बेपर्वाही लापर्वाही
– रुपिन्द्र प्रभावी ‘कटु’
सुकेनासले प्रताडित
बस्तीमा ब्याधिको विरुद्ध
कालो झण्डा बोक्दै
अग्रगमनको गगनभेदी
नारा उर्ल्याउने को छ यो देशमा ?
जीवन बाँच्न मनाही गरिएको बस्तीमा
जिन्दगीको पुत्ला दहन गर्दै
बिकराल जिन्दगी बाँचिरहेछ
मेरो बस्ती र सोधिरहेछ–किन समाचार बन्दैन जिन्दगी ?
मात्र मृत्यु समाचारका हेडलाइनहरु बन्छन् ?
मलाई ऐंठन हुने गरी
बौराइएका प्रेतहरुले निकालेको
राजसी झाँकी
दम्भको कायर ठाँटबाँट र सुरक्षाका आतङ्कहरु
अकिञ्चन बस्ती टुलुटुलु हेर्दै
घुटुघुटु थुक निलिरहेछ
किटीकिटी दाह्रा किटिरहेछ
र अलिकति काँपिरहेछ पनि थरथर
अनि सोधिरहेछ– कि मेरो बस्ती मेरो देशको अङ्ग हो कि होइन ?
वर्षौंदेखि निरन्तर प्रवाहित कर्णालीभित्र
मेरो देशको ढुकढुकी छामिरहेछु म
जाजरकोट, कालीकोट र हुम्ला, जुम्लाको भग्नावशेष
अलिनो पसिनासँग साटिरहेछु प्रवासी पीडा ।
उम्लेको रगत हिउँझैं जमिसक्दा पनि
नाथे राज्य !
बेपर्वाह सुतिरहन्छ कुम्भकर्ण
भुतुभुतु मान्छे मरिरहँदा पनि
नाथे काठमाण्डौ !
संवेदनाशून्य बाँसुरी फुकिरहन्छ निरोको
र नाच्छ अगस्ती स्वभाव
लापर्वाही र बेपर्वाही
बेपर्वाही र लापर्वाही ।
समिभञ्ज्याङ–५,लमजुङ हालः अध्यक्ष, गजल सन्ध्या, पोखरा
No comments:
Post a Comment