अभियन्ता
—रुपिन्द्र प्रभावीबोकेर विचारको चिराग
अन्धकारका तमाम अवशेषहरुको साम्राज्यमा
डडेलो लाउने पागलपन बाँच्दै हिँडेको ऊ
किन विवश छ आफैंलाई बिर्सेर जिउन
मरुभूमि जिन्दगी ?
पिपिरी बजाउँदै पनि हिँड्यो
सुसेली सुनाउँदै पनि कुद्यो
वनेली काँडालाई पनि चुनौती दिँदै
तिखारियो खुरिखण्डे रातो डाँडामा बेलगाम
टेक्यो भोकको धार र रेट्यो आफ्नै पेटमा सयौं पटक सारङ्गी
आँखाभरि बोकेर बुद्धको आँखाजस्तो सपना
देखेर यतै कतै
आफ्नै शिर जस्तो सगरमाथा—समृद्धि ।
जसले चढे उसैको छाती टेकेर
सत्ताको सगरमाथा
जसले छर्किए उसैको पसिनाले मगमगाएको अत्तर
जसले फेरे उसैको रगतमा पौडिएको सास
ती सब कहाँ—कहाँ पुगे
कुल्चेर घामझैं चम्किलो अक्षर ?
ती सब किन गर्दै छन् हवेली मार्गमा
चट्याङ झैं ओहोरदोहोर ?
उसको भोगाइको तस्बिर
र उसले कल्पना गरेको बलिदानी सपनाको साझेदारी कहाँनेर भएको छ ?
बेमेल समयले कहिले सोच्छ ?
कहिले बुझ्छ ?
म यतिखेर सोचिरहेको छु–
यो समय के सोच्दै होलान्—
रगतका फाल्साबाट उछिट्टिएका
र यो देशको माटो मुठ्याउँदै
हात हल्लाएका मेरा प्रिय सहयात्रीहरु ?
प्रतिबिम्ब
– रुपिन्द्र प्रभावीसहरमा हिँड्नु साह्रै जोखिम छ मित्र
जोगिनु साह्रै मुस्किल छ,
सहरी सभ्यताबाट ।
मैले देखेको छु,
सडकमै पड्किएलान् जस्ता
आगोझैं राता बैंस
लज्जावती नै लजाउने गरी
बेसरम देखिन तँछाड–मछाड
बेलगाम अङ्ग
मन बाँध्न निकै गाह्रो छ मित्र
यो सहरमा
लगाम लगाउन गाह्रो छ
मनको वायुपङ्खी घोडालाई ।
यही सहरको फुटपाथमा देखिरहेछु म,
स्वाभिमानी भोकले बहुलाएको सपना
सौखले मागिहिँड्ने मदमत्त जवानी
दानको मात्रा कम भएको झोंकमा उछिट्टिएको भद्दा गाली ।
दैनिक दृश्य बनिरहेका छन्,
सहरको छातीमा अनौठाजस्ता नियमित दृश्यहरु ।
शोषणले चुसिएको ख्याउटे याचना
फाइलमै बन्दी दुर्लभ न्याय
क्षितिजमा घामको आगमन नियाल्ने कार्यालयीय ‘फर्मुला’
दैनिकीका अवयव हुन् यी सब
मित्र,
यी सबैसँग परिचित हुन कठिन छ
ज्यादै कठिनसाध्य हुन्छ साँचो परिचय गर्न यिनीहरुसँग ।
भर्खरै सुटकेसबाट झिकेर
आफै लजाउँदै लगाएको कुर्तासलवार
परदेशबाट आफ्नै प्रतिबिम्बझै खसमले पठाइदिएको अत्तरमाथि–
अग्लो घरको माथिल्लो छतबाट
राजनीतिझैं दुर्गन्धित पानीको आत्महत्या,
विफरका अवशेषग्रस्त सडकमा छिट्याइएको आयातीत संस्कृति
