समालोचना
पोखरेली मुक्तक कृति : एक सिंहावलोकन
– रुपिन्द्र प्रभावी
‘मुक्तक’ शब्दको व्युत्पत्तिगत अर्थले मात्र यसको पहिचानलाई अब थेग्न सक्दैन । ‘मुक्त’ वा ‘छुट्टै रहेको’ भन्ने अर्थ दिने ‘मुक्त’ शब्दमा ‘क’ प्रत्यय लागेर बनेको ‘मुक्तक’ शब्दले विषयगत मुक्तिको मात्र भार थेग्न सक्छ; पूर्वापर प्रसङ्गबाट मुक्त, आफैंमा पूर्ण रचना भन्ने अर्थ बोक्न सक्छ । जसरी गजलले शब्दार्थगत सीमा भत्काइसकेको छ, मुक्तकले पनि त्यो सीमा नाघिसकेको छ । दुईदेखि ८÷१० हरफसम्मका टुक्रे कवितालाई पनि मुक्तक भन्नु सरासर गलत हो ।
मुक्तक स्वतन्त्र काव्य–विधा हो । यसका आफ्नै मूल्य र मान्यताहरू छन् । मुक्तक फारसीको रुवाइयात शैलीबाट प्रभावित हुन्छ तर रुवाइयात नै हुनुपर्छ भन्ने छैन । मुक्तकका लागि पहिलो सर्त चार हरफ नै हो । मुक्तकका चार हरफमध्ये पहिलो, दोस्रो र चौथो हरफमा तुक (अनुप्रास) मिलाइनुपर्छ भने तेस्रो स्वतन्त्र हुन्छ । रुवाईमा गजलमा काफिया मिलाएझैं कडा नियमभित्रका अनुप्रासहरू प्रयोग गर्नुपर्ने हुन्छ । गजलमा कवितामा जस्तो खुकुलो अनुप्रासहरू प्रयोग गर्न पाइँदैन भने रुवाईमा पनि गजलमा जस्तै कडा अनुशासनपूर्वक अनुप्रास मिलाउनुपर्छ तर मुक्तक भने त्यो कडाइबाट मुक्त हुन्छ । रुवाई र मुक्तकको विधागत भिन्नता नै यही हो अर्थात् हरेक रुवाईलाई मुक्तक भन्न सकिन्छ तर हरेक मुक्तकलाई रुवाई भन्न सकिंदैन । ‘मुक्तक’ र ‘रुवाई’ समानार्थी शब्द होइनन् । मुक्तकमा प्रयोग गरिने अनुप्रासहरू उही दोहोरिन पनि सक्छन्, स्वर–समानतामात्र पनि हुन सक्छन् वा रुवाईमा झैं आंशिक वा पूर्ण अनुप्रासयुक्त पनि हुन सक्छन् । रुवाईमा अक्षर वा मात्राको समानता जरुरी छ भने मुक्तकमा मात्रा वा अक्षरको समानता भए राम्रो, नभए पनि फरक पर्दैन अर्थात् वाचनमा बाधा नहुने गरी २÷४ अक्षरको असमानतामा पनि मुक्तक लेख्न सकिन्छ । मुक्तकको विशेषता गायनयोग्य हुनुभन्दा पनि चोटिलो ढङ्गले वाचन गर्नुमा निर्भर रहन्छ । कुनै एउटा निश्चित विषयमा सिलसिलाबद्ध ढङ्गले चार हरफमा गरिनुपर्ने सशक्त र पूर्ण प्रस्तुति नै मुक्तक हो, जसमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त हुन्छन् भने तेस्रो हरफ अनुप्रासयुक्त नहुन पनि सक्छ । नेपाली मुक्तक लेखन–परम्परामा चार हरफभन्दा कम वा बढी हरफका छोटा तर चोटिला रचनालाई मुक्तक भनिदै आएको पाइन्छ । छोटा भने पनि लामो भने पनि मुक्तकको सीमा, प्रकृति वा विशेषता जे भनौं, चार हरफ नै हो । यहाँनेर केलाई एक हरफ मान्ने भन्ने प्रश्न पनि आउन सक्छ । एक वाक्यात्मक अभिव्यक्ति दिने पदावली नै एक हरफ (पङ्क्ति वा पाउ) हो, जसले अर्थको थप पुष्टिका लागि अन्य पद वा पदावलीको अपेक्षा राख्न पनि सक्छ । चोटिला र छोटा हुनेबित्तिकै सबै रचनाहरू मुक्तक हुन सक्दैनन्, ती रचनाहरू लघुकविता, छोक, सूत्र–कविता, टुक्रे कविता वा कविताका अन्य भेद हुन सक्छन् । रुवाई, चतुस्पदी हुँदै नेपाली साहित्यमा स्थापित मुक्तक आफैंमा स्वतन्त्र छ । मुक्तक रुवाईबाट प्रभावित छ भन्ने कुरामा दुईमत छैन तर मुक्तकको परिभाषा रुवाईमा विलय गर्न वा रुवाईको परिभाषा मुक्तकमा विलय गर्न सकिँदैन । मुक्तक त नेपाली साहित्यमा भिन्न पहिचानसहित केही सिक्दै, केही थप्दै स्थापित र विकसित विधा हो । मुक्तक र रुवाईको आ–आफ्नो स्वतन्त्र अस्तित्व स्वीकार्नु आवश्यक छ । रुवाई भनेर लेखे पनि मुक्तक भनेर लेखे पनि त्यो लेखकको स्वतन्त्रता हो तथापि नेपालीमा रुवाईलाई पनि मुक्तक नै भन्नु बढी श्रेयस्कर लाग्दछ अर्थात् उर्दू–फारसीको रुवाई नेपालीमा मुक्तकका रूपमा विकास भएको छ ।
मुक्तकको यो भिन्नै संरचना भाव प्रकाशनमा पनि भिन्न पारा प्रकट गर्छ– “पुतलीले फूललाई छुँ–छुँझैं गरेर नुछुँझैं गरी उडेर फेरि फूललाई नै छोएजस्तो ।”
पोखरेली साहित्यमा मुक्तक पहिलेदेखि नै लेखिंदै आएको पाइए पनि स्पष्ट खाका भने तीसको दशकमा कोरिएको पाइन्छ । तीसको दशकका सक्रिय प्रतिभाहरू भूपि शेरचन, सरुभक्त, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, विश्व शाक्य, बद्री विनोद ‘प्रतीक’, विजय बजिमय, कृष्णप्रसाद बाँस्तोला, उषा शेरचन, हरिदेवी कोइरालालगायतले मुक्तक तथा मुक्तकजस्ता रचना लेखेको पाइन्छ । पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०३५ मा ‘टिकटमा मुक्तक’ कार्यक्रम चलाएपछि पोखरामा मात्र नभई नेपाली साहित्यमै मुक्तकको लहर र लोकप्रियता एकाएक बढेको पाइन्छ । करिब–करिब एक दशक समयावधि पोखराको सम्पूर्ण साहित्य मुक्तकमय बन्यो । केही व्यक्तिगत मुक्तकसंग्रह, केही पत्रपत्रिकाका मुक्तक विशेषाङ्क प्रकाशन तथा केही संघ–संस्थाले मुक्तक प्रतियोगिता गर्ने परिपाटीको विकास यसैबेला भयो । नेपाली साहित्यिक इतिहासमै टिकट काटेर साहित्यिक सिर्जना सुन्ने परम्पराको थालनी पोखराबाट ‘टिकटमा मुक्तक’ कार्यक्रममार्फत् भएको मानिन्छ । सिर्जनाको मूल्य खोज्ने संस्कारको विकास पनि सोही कार्यक्रमले गरेको हो । मुक्तकको उत्थानले पोखरामा गति लिइरहेकै अवस्थामा पचासको दशकको प्रारम्भतिर दीपक समीप, रमेशचन्द्र घिमिरे, भूपिन व्याकुल, सरस्वती श्रेष्ठ ‘सरु’, नवीनचन्द्र घिमिरे, सुरेश रानाभाटलगायतको योगदान उल्लेख्य मानिन्छ ।
पोखरामा मुक्तकको लहर अत्यन्त तीव्र गतिमा लहरिए पनि वास्तविक मुक्तकको धार भने स्पष्ट रूपमा बग्न सकेन । मुक्तकको सैद्धान्तिक एकरूपता पोखरेली मुक्तकमा भेटिंदैन । विषय र प्रस्तुतिका हिसाबले अत्यन्तै चोटिलो र सामयिक तथा भावगत हिसाबले पनि गहन ‘मुक्तक’ शीर्षकका रचनाहरू लेखिएका पाइन्छन् तथापि मुक्तकको विधागत पहिचान दिन सक्ने रचना कमै पाइन्छन्; नवप्रवेशीहरूमा त ‘केलाई मुक्तक भन्ने ?’ भन्ने प्रश्नसमेत सिर्जना भएको भेटिन्छ । यहाँ दुईहरफे टुक्रादेखि ८÷१० हरफका लघुकवितासम्मलाई मुक्तक शीर्षक दिएर छापिएको पाइन्छ । हरेक छोटा काव्य–रचनालाई मुक्तक भन्ने परम्परा पोखरामा चलेको पाइन्छ । यहाँबाट प्रकाशित एक दर्जनभन्दा बढी मुक्तक–संग्रह तथा विशेषाङ्कहरूमध्ये पचास प्रतिशत भन्दा कम मात्र मुक्तक संरचनाभित्रका रचनाहरू भेटिन्छन् ।
