चिराग, बुख्याँचा र सपना
–रुपिन्द्र प्रभावी ‘कटु’
रातो आँसुले
लछप्पै भिजाएर बालेको चिराग ठोसेर
सहकार्यमा जीवित बुख्याँचाहरूको
सहअस्तित्व विरुद्ध
पड्क्यो नुनिलो र सुवासिलो पसिना !
बधशालाको सिकुवामा
तुर्लुङ्ग झुण्ड्याएर देश
रसाइरहेको शीतपान गर्दै
तिर्सना मेटाउने
यी बुख्याँचाहरूको नग्ननृत्य
कति हेर्नु बेसुर बेसुर
कति झुल्नु
वल्लो घाट न पल्लो तिरका लम्बेतान
झोलुङ्गोहरूमा !
धुवाँदार सपनासँगै तौलेर मुुटु
राखेर बन्धकी फोक्सो र आमाशय
रातो आँसुले
लछप्पै भिजाएर बालेको चिराग बोकेर
बुख्याँचाहरूको गोप्यता छिचोल्दै
पुग्यो जूनकिरी पिलपिल पिलपिल ।
जलपयुक्त चारित्रिक कलेवरमा
कसले जिम्मा लिन सक्छ स्थायित्वको
पहाडहरू छन् चुपचाप
उकालाहरू छन् मौन
बस्तीहरू पनि हुन सक्छन् समानान्तर
मानौँ, आँधीपूर्वको कोलाज हुन् यी
रातो आँसुले
लछप्पै भिजाएर सल्काएको चिराग
दन्काउँदै
माते–माते जसरी
काँपे–काँपे जसरी
हल्लिए–हल्लिए जसरी
पर्दा च्यातेर
बुख्याँचाहरूको साम्राज्यमा छि¥यो
र
झोस्यो जूनकिरी
उज्यालो विस्फोटनका खातिर ।
No comments:
Post a Comment