साहित्यकार रमेश श्रेष्ठसँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६१ हेमन्त ऋतु, वर्ष–२, अङ्क–३, पूर्णाङ्क–९ ) - रुपिन्द्र प्रभावी

Saturday, April 4, 2020

साहित्यकार रमेश श्रेष्ठसँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६१ हेमन्त ऋतु, वर्ष–२, अङ्क–३, पूर्णाङ्क–९ )

सेरोफेरो भ्रष्टाचारको : विचार साहित्यकारको


नाम : रमेश श्रेष्ठ

माता : चन्द्रकुमारी श्रेष्ठ, 
पिता : गोपालध्वज श्रेष्ठ
जन्म : २०२४ पुष १७, पोखरा  
शिक्षा : स्नातकसम्मको अध्ययन
पेशा : कलाकर्म (अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पोखरा)
लेखन विधा :  कविता
कृतिहरु : नपोतिएका रङ्गहरु(२०५२), चराहरुको पहाड(२०५५),आमा नदीहरु (२०५७), बुद्धविम्व, अक्षर विम्व(२०५८) In the Name of Buddha  (२०५८), घाँस उखेलीरहेकी केटी (२०६०)
संलग्नता : पोखरेली युवा साँस्कृतिक परिवार, सारांश नेपाल, पश्चिमाञ्चल साहित्य प्रतिष्ठान, सृजनशील कलाकार समूह, कविता क्लब आदि । 
सम्मान/ पुरस्कार : राष्ट्रिय युवा कविता महोत्सव, शताब्दी युवा सम्मान, नेत्र स्मृति पुरस्कार, युवा वर्ष मोती पुरस्कार लगायत १ दर्जन भन्दा बढी ।

  •  भ्रष्टाचार के हो र किन हुन्छ ?
  • भ्रष्ट व्यक्तिको आचरण हो । आफूभित्रको भ्रष्ट आचरणलाई बाहिर ल्याउन भ्रष्टाचार गर्छन् ।

  • साहित्यमा भ्रष्टाचार हुन्छ कि हुदैन ?
  • अवश्य, साहित्यमा पनि आफ्नै किसिमको भ्रष्टाचार हुन्छ । जस्तै साहित्यिक संस्थाहरु खोलेर पुरस्कार÷सम्मान तथा कोष कै दुरुपयोग गर्नु ।

  • साहित्यले भ्रष्टाचार नियन्त्रणमा कस्तो भूमिका खेल्छ ?
  • निडर भएर समाजमा भ्रष्ट व्यक्तिको दुष्कर्म नाङ्गिने गरी साहित्य मार्फत भण्डाफोर गर्न सक्यो भने अवश्यपनि सकारात्मक भूमिका खेल्न सक्छ ।

  • भ्रष्टाचार विरोधी विभिन्न अभियानहरु प्रति यहाँको धारणा ?
  • भ्रष्टाचारका विरुद्ध गरिने हरेक क्रियाकलाप राम्रो हो तर त्यसको शुद्धतामा ध्यान दिनुपर्ने हुन्छ ।

  • भ्रष्टाचारको विरुद्ध सबैभन्दा प्रभावकारी भूमिका साहित्यको कुन बिधाले निर्वाह गर्न सक्छ जस्तो लाग्छ ?
  • सबैले आफ्नो ठाउँबाट उत्तिकै भूमिका खेलेकै हुन्छन् । यद्यपी मलाई लाग्छ, कविता बढी सम्प्रेषणीय हुनेहुँदा तुलनात्मक रुपमा प्रभावकारी हुन्छ ।

  • एक साहित्यकारको हैसियतले वर्तमान देशलाई कसरी नियाली रहनु भा’छ ?
  •  यो स्थिति आउनुको मूलकारण वर्गीय असमानता हो । वर्गीय असमानताको एउटा कारण भ्रष्टाचार हो । यसले अशान्तिलाई थप टेवा दिएको छ । यो हामी सबैको कमजोरीले ल्याएको दुःखद स्थिति हो ।

  • साहित्यलाई तपाई कसरी परिभाषित गर्नु हुन्छ ?
  •  साहित्यलाई ठेट परिभाषाले खुम्च्याउनु पनि हुदैन । सामान्यतया बाँच्नको निम्ति प्रयोग हुने सुन्दर अभिव्यक्ति साहित्य हो ।

  • साहित्यका अलावा कला सिर्जनामा पनि समय खर्चनु हुन्छ । कला वा साहित्य कुनले बढी भ्रष्टाचार विरुद्ध प्रभाव जमाउँछ भन्ने लाग्छ ?
  • दुवै सिर्जनशीलता हो । साहित्य बढी सुलभ र सरल हुने हुँदा साहित्य बढी प्रभावी हुन्छ ।

  • भ्रष्टाचार विरुद्ध सबैभन्दा प्रभावकारी माध्यम के हुन सक्छ ? 
  • निस्वार्थ ढंगले सबै मिलेर गरिने जुनसुकै कार्यक्रम उत्तिकै महत्वपुर्ण हुन्छ । भ्रष्टाचारीलाई जनचेतना जगाई नाङ्गेझार पार्नु पर्छ ।

  • “भ्रष्टाचार विरोधी धााराप्रति” यहाँको धारणा ?
  • सामाजिक प्रदुषण पखाल्नको निम्ति यो पनि एउटा प्रयास हो । यो खोज÷अनुसन्धानमूलक साहित्यिक पाटोका लागि “कायापलट” लाई धन्यवाद दिनु पर्छ ।

  • तपाईको साहित्यिक मनले भ्रष्टाचाररहित र भ्रष्टाचारसहितको सामाजिक सेरोफेरो कसरी कल्पना गरेको छ ?
  • भ्रष्टाचार आधारभूत आवश्यकता पुरा गर्नका लागि नभै विलासिताका लागि बढी हुने गर्दछन् । आम नागरिक जस्तै मलाई पनि भ्रष्टाचार मन पर्दैन । भ्रष्टाचार नभैदिए स्वभाविकैै राम्रो र सुखानुभूति हुन्थ्यो भन्ने लाग्छ ।

  • भ्रष्टाचार नियन्त्रणका लागि एउटा साहित्यकारको दायित्व के हो ?
  • आफू सदाचारी भै प्रत्येक भ्रष्टाचारीको भण्डाफोर गर्नु वा प्रयासमा सरिक हुनु ।

  • सार्थक साहित्यको विशेषताहरु के–के हुन ?
  • पहिलो, साहित्यले मान्छेलाई छुनुपर्छ । दोश्रो, परिवर्तनका लागि नयाँ सन्देश ल्याईरहने ।

  • कायापलट मार्फत भ्रष्टाचारी महानुभावहरुलाई के भन्नु हुन्छ ?
  • सबै खाले भ्रष्टाचार समाजका कोढ हुन् । भ्रष्टाचार नगरेकालाई त्यता आकर्षित नहुन र गरेकालाई गल्ती महशुस गरेर भोलीका दिनमा आफू, समाज र देशका लागि कुनैपनि माध्यमबाट थोरै भएपनि राम्रो बनाउनका निम्ति भूमिका खेलौं ।

  • भ्रष्टाचारीलाई कस्तो कारवाही गर्नुपर्छ ?
  •  उसले गरेको सामाजिक अपराध अनुसारको दण्ड कानुनी व्यवस्था अनुरुप राज्य र जनताले दिलाउनु पर्छ ।

  • अन्तमा केही भन्नु हुन्छ कि ?
  • नराम्रो पक्षको निर्मलताको लागि केही गरे आत्मसन्तुष्टिको जीवन बाँच्न सकिन्छ । तपाईको सत्प्रयासले भ्रष्टाचारीले टाउको उठाउन नपाओस् । बश् !


प्रस्तुती : रुपिन्द्र प्रभावी ‘कटु’

कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६१  हेमन्त ऋतु, वर्ष–२, अङ्क–३,  पूर्णाङ्क–९ मा प्रकाशित साहित्यकार रमेश श्रेष्ठसँग गरिएको अन्तरवार्ता जस्ताकोे त्यस्तै  ।

No comments:

Post a Comment