पचासको दशकको मध्यदेखि साठीको दशकको सुरुसम्म पोखरेली साहित्यमा गजलको माहौल बढ्यो भने मुक्तक केही सेलाएजस्तो भएको थियो । त्यसपछि भने झण्डै गजलकै हाराहारीमा मुक्तकको रौनक बढेको देखिन्छ । नवप्रवेशी मुक्तककारहरू छोटो कवितालाई मुक्तक मान्ने पक्षमा छैनन् । उनीहरू चार हरफमा मुक्तक लेख्छन् । पोखरेली मुक्तकको विकासका लागि चार हरफ वा त्यसभन्दा घटीबढी जे लेखे पनि त्यसले महत्व भने राख्छ नै । माथि उल्लेख गरिएका बाहेक पोखरामा मुक्तक लेख्नेहरूमा रविलाल अधिकारी, यमनाथ देवकोटा, मुकुन्दशरण उपाध्याय, कुलबहादुर केसी, गेहेन्द्रभूषण पोखरेली, दीपक सोती, विनोद गौचन, सूर्य खड्का ‘विखर्ची’, नुमराज बराल, नरहरि गौतम, कुसुमाकर न्यौपाने, मदन भण्डारी, इन्द्र राना ‘प्रतीक’, झलक सुवेदी, नवराज अधिकारी, रामबहादुर बानियाँ, रमेश श्रेष्ठ, सुरेन्द्र थापा मगर, युमा, भोला विरही, तिलकप्रसाद पुन, नन्द श्रेष्ठ ‘सेवक’, कुसुमकेशव पराजुलीको नाम उल्लेख्य छन् । त्यसै गरी प्रभा बराल, अदिती शर्मा, केशु शर्मा, प्रकाश घिमिरे, सफल घिमिरे, सरस्वती प्रतीक्षा, सञ्जीव पौडेल, रामचन्द्र अधिकारी, कृष्ण देवकोटा, प्रकाश ज्ञवाली, सुष्मा पौडेल, काशीनाथ कुमाल, कपिल शर्मा ‘संजोग’, कृत्रिम स्याङ्जाली, सुरेन्द्र सदिच्छा, कमल अथक, सूर्यप्रकाश मल्ल ‘सुवास’, भुवन क्षेत्री, हेमन्त हितैषी, कृष्ण उदासी, लक्ष्मण थापा, शीतल गिरी, रेशम गिरी, कृष्णमोहन श्रेष्ठ, ईश्वरमणि अधिकारी, लक्ष्मण गौतम, बलराम पूर्णविराम, अस्मिता भट्टराई ‘अस्मी’, छन्दमणि, छन्दिका, सुमन श्रापित, जीवन ‘सागर’ भण्डारी, प्रतिभा शर्मा, शिशिर पौडेल, जनार्दन दाहाल, गणेश शर्मा, एकदत्त लम्साल, हेम सुवेदी, प्रकाश पन्त, सन्तोष अधिकारी, रोचन घायल, आमोद, सुरज उपाध्याय, सरिता ‘अनपढ’, गोपाल खनाल, ठाकुर समीर पाल्पाली, दुरा बाबु, सरोज आत्रेय, अदिप्तज्योति, किशोर अधिकारी, विराज रसाइली, विनोद रसाइली, ऋषि जमरकट्टेल, अल्पज्ञानी, रविराज बसौला, फडिन्द्र अकिञ्चन, रीता गिरी, अनिल शर्मा सुवेदी, जीवन पौडेल, दुर्गा भण्डारी, सरिता पौडेल, रमेश पौडेल, सर्वज्ञ श्रेष्ठ, अनुराग अधिकारी, सिर्जना ‘तृष्णा’, पवित्रा भण्डारी ‘पारु’, सरला लामिछाने ‘सरु’, विजय उत्सव, कविता घले, बिर्सना बस्नेत, हिरामणि ‘हावा’, विमल मायालु, प्राणपखेरु, देवी बराल, डिल्लीराम लामिछाने, भरतराज पौडेल, हरिमाया पराजुली, सूर्य भाइ, राजु खड्का, रामजी लम्साल, चन्द्रप्रकाश पौडेल, तारा पाखे, कल्याण पन्त, हरिहर खनिया (शशाङ्क शेखर), जमूना गैह्रे, लक्ष्मी थापा, लक्ष्मी पौडेल, कृति चिलुवाल, तीर्थ गुरुङ, जनार्दनशरण त्रिपाठी, मिलन के.सी., देवी त्रिपाठी, यज्ञराज पौडेल, निष्प्रभ सजी, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद जमरकट्टेल, शिवराज रेग्मी, जे. अस्मिता, मुक्ति पराजुली, बसन्ती बाँस्तोला, शिमबाबु, रावलकृष्ण, गण्डकीपुत्र, ईश्वर लामिछाने, रती भट्टराई, अर्जुन अधिकारी, विकास भुसाल, जमुना आर.सी, इन्द्र तिलस्मी ‘दीप’, दीपेश पौडेल, निकुञ्ज तिवारी, राम पौडेल, शङ्कर गिरी, नवराज ‘चिन्तन’, राजिन पनेरु ‘संघर्ष’, हरिकृष्ण पोखरेल, अनिल केसी, अन्तिम केसी, सायरा खातुन, महेन्द्र लामिछाने, सङ्गीतस्रोता, शैलज, किशोर मनस्वी, विभास, दीपक परियार, मन क्षेत्री, सङ्गीता केसी, विवश थापा ‘आँसु’, रञ्जित महतो, एस.टी.राज, निशान पौडेल, विभु भुसाल, रीता गुरुङ, अर्जुन सुवेदी, उत्तम अधिकारी, लक्ष्मण ‘संकल्प’, सञ्जय भण्डारी, धु्रवगोपाल पराजुली, विश्वराज रसाइली, अनन्त वाग्ले, सविना सुनाम, कोकिल लिम्बु, गोविन्द सिञ्जाली, पुनम केसी, टंक गैह्रे, शकुन्तला ज्ञवाली, वसन्त विनोद, लेनिन कान्छा, रवि ‘किनारा’ लामिछाने, ज्वलन्तप्रेमी, के.आर. ढकाल, लक्ष्मी गौडेल, जयन्ती गौडेल, रश्मी कडरिया, रमा अधिकारी, देशभक्तसिंह कुँवर, वसन्त सिग्देल, सोमनाथ लम्साल, तीर्थराज ढकाल, छवि सुवेदी, ताराप्रसाद पोखरेल, दुर्गाबहादुर शाह ‘बाबा’, महेन्द्र ‘असफल’, भगवती सुवेदी, उज्ज्वल ओझा, सौगात ‘संघर्ष’, सङ्गीता खड्का, विजय रानाभाट, दीपकराज त्रिपाठी, सुरेश ढकाल, सुजन गैह्रे, यशोदा गौतम, ज्ञानेश्वर पौडेल, लक्ष्मी सुवेदी, असफल गौतम, शिव ‘पलाँस’, देवानसिंह थापा, निस्तब्ध ‘निश्चल’, केशवराज सिग्देल, जीवनाथ बराल, पार्वती पहारी, शान्ति गिरी, प्रज्ज्वल ‘अथक’, विपिन मर्म, सन्दिप ‘सन्देह’, कल्पना पौडेल, सन्तोष बगर, प्रतिमा खरेल, हिमाल पौडेल, प्रिया कार्की, सुरज मुस्कान, गोकुल रिजाल, नवीन भण्डारी, कुलप्रसाद आचार्य, पुष्पराज आचार्य, रामजीप्रसाद आचार्य, सन्तोष पराजुली, कुमार रोका, मुक्तिराम रेग्मी, सन्तोष कुइँकेल, वसन्त शर्मा, सरस्वती पाठक ‘सहयात्री’, गोमा पौडेल, सूर्य गिरी, सी.बी. रानाभाट, प्रवीना ‘किरण’, नवीन बी.टी., सुनिता ज्ञवालीलगायतले पनि मुक्तक विधामा कलम चलाउँदै आएको पाइन्छ । अझ यस लहरमा नाम छुटेका अग्रज र समकालीन थुप्रै मुक्तककारहरू मुक्तकलेखनमा सक्रिय छन् भने मुक्तककै उत्थानका लागि पोखरामा मुक्तक मञ्च, पोखरा क्रियाशील छ । मञ्चले हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्ने मुक्तकवाचन कार्यक्रममा मुक्तककारहरूको ओइरो देख्न सकिन्छ । यहाँका विद्युतीय तथा छापा संचारमाध्यमहरूले पनि मुक्तकलाई राम्रै स्थान दिएको पाइन्छ ।