धाप नै मारुँलाझैं गर्ने बैंसालु हर्न
मागहरुको फेहरिस्त बोकेको सडक व्यवस्थापन
सडकमै हेरिरहेछु यी सारा चटकी तारन्तार
गाह्रो छ मित्र,
दाँत किट्न मात्रै पनि ज्यादै कठिन छ ।
म देखिरहेछु,
यही सहरको सडकको कुनै किनारामा बेवारिस बालुवाका बोरामा
आकासे महलको गन्तव्य ताकिहिँडेका ईंट्टाका भारीमा
विमानस्थलमा लामबद्ध भोकमा
म देखिरहेछु मेरो जस्तै
दुरुस्तै मेरै जस्तो
मेरो देशको अनुहार ।
बाटो र वेदना
– रुपिन्द्र प्रभावीबेला कुबेला दुखिरहने टाउको देखेर
पटकपटक दुखिरहन्छ यो टाउको
आज फेरि दुखेको छ– बिरानो ठाउँमा ।
यस पल तिम्रो कोमल हात
ढाडसको उच्च संवेदना सुसेल्दै
निधारतिर सल्बलाएको झझल्कोले
झन् दुखाएको छ टाउको
जब कि
ती हातहरु अचूक औषधी हुन् मेरा लागि ।
हृदयको विशाल झुपडीमा
हामी सँगै छौं
र पनि यहीं कतै म भूमिगत छु
कतै तिमी भूमिगत छ्यौ
त्यसैले सँगै हुन सकेका छैनौं हामी
साथै रहन सकेका छैनौं
यस क्षण
म सबैभन्दा बढी सम्झिइरहेको छु–
तिम्रो प्रसववेदना
हो, त्यही वेदनाजत्तिकै त नहोला
तैपनि मुटु दुखिरहन्छ त्यहीं भित्र कतै ।
भनें नि–
म सबैभन्दा बढी तिम्रै प्रसववेदना सम्झन्छु
वेदनाले तिमी कराउँथ्यौ जोडजोडले
सायद
तिमी मलाई गाली गर्दै थियौ
जसरी प्रसववेदनामा छट्पटिँदा प्रायः श्रीमतीहरु गर्छन्
तथापि अहँ उच्चारणसम्म गरिनौ धन्य !
तर म पढिरहेको थिएँ तिम्रो भावभङ्गिमा
र बाबु हुनुको गौरवभन्दा बढी
तिमीलाई पीडा दिनुको हीनताबोधले ग्रस्त थिएँ
र पनि विवश थिएँ म
चुपचाप समयको प्रतीक्षामा ।
अहो ! कस्तो चर्को चिच्याएको मेरो छोरो !
माफ गर, हाम्रो छोरो,
उसको आवाज
मानौं, तमाम वेदनाहरुका विरुद्ध हो
स्वयम् आमाकै प्रसववेदनाका विरुद्ध पनि
तमाम अन्धकारहरुका विरुद्ध हो,
मानौं,
उसले चिच्याएर घोषणा गरिरहेछ–
धर्तीका सारा अन्यायविरुद्धको महासङ्ग्राम ।
सङ्ग्रामको उद्घोष गर्दै आएको छोरो हेरेर
सङ्ग्रामविजेताको भावमा तिमीले मलाई हेर्दै
कान्तिमय सुसेलीले भनेकी थियौ नि– बधाई !
अहा ! म त अवाक पो भएछु त्यस बखत ।
म सम्झिइरहेको छु एक तमास–
कल्पनाको लहरे पीङ्मा टाउको समाउँदै मच्चिइरहेछु–
बाटोले हाम्रो छोरो पछ्याउला
कि हाम्रो छोरोले बाटो पछ्याउला ।
गत शनिबार अर्थात् २०७३ असाेज ८ गते नागरिक दैनिककाे अक्षरमा प्रकाशित तीन कविता ।
No comments:
Post a Comment