्षेत्रमा हुने साहित्यिक अनुष्ठानहरूमा आºनो बरकतले भ्याएसम्म सहभागी हुन्छन् । यसअघि नै दुईवटा कविता सङ्ग्रह प्रकाशन गरिसके पनि उनी गजललाईृ नै आफ्नो लेखनको प्रमुख विधा बनाएर लागिपरेका छन् । यस सङ्.ग्रहमा उनी मूलतः नारीवादी गजलकारका रुपमा उभिएका छन् । एउटा पुरुष भएर पनि नारी वेदनालाई यिनले राम्ररी व्यक्त गरेका छन् । सामाजिक विकृतिलाई देखिनसहने रोहित युवावर्गले देश काँधमा बोक्नुपर्ने जिम्मेवारी बोध गरेमात्र आमसर्वहारा नेपालीको जय हुने वास्तविकता झल्काउ“छन् । संस्कृति र देशप्रेमी गजलकार सुरेन्द्र मर्नुअघि देशका लागि केही न केही गर्ने प्रतिबद्धतामा अडिग छन् । श्रृङ्गारिक धारका गजलमा पनि यिनी उत्तिकै जमेका छन् । लय, संरचना, विषयवस्तु र भावका दृष्टिले यिनका गजल सफल देखिए पनि अन्य गजलकारले जस्तै यिनले पनि काफिया प्रयोगमा ध्यान दिनैपर्छ । 

‘उद्वेलित मनहरू’ उत्कृष्ट गजल सङ्ग्रह हो । दसजनाले लेखेको उपन्यास ‘आकास विभाजित छ’ हो भने दसजनाले लेखेको गजल सङ्ग्रह उद्वेलित मनहरू हो । उद्वेलित मनहरूभित्र विचरण गर्दा शीर्षकमा गजल सारथीको उपाधि पाएका गजलकार दीपक समीपले समालोचनात्मक भूमिका लेखेर पुस्तकमा समेटिएका गजलहरूप्रति न्यायमात्र गरेका छैनन्, आमपाठकलाई समेत सहयोग गरेका छन् । तनहु“को गजल इतिहासलाई समेत केलाउन सफल भूमिकाले मोतीमण्डली र शुक्लामण्डलीको तुलनात्मक अध्ययन पनि गरेको छ । यसरी हेर्दा शुक्लामण्डलीले भूमिका लेखकको चयनमा पनि निकै बुद्धि पु¥याएको देखिन्छ । प्रतिभाशाली गजलकार एवम् आवरण कलाकार विपिन मर्मको सुन्दर अर्ध अमूर्त आवरण चित्रले कृतिको शोभा अझ थपेको छ । विविध विषयवस्तु र फरक व्यक्तित्वका फरक शैलीशिल्पलाई एउटै पुस्तक भित्र पढ्न पाउनु नेपाली गजलप्रेमी पाठकका लागि कम सौभाग्यको विषय होइन जुन सौभाग्य शुक्ला साहित्य सङ्ग्रहले दिएको छ–उद्वेलित मनहरूमार्फत् ।

कृति — उद्वेलित मनहरू (संयुक्त गजलसङ्ग्रह) 
 प्रकाशक — शुक्ला साहित्य संगम, तनहुँ
 कृतिकार — १० जना 
 पृष्ठ — १२०+२६ 
 मूल्य — रू. ६०/-
समिभञ्ज्याङ्ग–५, लमजुङ

No comments:

Post a Comment