पोखराबाट प्रकाशित सरुभक्तको ‘बन्द खामभित्र’ प्रथम मुक्तकसङ्ग्रह मानिन्छ । त्यसपछि प्रकाशित कृतिहरूमध्ये विश्व शाक्यको ‘पुड्के मान्छेका पुड्का कविताहरू’ लाई कवि स्वयम्ले कविता सङ्ग्रह भने पनि केही समीक्षकहरूले मुक्तक संग्रहकै लहरमा राखेको पाइन्छ । यस संग्रहका सम्पूर्ण रचनाहरू लघुकविता नै हुन् यद्यपि केही मुक्तकजस्ता कविता पनि छन् । कवि कृष्ण भण्डारी ‘मुमुक्षु’ को ‘रुद्रावती’ लाई पनि कवि स्वयम्ले कविता विधाअन्तर्गत राखेका छन् । यस सङ्ग्रहमा सङ्ग्रहित सम्पूर्ण रचनाहरू चार हरफमा भए पनि अधिकांश कविताहरू छन् भने केही मुक्तक पनि समाविष्ट पाइन्छन् । त्यसैगरी कवि तेजनाथ घिमिरेको ‘अनावरण’ मुक्तक संग्रहका नाममा आए पनि चार हरफे कविताका रूपमा लेखिएका रचनाहरू समावेश गरिएको पाइन्छ । पोखराबाट प्रकाशित अधिकांश मुक्तक सङ्ग्रहहरूमा केही स्थापित मुक्तकसम्बन्धी सैद्धान्तिक अवधारणामा बद्ध रचना छन् भने केही मुक्त रचना छन् । यसरी हेर्दा पोखरामा तीन ढंगबाट ‘मुक्तक’ लेखिएको पाइन्छ – छोटो कविता, रुवाई र मुक्तक । पोखराबाट सरुभक्तको बन्द खामभित्र २०३५ मा प्रकाशन भएपछि दिलिप दोषीको ‘अर्को सगरमाथा’ (२०४५), सुकुम शर्माको ‘अमिला अणु’ (२०४८), रुद्रबहादुर थापाको ‘नाङ्गै उभिएको समय’ (२०४९), ज्यालादारीको ‘रगतका छिर्का’ (२०४९), कृष्ण तामाङ ‘उदासी’ को घायल (२०४९), नारायण मरासिनीको ‘समयका धब्बा’ (२०५१), कृष्णप्रसाद बाँस्तोलाको ‘मुक्तक बत्तीसा’ (२०५२), सरुभक्तको ‘हजार बुद्धहरू’ (२०६१), तीर्थ श्रेष्ठको ‘महाभारतका गीतहरू’ (२०६२), गोविन्द गिरीको ‘जनआन्दोलन’ (२०६३), अल्पविरामको टुकीको उज्यालो (२०६५), रेशम गिरीको ‘संविधान’ (२०६६) लगायतका मुक्तक सङ्ग्रहरू प्रकाशित छन् भने केही प्रकाशनको तयारीमा छन् ।
यीमध्ये प्राप्त केही मुक्तकसङ्ग्रहहरूको परिचयात्मक समीक्षा यहाँ प्रस्तुत गरिएको छ –
सरुभक्तको बन्द खामभित्र हजार बुद्धहरू
सरुभक्तको बन्दखामभित्र (२०३५) पोखराबाट प्रकाशित पहिलो मुक्तककृति हो । पहिलो संस्करण युवा नाटक परिवार तथा दोस्रो संस्करण प्रशन तमूद्वारा प्रकाशित यस सङ्ग्रहको २०५० मा दोस्रो संस्करणसमेत प्रकाशित छ । पहिलो संस्करणमा ५४ वटा तथा दोस्रोमा ४६ वटा थपी जम्मा एक सयवटा रचना समेटिएको पुस्तक ११२ पृष्ठमा फैलिएको छ । यस सङ्ग्रहमा मुक्तक भन्न सकिने ५४ वटा रचना छन् भने अन्यलाई छोटो कविता वा सूत्रकविता भन्न सकिन्छ । विषयगत विविधताका सिर्जनाहरू समेटिएको पुस्तकले पोखरेली साहित्यिक माहौलमा मात्र नभई नेपाली साहित्यमै मुक्तकको विकासका लागि एउटा तरङ्ग नै पैदा गरेको मान्न सकिन्छ । दोस्रो संस्करणमा थप गरिएका अधिकांश रचनाहरू सचेत मुक्तकका रूपमा आएका छन् । मुक्तककार स्वयम्ले कृतिको पहिलो संस्करणमा ‘यो एउटा ख्यालख्यालको संयोजन हो’ भन्नुले भावनाका रूपमा लेखिएका छोटा काव्य सिर्जनाहरूलाई मुक्तक सङ्ग्रहमा समेटिएको अड्कल गर्न सकिन्छ तथापि यो वास्तवमै एउटा महत्वपूर्ण कृति हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन ।
पोखराबाट हालसम्म एकभन्दा बढी मुक्तककृति निकाल्ने एकमात्र मुक्तककार पनि सरुभक्त नै हुन् । नेपाली साहित्यिक भण्डारलाई विभिन्न विधाका ३५ भन्दा बढी कृति दिइसकेका साहित्यकार सरुभक्तले २०६१ मा आफ्नो ३१ औं कृति एवम् दोस्रो मुक्तककृति ‘हजार बुद्धहरू’ प्रकाशन गरिसकेका छन् । जम्मा ११५ वटा रचनाहरू समेटिएको कृतिभित्र १७ वटा छोटा लघुकविताहरू छन् भने अन्य मुक्तक संरचनामा रचित छन् । साहित्यकार सरुभक्त सरोकार केन्द्रको व्यवस्थापनमा फेवा प्रकाशन प्रा.लि., पोखराले प्रकाशन गरेको हजार बुद्धहरूमा मानवता, कोलाहल, अशान्ति, आतंकजस्ता विषयवस्तुको उठान गरेका छन् भने उत्पीडित नारीप्रति सहानुभूति र नारीमाथि नै उत्पीडन गर्ने नारीप्रति कटाक्ष प्रस्तुत गरेका छन् । सबभन्दा बढी देशको बिग्रँदो देशको अवस्था र खस्कँदो मानवताप्रति उनका मुक्तकहरू चिन्तित छन् । सायद हरेक सचेत सर्जकले उठाउने साझा सवाल यही हो । बौद्धिकताको स्पष्ट छापका कारण स्पर्शशक्ति कतै–कतै गुमाएको महसुस हुने मुक्तकहरूले हानेको व्यङ्ग्य बुझ्न पनि पाठकलाई घोत्लिनुपर्ने स्थिति आउन सक्छ, सायद योचाहिँ सरुभक्तको वैशिष्ट्य हो । पोखराबाट प्रकाशित मुक्तकसङ्ग्रहहरूको माहौलमा हजार बुद्धहरू एक उल्लेख्य कृति हो । गाउँका सन्दर्भमा लेखिएका केही मुक्तकहरूले गाउँले परिवेश र राष्ट्रिय परिवेशको तुलनात्मक चित्रण गर्नुका साथै आम नेपालीका जनजिन्दगी उजागार गरेका छन् । हजार बुद्धहरूभित्रको एउटा मुक्तक (रुवाई होइन) हेरौं –
कहिले ईश्वरहरू मलाई नमागिएको मुक्ति दिन आउँछन्
कहिले बुद्धहरू मलाई नमागिएको निर्माण दिन आउँछन्
मूल्य विगठन के भएछ मेरो दुनियाँलाई कि
जसलाई म महान् सम्झन्छु उनै चाकडी गर्न धाउँछन् ।
अर्को सगरमाथामा दोषी
आफ्नै कृतिलाई ‘असफलता’ घोषणा गर्ने कम सर्जकहरूमध्ये एक हुन् दिलिप दोषी । दोषीले २०४५ मा मुक्तक सङ्ग्रह भनेर प्रकाशन गरेको आफ्नो प्रथम प्रकाशित कृति ‘अर्को सगरमाथा’ लाई मुक्तक विधाको कृतिका रूपमा असफल भएको घोषणा पटक–पटक गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमार्फत् उनले भनेका छन् – “मैले मुक्तक सङ्ग्रह भनेर प्रकाशन गरेको अर्को सगरमाथा मुक्तक सङ्ग्रह नै होइन रहेछ ।” साहित्यकारहरूमा दुर्लभ मानिने आत्मालोचनाको गुण दिलिपले देखाएका छन् । उनीबाट मुक्तक कृति प्रकाशन गरेका अधिकांश सर्जकले आत्मसमीक्षाको पाठ सिक्नुपर्छ । हुन पनि कृतिभित्र ज्यादै न्यून सङ्ख्याका रचनालाई मात्र मुक्तक भन्न सकिन्छ । जम्मा ७० वटा रचना समेटिएको कृतिभित्र मुस्किलले आधा दर्जन जति मुक्तक मान्न सकिने रचना समेटिनुले तत्कालीन सर्जकहरूमा मुक्तकसम्बन्धी पर्न गएको भ्रम र अस्पष्टता प्रष्ट हुन्छ । अर्को सगरमाथाभित्र दिलिपको भावगत प्रस्तुति भने बेजोड नै मान्न सकिन्छ । दोषीको भावनाको सिमाना त्यतिखेरै फराकिलो र परिपक्व थियो जतिखेर अर्को सगरमाथामा उनले पाइला टेके । समसामयिक धारका उनका रचनाहरूमा हाइकुको भाव र सूत्रकविताको संरचना पाइन्छ । सामाजिक विकृति, विसंगति, असमानता, प्राकृतिक प्रकोप र जीवनका विषम परिस्थतिहरूविरुद्ध उनले यी रचनाहरू केन्द्रित गरेका छन् । आफैले मुक्तक सङ्ग्रह भनेर निकालेको कृतिलाई ‘मुक्तक–सङ्ग्रह भएनछ’ भनेर महानता दर्शाउने सर्जकले वास्तविक मुक्तक सङ्ग्रह मुक्तकका पाठकहरूमाझ पस्किनु अपेक्षित छ ।
कहिले मनसँग मन बोलिरहेको हुन्छ
कहिले जीवनसँग पल खेलिरहेको हुन्छ
खै ! अस्तित्व कहाँ छ र जीवनको ?
