कृति समीक्षा सुधामय अग्नियुद्ध - रुपिन्द्र प्रभावी

Sunday, February 7, 2010

कृति समीक्षा सुधामय अग्नियुद्ध

कृति समीक्षा
सुधामय अग्नियुद्ध –रुपिन्द्र प्रभावी ‘कटु’
नेपाली साहित्यको आख्यान विधाहरू मध्ये कथाको पहिचान प्रचीनकालदेखि नै विशिष्ट रहँदै आएको छ । दन्त्यकथाहरू लिखित÷अलिखित रूपमै नेपाली समाजमा प्रचलित छन् । विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लिखित पौराणिक कथाहरू पनि नेपाली साहित्याकाशको मौलिक पहिचान नै हुन् । अग्रज पुस्ताहरूबाट कथा साहित्यका क्षेत्रमा जति योगदान भएको छ समकालीनबाट अपेक्षित योगदान हुन नसकेको भान परिरहेको छ । यही परिवेशबाट एउटा राम्रो भविष्य बोकेर आएको छ– अग्नियुद्ध । नेपाली साहित्यको वर्तमान माहौलमा अधिकांश नव श्रष्टाहरू कविता, गीत, गजल जस्ता काव्य विधामा बढी सक्रिय रहेकै अवस्थामा यसअघि काव्यका विविध पाटोसँग सम्बन्धित नौ वटा पुस्तकहरू पाठकका लागि पस्किसकेकी युवा साहित्यकार सुवि ‘सुधा’ आचार्य कथाको अग्नियुद्धमा होमिएकी छिन् । ‘सुधाका सिर्जनाहरू’ नामक कविता, गजल र गीतको खिचडी संग्रहबाट नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेकी सुधाले त्यसपछि मुक्तकका तीनवटा, गजलका तीनवटा, गीतको एउटा र ताङ्काको एउटा गरी नौवटा संगालो नेपाली साहित्यका पाठकलाई दिएपछि ‘अग्नियुद्ध’ कथा संग्रह उनको दशौं कृति हो । नारीवादी स्वर मुखरित ‘अग्नियुद्ध’ सामाजिक यथार्थवादी कथाहरूको सँगालो हो । नारी–पुरूषबीचको खाडल नै अग्नियुद्धको मूल धार हो । कतै आमा– नारी, कतै छोरी –नारी, कहीँ भाउजू–नारी र सबभन्दा बढी त श्रीमती–नारीका कुण्ठा, पीडा र आक्रोशहरू पोखिएका छन् । नेपाली धर्तीमा यो वा त्यो बहानामा र्सिर्जित द्वन्द्वको पहिलो र सबैभन्दा बढी शिकार पनि नारी नै हुनुप¥यो । कहिले काख रित्याएर, कहिले सिउँदो पखालेर त कहिले माइती घटाएर । अझैं कतिपय अवस्थामा त बलात्कार र मानसिक यातनाको शिकारसमेत बन्नुप¥यो नारी । नारी श्रृष्टिकर्ता हो । सिर्जनाकी प्रतिमुर्ति नारीमाथि हुने विभिन्न खाले अन्यायहरूका पक्षमा नारी नै सक्रिय रहने हाम्रो परम्पराले नारीको जीवनस्तर यथास्थितिमा रहेको आभास दिलाउँदै सुवि ‘अन्याय’ शीर्षात्मक कथामा अरूको प्रगति र सुन्दर घरसंसार देखेर चिढिनेहरूले नारीलाई विभिन्न दोषारोपण गरी घरसंसार भत्काउने दुष्प्रयत्नको शिकार हुनुपरेको सामाजिक यथार्थलाई चित्रण गरेकी छिन् । यद्यपि नारी परचक्री प्राणी होईन । ऊ आफ्नो खुट्टामा उभिन सक्छे । उसँग अपार शक्तिको भण्डार छ । साँच्चै धर्ती नारीको पर्याय हो । ऊ सहन्छे, सहन्छे र सहन्छे अनि एउटा सुन्दर भविष्यको मीठो कल्पनामा संघर्ष गरिरहन्छे शीतयुद्धका रूपमा । र त उँदाउछ धर्तीमा नवीन–प्रभात । यसको मतलव यो होइन कि सबै नारी सही हुन्छन् र सबै पुरूष गलत हुन्छन् । उच्च विलासिताका लागि देहव्यावसायमा संलग्न हुने नारी पनि छन् भने लाज छोप्नकै लागि लाजका गहनाको व्यापारमा संलग्न हुन विवश नारी पनि छन् । त्यस्तो नरकमा आफ्नै चेलीलाई फसाउने दुष्टहरू पनि छन् र छन् त्यस्तो भवसागरबाट पार लगाउन प्रयत्न गर्ने महापुरूषहरू पनि । पसिनाको मोल खाने हो न कि पसिना निस्कने शरीर । आडम्वरी संसारको चलखेलमा घुल्नका लागि देहव्यवसायमा संलग्न नारकिो विकृत चरित्र चित्रण ‘शरीर बेचेको पैसा’ शीर्षकको कथामा गरिएको छ । दाइजोका नाममा सासूले एउटी बुहारीमाथी गर्ने अन्याायलाई ‘दाइजो’ शीर्षकको कथामा प्रष्ट्याईएको छ । आमाबाबुको दवावमा परेर आफ्नी अर्धाङ्गिनी गुमाउने हुत्तिहारा श्रीमान्हरूलाई पनि नराम्ररी दुत्कारिएको छ भने नारीमाथि नै राक्षसी व्यवहार गर्ने नारीप्रति तीब्र रोष प्रकट गरिएको छ– “जब सम्म तपाईंकी आमाजस्ती राक्षसनी सासूहरू,दाइजोका भोगीहरु यो समाजमा रहन्छन् तबसम्म हजारौं राधाहरु मर्नेछन् ।” “खोलो त¥यो, लौरो बिस्र्यो ” भनेझंै आफूलाई अनेकौं कष्ट सहेर जन्माउने–हुर्काउने आमाबाबु वा अभिभावकप्रति दुव्र्यवहार गर्ने सन्तानलाई राम्रो शिक्षा कथाकार सुधाले दिंदै “म ताक्छु मूढो, बञ्चरो ताक्छ घँुडो” भनेझैं हुँदा पनि अभिभावकको आफ्नो सन्तानप्रतिको मोह नघट्र्ने मातृवात्सल्य प्रेमको कुशल उद्घाटन उनी ‘सन्तान प्रतिको मोह’ र ‘वचनको पालना’ शीर्षकको कथामा गछिन् । कथाकार सुविले जीवन र जगत्का विभिन्न संगति र विसंगतिहरूलाई यथार्थ ढंगबाट चित्रण गरेकी छिन् । सामाजिक यथार्थवादी धारका अधिकांश कथाहरूमा नारी स्वर मुखरित भएका छन् । उनको मुलभूत कथागत प्रवृति पनि यही नै हो । अग्नियुद्धभित्र समेटिएका अठारवटै कथाहरूमा कुनै न कुनै रूपमा उखान–टुक्काहरूको उचित प्रयोगले लोकजीवनलाई निकटबाट र सुक्ष्म तरिकाले नियालेर आक्षरिक चित्र उतार्न सक्ने स्रष्टाका रूपमा सुविलाई उभ्याएको छ । अधिकाँश परिष्कृत र पात्रानुकूलको भाषाशैली प्रयोग गरिए पनि केहीमा निम्नवर्गीय पात्रका लागि काव्यात्मक र परिष्कृत भाषा शैली उति सुहाएको छैन । स्रष्टाहरू सामाजिक विकृतिको अन्धकार हटाएर उज्यालोको खोजी गर्ने अन्वेषक हुन् । सुविलाइृ पनि दमन, उत्पीडन, वर्गीय भेद आदि मन पर्दैन । यसका विरूद्ध उनका कलम दौडिनु स्वभाविक हो । कथावस्तुको छनोटमा निकै कुशलता देखाउन सफल सुवि सुधा आफ्नै परिवेश, गाउँठाँउमा बारम्बार घटिरहने विविध खाले घटनाहरूलाई आफ्ना कथाका कथानक बनाउँछिन् । त्यसो त सबै घटना कहाँ कथा बन्छन् र ! अग्नियुद्धभित्र आर्शिवचन दिंदै वरिष्ठ साहित्यकारचेतन कार्कीले भन्नुभएको छ –“सबै घटना समाचार बन्दैनन् , सबै इतिवृत्तहरू इतिहास बन्दैनन् ।” सुवि सुधा विविध सामाजिक घटनाहरूलाई आफ्नो भोगाइसँग साटेर प्रस्तुत गर्छिन । उनका कथाहरू पढ्दा लाग्छ ‘कतै यो कथावस्नु मेरो आफ्नै समाजको, परिवारको वा मेरो आफ्नै त होइन !’ कथाहरू कतै जिम्मेवारी बोध गराउँछन् , कतै विद्रोहका लागि उत्साह दिन्छन् । विविध खाले सामाजिक, उत्पीडन , दमन र अन्यायका विरूद्ध सशक्त आवाज मुखारित हुनु उनको कथागत प्रवृति हो । समग्र नेपाली साहित्यमै नारी स्रष्टाको अभाव पटकपटक खड्किरहन्छ । अझ कथा विधामा त नारी स्रष्टाको सहभागिता औलामा गन्न सकिने अवस्था छ । यस्तो अवस्थामा नारी कथाकारका रूपमा उदाएकी सुविको कथाकारिताले नेपाली कथा साहित्यमा थप टेवा पु¥याउन सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । यौन कुण्ठाको पनि कुशल प्रस्तुती रहेको यस पुस्तक यौनका विषय नै लाजको विषय सम्झने हाम्रो पुरातनपन्थी समाजका लागि एउटा राम्रो शिक्षा हो । यौन जसको बारेमा खुलेर कुरा, बहस गर्ने अवसरका अभावमा अनेकौं दुर्घटनाहरू हुने गरेका छन् । त्यस्ता कुप्रवृत्तिलाई निरूत्साहित गरी सभ्य यौनको सदुपयोगका लागि पनि सुवि घुमाउरो सन्देश दिन्छिन् । रत्नराधिका र अन्य साहित्यिक पत्रिकाहरूमार्फत् पत्रकारितासमेत गर्ने कथाकार सुवि आधुनिकताका नाममा आँखा चिम्लेर फाल हाल्दा हाम्रा चेली वा छोरीहरूले भोग्नु परेका दूरावस्थाको पनि ‘कथानक रिपोर्टिङ’ गर्छिन् । यसरी हेर्दा ‘अग्नियुद्ध’ अमृतसरह मीठो छ । केही कथाहरू लघुकथाजस्ता लाग्ने अग्नियुद्धभित्र कथाभन्दा बढी कथाकार बोलेको आभास कतैकतै पाइन्छ । आन्तरिक र बाह्य दुवै दृष्टिविन्दुको प्रयोग भएको कथाहरूमा हरेक कथाहरूको उठान परिवेश चित्रणबाट गरिएको छ जसले गर्दा कथामा घटित घटनाका बारेमा पाठकलाई मानसपटलमा एउटा पूर्वाधार निर्माण गर्न सहयोग पु¥याउँछ भने ती परिवेशहरूले पाठकलाई आफ्नै गाउँघरको कथा पो छ कि भन्ने उत्सुकता पनि थपिदिन्छ । ‘युद्ध’ त्यो पनि ‘अग्नियुद्ध’ । सामान्य तवरले सोच्दा यो कुनै राजनीतिक युद्ध हो कि भन्ने भान पर्छ तर यस युद्धमा राजनीतिक, सामाजिक विकृतिविरूद्धका अनगिन्ती युद्धहरू समावेश छन् । पुस्तकको नामचाहिँ यौनमनोविज्ञानमा आधारित ‘अग्नियुद्ध’ नामक कथाबाट दिइएको छ जसमा यौनक्रीडालाई अग्नियुद्धको प्रतीकका रूपमा उभ्याइएको छ । कुल १२८ पृष्ठको भूगोलभित्र रचिएको अग्नियुद्ध साँच्चै सुधामय कथाहरूको सँगालो बनेको छ जसको रसपान जो कसैलाई गरुँगरुँ लाग्छ ।
कृति – अग्नियुद्ध (कथासंग्रह)
कथाकार –सुवि ‘सुधा’ आचार्य
पृष्ठ – १० ११८
मूल्य – रू ५०
प्रकाशक – रत्नराधिका साहित्य परिषद्, ललितपुर (२०६३)

समिभञ्ज्याङ्ग–५,लमजुङ,
हालः पोखरा

No comments:

Post a Comment