पल–पलमा सगरमाथा अग्लिइरहेको हुन्छ ।
सुकुमको अमिला अणुमा गुलियो स्वाद
पोखराबाट प्रकाशित समसामयिक धारको एक उत्कृष्ट मुक्तकसङ्ग्रह हो ‘अमिला अणु’ । सुकुम शर्माको ‘अमिला अणुभित्र’ खास गरी सामाजिक र राजनीतिक विषयवस्तुको प्राचुर्य पाइनुका साथै अधिकांशतः सचेत संरचनागत मुक्तकहरू पाइन्छन् । उनका मुक्तकहरूमा केही मात्रामा रुवाइको छाप परे पनि असली नेपाली मुक्तकका रूपमा धेरै मुक्तकहरू उनले पस्केका छन् यद्यपि केही छोटा कविता र छन्दका चारहरफे कविता लेख्ने रहन पनि उनले गरेका छन् भने केही दुई हरफे टुक्राहरू पनि समावेश गरेका छन् । मुक्तककार स्वयम्ले ‘एउटा बच्चाको निश्चल यात्राबाहेक यसलाई मैले अरु केही मान्न सकेको छैन’ भनेर आफ्नो पहिलो कृतिमा हुन सक्ने कमजोरीको बचाऊ गरे पनि अभिव्यक्तिहरू परिपक्व, परिस्कृत र समाजसापेक्ष छन् । अधिकांश चार हरफका मुक्तकहरूलाई भाँचेर आठ हरफसम्म देखिने बनाइएका यी मुक्तकहरूमा मुक्तककार सुकुमले युगजीवनको अग्रगामी स्वर मुखरित गरेका छन् । सामाजिक पथभ्रष्टहरूको उछित्तो काढ्न सफल मुक्तकहरूले समाजसेवी, राजनीतिकर्मी वा अन्य प्रतिष्ठित उपमाहरूको खोलभित्र आडम्बरी दुष्चरित्र प्रदर्शन गर्नेहरूको असली रूप पनि उदाङ्गो पारेका छन् । मूलतः प्रगतिशील÷प्रगतिवादी धारमा सजिएका मुक्तकहरूको सङ्ग्रहमा समेटिएका मुक्तकहरूलाई जीवनसापेक्ष बनाउने महात्वाकांक्षामा कुण्ठा, निराशा र केही अपरिपक्व प्रेमका अभिव्यक्तिले लेखकको मूल प्रवृत्तिलाई बाधा पु¥याएको महसुस हुन्छ । नेपाली साहित्यमा गहकिला र खोजपूर्ण कृति दिँदै आएका सुकुमबाट अमिला अणुको तीनवटा संस्करणपछि भने मुक्तकको कुनै कृति नआउनु दुःखकै कुरा हो । अमिला अणुलाई प्रयोग समूह, पोखराले २०४८, २०४९ र २०५६ मा प्रकाशन गरेको थियो ।
मुठी उर्लन्छ–मुक्तिका ध्वजा बोकेर
रगत उम्लन्छ–स्वतन्त्रताको बाटो रोजेर
आस्थाको आगो सल्कन्छ परिवर्तनको दिन सम्झेर
कलम दौडन्छ निमुखाको बहार खोजेर ।
ज्यालादारीको रगतका छिर्काले भिजेको भावना
‘जिम्बोले दाल झान्दा आउने मीठो स्वाद नै मुक्तक हो’ भन्ने मुक्तककार ज्यालादारीले २०४९ सालमा ‘रगतका छिर्का’ नामक मुक्तकसङ्ग्रह प्रकाशन गरेका छन् । प्रगतिवादी स्वरको आधिक्य पाइने कृतिभित्र अधिकांश छोटा कविताहरूलाई मुक्तक भनेर प्रकाशन गरेको पाइन्छ । सहिदप्रतिको समान, क्रान्तिप्रेम, सामाजिक दुष्चरित्रहरूको तीब्र विरोध तथा समसामयिक पीडाबोधका अभिव्यक्तिहरू कृतिभित्र समेटिएका छन् । अझ मुक्तककार ज्यालादारीले २०४९ सालमै शान्तिका लागि युद्ध हुनुपर्ने विचार अभिव्यक्त गरेका छन्, उनले व्यक्त गरेको विचारले २०५२ सालमा आएर मूर्तता पाएको देखिन्छ । साहित्यकार भविष्यद्रष्टा पनि हुन्, समाजको मार्गदर्शक पनि हुन् । उनले औंल्याएका बाटो हिँडेरै आज नेपाली जनता गणतन्त्रको युगसम्म आएका छन् –
न छाउँछ मनभरि शान्ति
न हुन्छ तिमीभित्र क्रान्ति
व्यर्थै यो मनमा हुन्छ भ्रान्ति
युद्धपछि आउँथ्यो कि शान्ति ?
यसरी ज्यालादारीले ग्रामीण परिवेश र तत्कालीन सामाजिक जनजिन्दगीका उतारचढाव र भोगाइहरूको चित्रण आफ्ना सिर्जनाहरूमा गरेका छन् । कृतिभित्र समेटिएका जम्मा ८१ वटा रचनाहरूमध्ये मुस्किलले एक तिहाइ रचनालाई मुक्तक भन्न सकिन्छ । उनको वैशिष्ट्यचाहिँ पाँचहरफे कवितामा देखिन्छ । मुक्तकनिकट त्यस्ता कविताहरूमा उनले पहिलो, दोस्रो, तेस्रो र पाँचौ पंक्तिमा अनुप्रास मिलाएका छन् भने चोथो स्वतन्त्र पंक्तिको प्रयोग गरेका छन् । मुक्तकसम्बन्धी विद्यमान अन्यौलताको भुमरीमा नेपाली रगतका छिर्का पनि डुबुल्की मारेको छ । जनवादी भावनाले लचप्प भिजेका रगतका छिर्काभित्रका सिर्जनाहरूले विसंगतिवादी–अस्तित्ववादी सौन्दर्य चिन्तन तथा स्वच्छन्दतावादी–प्रगतिवादी स्वरको भारी गह्रौं ढंगले बोकेको पाइन्छ । विभिन्न साहित्यिक संघ–संस्थाको लगामसमेत हाँकेर हिँडेका भीम रानाभाट उर्फ ज्यालादारीलाई ‘रगत’ शब्द सर्वप्रिय लाग्छ, त्यसैले उनले आफ्नो दोस्रो कविता कृति ‘रङ, रगत र मान्छे’ प्रकाशन गरिसकेका छन् । आगामी दिनमा दुनियाँ ब्युँझाउने शुद्ध मुक्तक कृतिको अपेक्षा नेपाली मुक्तकप्रेमीहरूले गरिरहेको जानकारी सायद ज्यालादारीलाई छ ।
नारायण मरासिनीको मनमा लागेका समयका धब्बाहरू
पोखरामा क्रियाशील साहित्य श्रृङ्खलाले आफ्नो प्रकाशन श्रृङ्खलामा लगातार दुईवटा कृति मुक्तक सङ्ग्रहका रूपमा प्रकाशन ग¥यो, २०४९ मा ज्यालादारीको रगतका छिर्का र २०५१ मा नारायण मरासिनीको समयका धब्बाहरू । २०५० मा तीजको कोसेली नामक तीजगीत सँगालो लिएर कृति प्रकाशनको लहरमा लहरिएका नारायण मरासिनीले आफ्नो दोस्रो कृति समयका धब्बाहरूमा आफ्नो स्पष्ट वैचारिक अभिव्यक्ति दिएका छन् । प्रगतिशील साहित्यमा क्रियाशील व्यक्तिहरूमा देखिँदै आएको वैचारिक अस्पष्टताबाट मरासिनी एक कदम माथि उठेका छन् यद्यपि उनका सिर्जनामा पनि वैचारिक विचलनको धुमिल छायाँ भने पाउन नसकिने होइन ।
समयका धब्बाहरू नारायण मरासिनीको त साहित्यिक जीवनको एक महत्वपूर्ण कृति हो नै, नेपाली मुक्तकका लागि पनि उल्लेख्य प्राप्ति हो । यी मुक्तकहरूले बोकेका भावगत तीक्ष्णताले नेपाली समाजको प्रतिबिम्बिन र मार्गदर्शन एकसाथ गरेको भान हुन्छ । नेपाली मुक्तक साहित्यमा उनको यो कृतिको उचित मूल्याङ्कन हुन सकेको छैन । भावगहनता र संरचनागत सौन्दर्यको उचित तालमेल अधिकांश मुक्तकहरूले अंगीकार गरेका छन्, र पनि जम्माजम्मी एक सय एक सिर्जनामध्ये झण्डै एक दर्जन रचना मुक्तक संरचनाबाट बाहिर रहेर लेखिनु लेखकको कमजोरी हो वा मुक्तकसम्बन्धी तत्कालीन समयमा रहेको अन्यौलताबाट माथि उठ्ने चेष्टा नगर्नुको परिणाम हो भने पाँचवटा हाइकु पनि समावेश गरिनु लेखकको धारणागत विचलन हो । दुई हरफदेखि दस÷बाह्र हरफसम्मका हरेक छोटा कवितालाई मुक्तक भनिने परम्परागत मान्यतालाई तोड्न नसकेर विषयगत रूपमा क्रान्तिकारी भावना सम्प्रेषण गर्ने मुक्तककारले आफ्नो दुर्बलता प्रदर्शन गरेका छन् किनभने मुक्तकका बारेमा मरासिनी एक विज्ञ लेखक हुन् । समयका धब्बाहरूमा मुक्तककारले समयकै स्वर बोलेका छन्, अझ भनौं, समयको तनभरि लागेका विकृति, विसंगति, अन्याय, अत्याचारजस्ता धब्बाहरूको स्पष्ट चित्रमात्र उतारेका छैनन्, तीब्र आलोचना पनि गरेका छन् । आधुनिकताका नाममा युवायुवतीले गर्ने पश्चिमी संस्कृतिको अन्धानुकरण, महँगी, जाँड संस्कृतिको तीब्र विरोध र त्यसले नेपाली जीवनमा पार्ने प्रभावबारे उनको कलम चलेको छ । राष्ट्रियताका चिन्तक मरासनी अमेरिकी दादागिरीको कटु आलोचक हुन् । अमेरिकी साम्राज्यवादलाई चोर बिरालो र दुष्ट चीलको संज्ञा दिँदै देशवासीलाई होसियारी अपनाउन आह्वान गरेर ‘अमेरिका’ शीर्षकमा चारवटा मुक्तक लेखेका छन् । सर्वहारा वर्गको पीडा उनले आफ्नो मुक्तकमा व्यक्त गरेका छन् भने कुर्सीमा खुट्टा हल्लाएर देशको साँचो हातमा लिने ‘गधा’ हरूको उछित्तो काढेका छन् ः
घण्टौं श्रमको मूल्यमा एक मुठी फाँको पाइन्छ
वर्तमानद्वारा विभत्स चित्कारको डाँको छाइन्छ
अब त कालो इतिहासको पुनरावृत्ति होइन साथी
समाज परिवर्तनका लागि दह्रो राँको चाहिन्छ ।
मरासिनीले २०६३ मा समयका धब्बाहरूको दोस्रो संस्करण पनि प्रकाशन गरेका छन् ।
मुक्तक बत्तीसामा हाँसिरहेका बत्तीस दाँत
पोखराका वरिष्ठ पत्रकार भनेर चिनिने कृष्णप्रसाद बाँस्तोला कुनै बेला कुशल साहित्यकार भएको कुरा समकालीन साहित्यका कतिपय पाठक र सर्जकबाट छिपेको पनि हुन सक्छ । तर, इतिहास खोतल्ने हो भने बाँस्तोला पत्रकारभन्दा पहिला साहित्यकार हुन् । उनले कथा, कविता, मुक्तक र हाँस्यव्यङ्ग्यका गरी आधादर्जन कृति नेपाली साहित्यका पाठकलाई दिइसकेका छन् । जब उनी संयमित साहित्यबाट हतारिएको साहित्यतिर लागे, उनले संयमित साहित्य लेख्ने फुर्सदै पाएनन् या हतारिने बानीबाट मुक्ति पाउन सकेनन् । जे होस् उनले २०५२ सालमा ‘मुक्तक बत्तीसा’ नामक मुक्तक–सङ्ग्रह निकालेर आफ्नो नाम मुक्तक साहित्यमा पनि लेखाएका छन् । जम्मा ३२ वटा रचनाहरू सँगालेर प्रकाशन गरिएको पुस्तिकामा बाँस्तोलाले व्यङ्ग्यप्रधान रचनाहरूलाई प्राथमिकता दिएका छन् । ३२ मध्ये २१ वटा मुक्तक र अन्य टुक्रे कविताहरू समेटिएको कृतिभित्र मुक्तककारले राष्ट्रिय बिडम्बनाको विषयवस्तुहरूलाई राम्ररी उठान गरेका छन् । राज्यस्तरका भ्रष्टाचार, दलाली, सहिदकै सपना कुल्चनेहरू महान् बन्ने कुसंस्कार, प्रजातन्त्रप्रति विभिन्न बहानामा हुने प्रहार, मौलाउँदै गइरहेको दण्डहीनता, राजनीतिक दलबीच हुने खिचातानीलगायतको उनले व्यङ्ग्यात्मक ढंगले विरोध गरेका छन् । प्रेमपरक अभिव्यक्तिमा पनि बाँस्तोला राम्ररी जमेका छन् । मान्छेबाट हराउँदै गएको मानवताको खोजी, धरापमा परेको राष्ट्रियताको खोजी र पैसामुखी बन्दै गएको समाजको चित्रण मुक्तककार बाँस्तोलाले गरेका छन् । यति सुन्दर कृतिहरू दिन सक्ने कृष्णप्रसाद बाँस्तोलाले पछिल्लो समयमा साहित्यबाट ‘सन्यास’ लिएझैं गर्नु दुःखद कुरा हो । नेपाली साहित्यका पाठकहरूले कृष्णप्रसाद बाँस्तोलासँगै पत्रकार भएपछि साहित्यलाई तिलाञ्जली दिएका पूर्वसाहित्यकारहरूको पुनरागमनको प्रतीक्षा गरिहेका छन् ।
हेर त इज्जतलाई पैसै पैसामा किन्न सकिन्छ
देशका ठूला नेतालाई भट्टी पसलमा चिन्न सकिन्छ
आजकलको जमाना यस्तै छ साथी
भाषणै भाषण गरे पनि चैन गरेर हिँड्न सकिन्छ ।
महाभारतका गीतहरू अर्थात् जिन्दगीका मुक्तकहरू
जाँगर हुनेलाई कुनै जंघार छैन
चुपचाप निदाउनेको आफ्नै संघार छैन
सुतेर पार पाइन्न जिन्दगीमा
नलडी भोग्न मिल्ने संसार छैन ।
जिन्दगी संघर्ष हो र युद्ध हो । युद्ध नलडी वा संघर्ष नगरी कुनै पनि जिन्दगी सार्थक हुन सक्दैन । युद्धको एउटा भीषण दृष्टान्त हो महाभारत । महाभारत भीषण युद्धको प्रतीक हो भने जिन्दगीको पनि प्रतीक हो । महाभारतको गीत जिन्दगीको गीत हो । यही युद्धमय जिन्दगीका बिम्बहरू हुन् तीर्थ श्रेष्ठको ‘महाभारतका गीतहरू’ मुक्तकसंग्रहभित्र समेटिएका मुक्तकहरू ।
नेपाली मुक्तक साहित्यका औंलामा गन्न मिल्ने मुक्तककारहरूको नाम लिनुप¥यो भने तीर्थ श्रेष्ठको नाम पहिलो लहरमै आउँछ । कविताका क्षेत्रमा पनि उनको नाम उत्तिकै उल्लेख्य छ । यिनै कवि÷मुक्तककारको ‘महाभारतका गीतहरू’ जीवनका अनेकौं उतारचढावका उत्तालहरू बोकेर २०६२ सालमा मुक्तक संग्रहको रूपमा आएको छ । १०१ वटा रचनाहरू समेटिएको पुस्तकभित्र १९ वटा बाहेक खाँटी मुक्तक छन् । रुवाईको धेरथोर प्रभाव रहे पनि वास्तविक नेपाली मुक्तकको रूपमा यी मुक्तकहरू आएका छन् ।
अनुप्रास मिलाउने जड प्रयास नगरिएको स्वाभाविक अनुप्रासयुक्त यी मुक्तकहरू नेपाली मुक्तक लेखनको विकासक्रमका परिमार्जित रचनाहरू हुन् – संरचनाका हिसाबले । यी न रूवाई हुन् (केही रुवाई पनि छन्) न छोटा कविता (१९ वटाबाहेक) नै हुन्छन्, यी त मुक्तक नै हुन् । आम जनजिन्दगीका स्वाभाविक प्रसङ्गहरू आएका छन् मुक्तकहरूमा । प्रेम, विछोड, अनुराग, आकांक्षालगायतका भावहरू छताछुल्ल पोखिएका मुक्तकहरूमा जीवनको विसंगत पक्षको पनि कुशल उद्घाटन गरिएको छ । हरेक विषयवस्तुलाई जीवनसापेक्ष प्रस्तुति दिनु महाभारतका गीतहरूको वैशिष्ट्य हो । स्वच्छन्द शील्पशैलीका रचनाहरूमा राष्ट्रिय पीडा, युद्धका विकराल पक्ष र मानवीय डाहिलो स्वभावको चित्रण पनि राम्ररी गरिएका छन् । छोटा कविताका रूपमा आएका सिर्जनाहरू पनि भावगत हिसाबले उत्तिकै चोटिला र मर्मस्पर्शी छन् तर संरचनाका हिसाबले पनि मुक्तक भइदिए कति जाती हुन्थ्यो भन्ने अपेक्षा तीर्थ श्रेष्ठजस्ता अग्रज मुक्तककारबाट पाठकले राख्नु स्वाभाविकै हो । ‘तीर्थ श्रेष्ठका कविताहरू’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’ र ‘पाइलाका नीबहरूले’ जस्ता कवितासङ्ग्रह प्रकाशन गरेर नेपाली साहित्यिक क्षेत्रमा राम्रै चर्चा बटुलेका तीर्थ श्रेष्ठ जीवनवादी कवि÷मुक्तककार हुन् । जीवनका अधिकांश समय साहित्य र समाजसेवामा खर्चेका तीर्थ श्रेष्ठभित्रको समाज र साहित्यको उत्थानको लागि ‘केही गरौं’ भन्ने हुटहुटी प्रशंसनीय छ । जनजिब्रोका बिम्ब र सुबोध्य भाषाका अभियन्ता तीर्थ श्रेष्ठले नेपाली साहित्यमा मुक्तकप्रतिका अन्यौलहरू चिरेर मुक्तकको विधागत परिचय स्थापनाका लागि पनि केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा नयाँ पुस्ताले कहिलेकाहीं गर्ने गरेको साहित्यिक माहौलमा सुनिन्छ । तीर्थ श्रेष्ठको महाभारतका गीतहरूबाट एक चर्चित मुक्तकः–
तिमीलाई चिठी पठाएको थिएँ जवाफ लेख्यौ कि लेखिनौ ?
तिमीलाई भनेर गीत लेखेको थिएँ भाखा हाल्यौ किन हालिनौ ?
सत्य ! मेरो हजुर ! हिजो राति सपनीमा तिमीलाई देख्दा
सिरानी पल्टाइदिएको थिएँ तिमीले मलाई देख्यौ कि देखिनौ ?
आन्दोलनको अर्को नाम जनआन्दोलन
पोखरेली मुक्तकमा २०६३÷०६४ देखि नै पुनर्जागरणकाल सुरु भएको हो भन्दा अत्युक्ति नहोला । २०३५÷०३६ तिर उत्कर्षमा पुगेको पोखरेली मुक्तक बीचमा केही समय सुस्ताएको पाइन्छ । पछिल्लो समयमा मुक्तकमा युवापुस्ताको आकर्षण मनमोहक छ । यही लहरमा मुक्तककार गोविन्द गिरीले आफ्नो भिन्न पहिचान छोड्न सफल भएका छन् । मुक्तककै उत्थानका लागि पोखरामा क्रियाशील मुक्तक मञ्च, पोखराका संस्थापक अध्यक्षसमेत रहेका मुक्तककार गिरी जनआन्दोलन–२ का एक जुझारु स्रष्टा पनि हुन् । अन्य क्षेत्र आफ्नो सबै काम र कर्तव्यलाई पछि राखेर जनआन्दोलनमा होमिइरहेकै बेला पोखरेली सर्जकहरू पनि सडक, चोक, गल्ली र बस्तीहरूमा बन्दुक र खुकुरीभन्दा विस्फोटक र धारिला सिर्जना लिएर उत्रे सामन्ती राजतन्त्रका विरुद्धमा; गणतन्त्र ल्याउनका लागि । यही क्रममा मुक्तककार गोविन्द गिरीले पनि आफ्ना बमझैं विस्फोटक मुक्तकहरू पड्काए सडकमा । उनले त त्यही क्रममा वाचित र रचित मुक्तकहरू सँगालेर ‘जनआन्दोलन’ नामक मुक्तक–संग्रह (२०६३) नै निकाले जसमा गिरीले गणतन्त्रका पक्षमा अत्यन्त कोमल र मीठो शैलीमा आफ्ना ३३ मुक्तकहरू समेटेका छन् भन्ने दोस्रो खण्डमा ‘म मरेपछि’ उपशीर्षकमा २७ वटा प्रेम र जीवनसम्बन्धी मुक्तक समेटेका छन् । मुक्तकसँगै जनआन्दोलनका सान्दर्भिक तस्वीर र चित्रहरू पनि समेटिएका छन् कृतिमा । मुक्तककार गोविन्द गिरीका मुक्तकहरू मुक्तक संरचनाबाट कत्ति पनि विचलित छैनन् । पोखराबाट प्रकाशित मुक्तक संग्रहहरूमध्ये ‘जनआन्दोलन’ नै पूर्णरूपमा मुक्तकमात्रै समेटिएको पहिलो कृति हो । मुक्तकमा हुनुपर्ने चोटिलोपन गिरीको वैशिष्ट्य हो । अझ उनको समसामयिक विषयवस्तुको छनौटले त उनलाई कुशल मुक्तककारको संज्ञा दिन करै लाग्छ किनभने स्रष्टाले समयलाई सम्बोधन गर्न सक्नुपर्छ । जनआन्दोलनभित्र उनले जनआवाजको प्रतिबिम्व चित्रण गरेका छन् । लोकतान्त्रिक गणतन्त्रको स्थापना र सामन्ती राजतन्त्रको विस्थापन नै उनका मुक्तकहरूको आकांक्षा हुन् जुन नेपाली जनताले जनआन्दोलन–२ मार्फत् छताछुल्ल पारेका थिए भने हालैमात्र आंशिक प्राप्तिमा पनि नेपाल पुगेको छ । सम्पूर्ण रूपमा पहिलो खण्डका मुक्तकहरूमा राजतन्त्रको विरोध, आन्दोलनको आह्वान, सहिदको सम्मान र देशभक्तिका भाव समेटिएको संग्रहको दोस्रो खण्डमा उनले प्रेम, वियोग, जीवनका निराशा, कुण्ठा, अनुरागजस्ता भावहरूको कुशल प्रस्तुति गरेका छन् । जीवन र प्रेमका सुमधुर र आन्दोलित भावनाहरू व्यक्त गर्दै गिरीले मायामा पनि विद्रोह–चेत छरेका छन्–
मनको फूल झार्नेलाई किन सजायँ हुँदैन ?
मनमा काँडा सार्नेलाई किन सजायँ हँुदैन ?
यदि सबैभन्दा ठूलो माया हो भने वकिलज्यू
त्यै माया मार्नेलाई किन सजायँ हुँदैन ?
साहित्यका मर्मज्ञहरूले साहित्य नारा बन्नुहुँदैन भन्ने गरे पनि केही रचनाहरू नारा भन्न मिल्ने खालका छन् । सडकमा तत्कालीन आन्दोलनकारीहरूको मनोभावनालाई समेटेर लेखिएका रचनाहरू जस्ताको त्यस्तै राखिएको हुनाले बढी आक्रोशित र अघिल्ला मुक्तकहरूमा मान्छे मार्न नहुने सन्देश दिइए पनि पछि–पछि राजालाई मार्नुपर्ने कुरा गरिनुले आन्तरिक विरोधाभास पनि देखिएको छ । जनआन्दोलनभित्रका मुक्तकहरू आन्दोलित भए पनि अधिकांश संयमित छन् । अझ उल्लेख्य कुरा त उनले आफ्नो पुस्तकको बिक्रीबाट प्राप्त रकम आफूले अध्ययन गरेको विद्यालय छोरेपाटन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिस्वरूप प्रदान गर्ने गरी विद्यालयलाई हस्तान्तरण गरिसकेका छन् ।
आफन्तलाई धरापमा पार्नै पर्छ र ?
बुद्धका आँसुहरू झार्नै पर्छ र ?
जसले जे गरे पनि देशकै लागि भन्छौ
के देश बनाउन जनतालाई मार्नै पर्छ र ?
टुकीको उज्यालोमा अल्पविराम
‘क्रान्तिकारी हिउँका फूलहरू’ कविता संग्रह (२०५७) मार्फत् कृतिकारका रूपमा देखा परेका विष्णु अल्पविराम २०६५ मा मुक्तक संग्रह ‘टुकीको उज्यालो’ लिएर जीवन र जगत्का उज्यालो पक्षको खोजीमा निस्केका छन् । मूलतः कविका रूपमा स्थापित अल्पविरामले मुक्तकका माध्यमबाट पनि आफ्ना वैचारिक मान्यताहरूको कुशल प्रक्षेपण गरेका छन् यद्यपि उनको ‘क्रान्तिकारी हिउँका फूलहरू’ का पाठकले अपेक्षा गरेअनुसारको सिर्जनशक्ति भने टुकीको उज्यालोबाट पाउन सक्दैनन् । उनको वैचारिक धरातल पनि टुकीको उज्यालोमा आइपुग्दा डगमगाएको भान पर्छ । मुक्तकीय संरचनाका हिसाबले अल्पविराम अधिकांश मुक्तकमा सफल नै देखिन्छन्, उनको समकालीन मुक्तक परिवेशको स्पष्ट छनकसहित । अर्थात्, मुक्तकप्रतिका अस्पष्ट दृष्टिकोणको प्रभाव पनि प्रशस्त मात्रामा अल्पविरामका मुक्तकहरूमा भेटिन्छन् । समकालीन समयको पीडा ओकल्ने अल्पविरामका मुक्तकका मूल विषय ‘जिन्दगी’ नै हो । जिन्दगीका विभिन्न पाटो र पक्षहरूलाई केलाउने प्रयास उनले गरेका छन्, जिन्दगीलाई विभिन्न दृष्टिकोणले हेर्ने प्रयत्न उनले गरेका छन्; जिन्दगीका संगत÷विसंगत उतार–चढावहरूलाई पर्गेल्ने जमर्को उनले गरेका छन् । मान्छेभित्र ह्रास हुँदै गएको मानवताको खोजी, मान्छेले गुमाउँदै गएको विश्वासको अन्वेषण र राजनीतिक नेताहरूले राजनीतिलाई घृणित बनाउँदै गएको परिवेश पनि मुक्तककार अल्पविरामका मुक्तकका विषयवस्तु हुन् । टुकीको उज्यालोभित्र समेटिएका जम्मा १२१ वटा सिर्जनाले अल्पविरामलाई समसामयिक धारका सशक्त मुक्तककारका रूपमा उभ्याएका छन् । सम्प्रेष्य भाव, शाब्दिक सरलता अल्पविरामगत शैली उनका मुक्तकका विशेषता हुन् । उनका मुक्तकले उठाएका विषयवस्तु समाजसापेक्ष हुन्छन्, व्यक्तिगत जीवनका अनुभव र अनुभूति पनि आम चासोका विषयवस्तुका रूपमा प्रस्तुत हुन्छन् र विभिन्न बन्धनबाट मुक्तिको चाहना राखिएका हुन्छन् । यति हुँदाहुँदै पनि समाजका सूक्ष्म समस्याको पहिचानमा कमजोर देखिन्छन्, जीवनका समस्याको समाधानतर्फ मौन रहन्छन् र बन्धनबाट मुक्ति पाउनका लागि प्रेरणा र उत्साह थप्दैनन अल्पविरामका मुक्तकहरू । उनको वैचारिक धरातल डग्मगाएको प्रसङ्ग माथि उल्लेख गरिएको छ । अल्पविराम कतै कट्टर ईश्वरवादीजस्ता लाग्छन्, कतै ‘ईश्वरवाद’ को कट्टर विरोधीजस्ता देखिन्छन् । यसो भनौं, आफूभित्र भएको ईश्वरप्रतिको आस्थालाई उनी जबर्जस्ती हटाउने प्रयास गर्छन् । यसप्रति उनको स्पष्ट दृष्टिकोण आउनु जरुरी छ । यथार्थवादी मुक्तकहरू लेखेर पनि ईश्वर, स्वर्गजस्ता स्वैरकाल्पनिक कुराहरूमा झुकाव देखिनु एक सचेत लेखकका लागि शोभनीय कुरा पक्कै होइन । तुकबन्दी मिलाउनका लागि गरिएको व्याकरणिक बेवास्ता र शब्दचयनमा गरिएका केही असावधानीका कारण पनि मुक्तकहरूको मर्ममा प्रहार गरेको भान पर्छ । देशको इतिहासको एक कालखण्डमा भएको प्रतिगमनविरुद्ध सिर्जना आन्दोलन र जनआन्दोलन–२ मा सिर्जनाका माध्यमबाट गणतन्त्रको नारा उल्र्याउने नेतृत्वकर्ता अल्पविरामको गणतन्त्रप्रतिको आस्था र दुःखी, गरीब जनताको राज्यसत्ता स्थापनाको अपेक्षा प्रशंसनीय छन् । उनका शृङ्गारिक धारामा लेखिएका मुक्तकहरू भने त्यति जम्न सकेका छैनन् । ‘टुकीको उज्यालो’ पनि पोखरेली मुक्तक परिवेशका लागि एउटा महत्वपूर्ण प्राप्ति हो । मुक्तकप्रति अल्पविरामको मुक्तकीय दृष्टिकोण पुस्तकभित्रबाटै हेरौं–
कोही भन्छन् तमाखु खाने चिलिमभित्रको आगो हो मुक्तक
कोही भन्छन् आगोको फूल फुल्ने कविताको हाँगो हो मुक्तक
समय पहाडमाथि कोढ लागेको बेला
एकै सबल प्रहारले कोढ हुत्याउने छाँगो हो मुक्तक ।
ऐतिहासिक घडीको ऐतिहासिक मुक्तक सँगालो संविधान
नेपालको इतिहासमा २००७ सालदेखि नै चर्चाको विषय बनेको हो– संविधानसभा । हुकुमी संविधानकै भरमा नेपालको राज्यव्यवस्था सञ्चालन पद्धतिबाट नेपाली जनता सन्तुष्ट हुन सकेनन् । मुठ्ठीभरका शासकवर्गले लेखेका संविधानमा आम नेपालीको भावनाको कदर हुन नसक्नु स्वाभाविक मान्न सकिन्छ । फलतः नेपाली जनतमा आफ्नै हातले संविधान लेख्ने आकांक्षाको बिरुवा मौलाउँदै गयो । त्यसका लागि २००७ सालको आन्दोलनदेखि २०५२ को जनयुद्ध हुँदै २०६२÷०६३ को जनआन्दोलनसम्म आइपुग्दा संविधानसभासम्बन्धी नेपाली जनतामा एक स्पष्ट रूपरेखाको निर्माण भयो । सबभन्दा बढी त १० वर्षसम्म नेपालमा भएको जनयुद्धले संविधानसभालाई जनबोलीको प्रिय शब्द नै बनायो र त्यसकै जगमा टेकेर जनआन्दोलनमार्फत् संविधान सभाको चुनाव सुनिश्चित गरे नेपाली जनताले । २०६४ चैत्र २८ गते भएको ऐतिहासिक संविधानसभाको चुनावको परिणाम सार्वजनिक भएपछि कोही चिन्ताले ग्रस्त भए, कोही हर्षले मस्त भए । संविधानसभामा ६०१ जना सभासद्हरू चुनिएर राष्ट्रिय ढुकुटी खान थालेको पनि दुई वर्ष बित्न लागिसक्यो तर जनताले चाहेको संविधान आउने समय दिनानुदिन पर–पर सर्दै गएको महसुस नेपाली जनताले गरिरहेका छन् । प्रक्रियागत हिसाबले विभिन्न कार्य भैरहेको चर्चा सुनिए पनि वास्तविक संविधान निर्माणका सम्बन्धमा भने जनताको आशंका हटेको छैन । सभासद्हरू गाउँठाउँ पुगेर सुझाव संकलन पनि गरे । के–कस्ता कुराहरू संविधानमा समेट्दा साँच्चिकै जनताले चाहेजस्तो संविधान बन्ने हो भने कुरा उनीहरूले कति संकलन गरे वा कति कार्यान्वयन होला भन्न सकिँदैन तर यो ऐतिहासिक संगीन र संवेदनशील घडीमा मुक्तककार रेशम गिरीले भने मुक्तकमार्फत् नै संविधान निर्माणका लागि आम नेपाली जनताका भावनाहरू संविधानमा समेट्न सुझाएका छन्; मुक्तक–संग्रह ‘संविधान’ नै तयार पारेका छन् संविधानमा समेट्नुपर्ने कुरालाई बोकेर ।
नेपालका लागि संविधानसभाको निर्वाचन ऐतिहासिक घटना हो । पहिलोपटक नेपाली जनताले आफूले चुनेका प्रतिनिधिबाट आफूमाथि शासन गर्ने संविधान लेखाउँदै छन् । आफूमाथि शासन गर्ने देशको मूल कानुन कस्तो लेखिने हो भन्ने विषयमा सबैको चासो बढिरहेको बोलमा आम जनताको साझा भावनालाई बुझेर मुक्तककार गिरीले संविधानमा समेटेका छन् । त्यसैले यो ऐतिहासिक घडीको ऐतिहासिक मुक्तक सँगालो बन्न पुगेको छ । कृतिभित्र मुक्तककारले भनेअनुसारका बुँदाहरू समेट्ने हो भने वास्तवमै नेपालीले चाहेजस्तो संविधान बन्न सक्छ । पुरानो संविधानले नेपाली जनताको भावनालाई सम्बोधन गर्न नसकी न्याय गर्न नसक्दा जनयुद्ध जन्मेको यथार्थको उद्घाटन गर्दै उनले अबको संविधानले फेरि अर्को जनयुद्ध ननिम्त्याओस् भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुका साथै संविधान लेख्ने जिम्मा पाएकाहरूलाई खबरदारी पनि गरेका छन् । मुक्तककारले ‘आफ्नो कुरा’ मा भनेका पनि छन्– ‘मलाई थाहा छ, यो देशकै भाग्य र भविष्य निर्धारण गर्ने समय हो, समयको अलिकति पनि दुरूपयोग हुन सकेन भने परिणाम भयावह बन्न सक्छ । मेरो चाहना समयको सदुपयोग होस् भन्ने नै हो ।’ उनको यो चाहनाले आम नोपलीको चाहनाको प्रतिनिधित्व गर्ने कुरा निर्विवाद छ । दशेको लागि सबैभन्दा महत्वपूर्ण समय हो यो । यस्तो बेला जनस्तरबाट निगरानी र खबरदारी गर्नु जरुरी छ जो मुक्तककार रेशम गिरीले गरेका छन् । उनले कृतिमार्फत् संविधानमा जनताले राष्ट्रप्रमुख छान्न पाउनुपर्ने, सबै वर्गका मानिसलाई कानुन समान रूपमा लागू हुनुपर्ने, कोही विदेश जानुपर्ने वा विदेश पठाउने नीति होइन । देशको माटोमा पसिना बगाएर खान पाउने वातावरण र जनशक्ति निर्माण गर्ने, दुःखी, गरिब जनताले गर्ने हरेक वर्ग संघर्षमा जीतको भान पाउनुपर्ने, भोक, रोग, शोक, अन्याय, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा, असमानताजस्ता तत्वहरूको अन्त्य हुनुपर्ने लगायतका सुझावहरू दिएका छन् । त्यतिमात्र हैन न्यायपूर्ण र समतामूलक समाज निर्माणमा भूमिका खेल्ने संविधान नबनाए जनताले फेरि राँको लिएर उठ्ने र संविधान लेख्नु भनेर लागेकाहरूलाई त्यही राँकोले खरानी बनाउने र छाला तार्नेसम्मको चेतावनी उनले दिएका छन् । देश संविधानमय बन्नुपर्ने बेला प्रतिनिधिहरू आपसी लुछाचुँडीमै व्यस्त रहेको परिस्थितिले नेपाली जनतामा उब्जाएको आक्रोश उनले सन्तुलित पाराले उठाएका छन । मुक्तककार गिरीले सबभन्दा बढी त सहिदको सपना साकार पानुपर्ने उल्लेख गरेका छन् । जिउ पाल्नका लागि जिउ नै बेच्नुपर्ने कारुणिक यथार्थको संकेत गर्दै मुक्तककारले त्यस्तो घिनलाग्दो स्थितिको अन्त्य नयाँ नेपालको नयाँ संविधानले गर्नुपर्छ भनेका छन् । देशको सिमाना रक्षाका लागि चिन्तित मुक्तककारले समयमा संविधान निर्माण नभए देशले भोग्नुपर्ने दुरावस्था र नेताहरूले झेल्नुपर्ने दुर्गतिलाई चेतनावनीका रूपमा एकसाथ प्रक्षेपण गरेका छन् । ‘संविधान’ वास्तवमै नेपालीहरूको चाहना, भावना र आकांक्षा समेटिएको पुस्तक हो । यो पुस्तक ६०१ जना सभासद्हरूले नै अद्योपान्त पढेर नेपालको संविधान लेख्नुपर्छ । कृतिभित्र केही आदर्शवादी विचारहरू व्यक्त भए पनि यसको मूल भाव भने मनोवैज्ञानिक यथार्थवाद नै हो । जनताको मनभित्र रहेका यथार्थ भावलाई मुक्तककारले उजागर गरेका छन् कृतिमार्फत् । एउटै विषय, एउटै संरचना र एउटै भावमा पनि यति बेजोड शैलीगत चातुर्य पस्किनु मुक्तककार गिरीको अनुकरणीय वैशिष्ट्य हो । ‘यस्तो होस्’, ‘यस्तो हुनुपर्छ’ वा ‘यस्तो गर’ भन्ने प्रस्तुतिलाई भने मुक्तककारले अझ परिमार्जन गर्नु जरुरी छ । कृति पठनीय, संग्रहणीय र स्तरीय त छ नै अझ यसको मूलभूत विशेषता भनेको त समसामयिकता र ऐतिहासिकता हो । मुक्तक मञ्च, पोखराले प्रकाशन गरेको जम्मा ८४ पृष्ठमा फैलिएको र ६७ मुक्तक समेटिएको पुस्तकको भूमिकामा दीपक समीपले भनेका छन्– ‘कम्तीमा पनि यी मुक्तकले बोलेजति र बोलेजसरी हाम्रो देशको नयाँ संविधान निर्माण हुन सकेमा नेपालीका सन्ततिले पटक पटक आन्दोलन गर्नुपर्ने छैन, अकालमा र अनाहकमा ज्यान फाल्नुपर्ने छैन, मृत्युवरण गर्नुपर्ने छैन ।’ नेपालीले नयाँ नेपालबाट राखेको प्राथमिक चाहना पनि सायद यही नै हो । मुक्तककार गिरीका अन्य कृतिहरू पनि थप ऐतिहासिक भएर आउन सकून्, वश् नयाँ संविधान जनताले चाहेजस्तै बनोस् र भन्न पाऊन् मुक्तककार गिरीसँगै सबैले–
मेरो संविधान सबैभन्दा माथि
समेटेर आयो सबै जातजाति
हिमाल, पहाड, तराई सबै एक भए
कसैमाथि पनि भ’न पक्षपाती ।
नेपाली साहित्यमा प्रथम पटक २०१६ सालमा मुक्तक संग्रह ‘चोइटा’ निकाल्ने मुक्तककार टेकबहादुर ‘नवीन’ हुन् यद्यपि मुक्तककार भीमदर्शन रोकाले २०१० तिरै नेपालीमा फुटकर मुक्तकलेखनको परम्परा भित्र्याइसकेका थिए । मुक्तककार ‘नवीन’ को चोइटा पढेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखका थिए– “चार गहकिला पंक्तिले त्यति भन्दछन्, जो चालीसले भन्न सक्तैनन् ।’ महाकविको यो उद्गारले पनि मुक्तकको परिधि र महत्व स्पष्ट पार्छन् । ‘नवीन’ ले देवकोटाका यी भनाइहरू प्रथम कृतिमा समेट्न भ्याएनन्, २०४० मा नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘मेरा केही चोइटाहरू’ (कविता तथा मुक्तक संगालो) नामक कृतिमा छपाएका छन् । यस कृतिमा प्रकाशकीय लेख्दै प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति कविवर माधव घिमिरेले भनेका छन्– “नेपाली साहित्यको मुक्तक कविता उर्दू साहित्यको रुवाईसँग मिल्दोजुल्दो खालको छ । यसमा पहिलो, दोस्रो र चौथो पाउमा उस्तै उस्तै अन्त्यानुप्रास मिलाइन्छ तर तेस्रो पाउलाई चाहिँ अन्त्यानुप्रासरहित नै रहन दिइन्छ । यसरी छुट्टैजस्तो देखिँदा–देखिँदै पनि तेस्रो पाउ हतारसाथ चौंथो पाउको कथ्यसँग एकाकार हुन जानुमै यसको विशेष चमत्कार छ– सोझै बग्दै आएको नदी दोभानमा पुग्ने बेला एकाएक सानो थुम्कोलाई फन्का मारेर समानान्तरमा बगेजस्तो चमत्कार ... मुक्तकमा जो भन्न पर्ने कुरा अन्तिम चरणले नै भन्छ । त्यही भन्ने उपक्रम पूर्वाद्र्धका दुई पाउले गर्छन् तर तेस्रो पाउले अर्कै केही भन्न खोजेझैं गर्छ र आखिर त्यही भन्नमा झन् चमत्कार थप्छ । मुक्तकको यो भिन्नै संरचना भाव प्रकाशनमा पनि भिन्न पारा प्रकट गर्छ– “पुतलीले फूललाई छुँ–छुँझैं गरेर नुछुँझैं गरी उडेर फेरि फूललाई नै छोएजस्तो ।”
नेपाली साहित्यका यी दुई शिखर पुरुषका यी अभिव्यक्तिहरूले मुक्तकको संरचनागत परिधि र विशेषताहरू स्पष्ट देखिन्छन् तर सबै छोटा काव्य रचनालाई मुक्तक भन्ने डेढ अक्कल अब सच्चिनुपर्छ । दुईदेखि दस हरफसम्मका कवितालाई मुक्तक भन्ने डा. वासुदेव त्रिपाठीको र दुईदेखि सात हरफसम्मको कवितालाई मुक्तक भन्ने मोहनराज शर्माको अभिव्यक्तिलाई त समीक्षक साहित्यकार देवी पन्थीले ‘हास्यास्पद’ को संज्ञा दिएका छन् । मुक्तकका विषयमा अझ खोज–अनुसन्धान हुनु जरुरी छ र मुक्तकको स्वतन्त्र अस्तित्वका लागि भ्रमहरू हटाउनु अत्यावश्यक छ ।
पोखरा
याे लेख वि. सं. २०६९ मा लेखिएकाे हाे । त्यसपछिका मुक्तक कृतिहरूकाे चर्चा यस लेखमा गरिएकाे छैन ।
सुन्दर तथा उदाहरणीय लेख !!
ReplyDelete