सेरोफेरो भ्रष्टाचारको : विचार साहित्यकारको
नाम : तीर्थ श्रेष्ठ (तीर्थप्रसाद श्रेष्ठ), साहित्यकार/संस्कृतिकर्मी
माता/पिता : स्व. योगमाया र धर्मप्रसाद श्रेष्ठ
जन्म : २०१६ कार्तिक १६, पोखरा
शिक्षा: आई.ए.,
सिर्जना विधा : कविता
सिर्जना विधा : कविता
कृतिहरु: तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट (कविता संग्रह) र पाइलाका नीबहरुले (कविता+तस्वीर संग्रह) (मञ्जुल र कुमार आलेसँग संयुक्त)
संलग्नता : पोयूसाँप, सिर्जनशील कलाकार समूह, भैरव साँस्कृतिक संरक्षण समिति, झिगुः भायः झिगुः सँस्कृति पुचः लगायत करीब २ दर्जन साहित्यिक, साँस्कृतिक र सामाजिक संघ–संस्थामा आबद्ध ।
सम्मानरपुरस्कार : राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा पुरस्कार, लगायत अन्य सम्मान तथा पुरस्कार प्राप्त ।
- भ्रष्टाचार के हो र किन हुन्छ ?
मान्छेले अनावश्यक आवश्यकता पुर्तिको महत्वाकांक्षा राख्दा भ्रष्टाचार गर्छ । यसर्थमा भ्रष्टाचार भनेको नियम विपरितको काम हो ।
- साहित्यिक भ्रष्टाचारको प्रकृति कस्तो हुन्छ ?
साहित्यकार पनि मानव सभ्यता कै एक अंश हो । मानव सभ्यता रहेसम्म भ्रष्टाचार रहने हुँदा साहित्यिक क्षेत्र पनि यसबाट अछुतो छैन । जस्तै– लेखन चोरी, पारिश्रमिक तथा पुरस्कार वितरणमा अनियमितता आदि ।
- सँस्कृतिमा पनि भ्रष्टाचार हुन्छ ?
प्रशस्त हुन्छ ।
- जस्तै ?
सँस्कृति भनेको नाचगान मात्र हैन । जीवनका सम्पूर्ण पक्ष सँस्कृति हुन् । संगीतको व्यापारमा अधिक भ्रष्टाचार देखिएको छ । यस्तै अन्य धेरै छन् ।
- भ्रष्टाचार पनि नेपाली सँस्कृति हो रे नि ?
यस प्रति म सहमत छैन । आवश्यकता सबै सँग हुन्छ । आयलाई मितव्ययिता पूर्वक खर्च गरेर जीवन चलाउनु सँस्कृति हो । तर सँस्कृतिका नाममा विकृति पनि छन् ।
- साहित्य, सँस्कृति र भ्रष्टाचार बीच कस्तो सम्बन्ध छ ?
यी सबै कुरा समाज कै उपज हुन् । यिनीहरु बीच सकारात्मक र नकरात्मक दुवै सम्बन्ध हुन्छ । भ्रष्टाचार विरुद्ध साहित्य र सँस्कृति उत्रेको पनि पाइन्छ र साहित्य र सँस्कृतिका साधकहरु नै भ्रष्ट बनेको पनि देखिन्छ ।
- हाम्रो सँस्कृतिमा बदल्नै पर्ने र अनुशरण गर्नै पर्ने कुरा के के छन् ?
प्रशस्त छन् । सँस्कृतिलाई सतहबाट अन्धपरम्परा भन्नु भन्दा त्यसको गहिराईमा रहने रहस्य बुझ्ने प्रयत्न गर्नुपर्छ । जस्तैः दिवंगतहरुप्रति संझना गरेर पीण्ड चढाइने परम्परा वातावरणीय
संरक्षणसँग सम्बन्धित छ । यद्यपी धेरै नकारात्मक पक्ष पनि छन् । त्यस्तालाई विज्ञान सम्मत ढंगले बदल्नु पर्छ ।
- साहित्यले भ्रष्टाचार नियन्त्रणमा कस्तो भूमिका खेल्न सक्छ ?
बलियो । भ्रष्टाचारको विरुवा मौलाउने मलिलो माटोमा विषादी बनेर काम गर्न सक्छ साहित्यले । विषादी चाहीं पातमा हैन, जरामा प्रयोग गर्नु पर्छ ।
- नेपाली साहित्य संसारमा पोखरा कहाँ छ ?
पोखरामा मानव बसोबासको इतिहास नै त्यति पुरानो छैन । साहित्यको इतिहास पनि त्यति लामो छैन । तर, हामी दावा गर्छौं– नेपालमै सबैभन्दा धेरै साहित्यिक कार्यक्रम हुने ठाउँ पोखरा हो । त्यसैले पोखरा साहित्य र सँस्कृतिको राजधानी हो ।
- प्रस्तावित साहित्यिक राजधानी भएर पनि एउटा गतिलो साहित्यिक पत्रिका निस्कन नसक्नुलाई कसरी हेर्नु भा’छ नि ?
यहाँबाट पत्रिका निस्कँदै ननिस्केका होइनन् । प्राङ्गण, साझा श्रोत, आँखीझ्याल लगायत निस्के । देशको द्वन्दात्मक परिस्थितिले विज्ञापन बजार खस्क्यो र प्रकाशनमा अवरोध आयो । साहित्यिक पत्रकारिता कठिन विषय हो । तै पनि देशको परिस्थिति सुध्रेर शान्ति स्थापना भयो भने हामी पुनः निकाल्ने सोंचमा छौं ।
- भ्रष्टाचारको मूल जड के हो ?
अनावश्यक महत्वाकांक्षा ।
- हाम्रा केही सँस्कृतिले पनि भ्रष्टाचार वृद्धिमा अप्रत्यक्ष सघाउ पु¥याएको छ जस्तो लाग्दैन ?
सँस्कृति आफैंमा भ्रष्ट छैन । मान्छेले यसलाई दुरुपयोग गरे । मानौं न, मन्दिरमा चढाईएको पैसा ढुङ्गाको मूर्तिलाई चढाइएको हैन । यो त मन्दिरको संरक्षणका लागि हो । सँस्कृतिका नाममा अनावश्यक धाक रवाफ देखाउने परम्पराले विकृति भित्र्याएको पनि छ ।
- अशान्तिको मूलकारण के हो ? शान्ति ल्याउन पहिलो आवश्यकता के हो ?
समाज रहेसम्म शान्ति अशान्ति रहन्छ नै । अशान्ति वैचारिक द्वन्द्व, आर्थिक प्रतिद्वन्दता आदि कारणले हुन सक्छ । अहिलेको अशान्ति चाहिं मुलुकमा प्रजातन्त्र स्थापना भए यता जल्दा बल्दा समस्यालाई सम्बोधन गर्न नसकेका कारण हो । आजसम्म जुम्लामा मोटरबाटो नपुग्नु कत्तिको बिडम्बना हो ? शान्तिका लागि राजनीतिक दल, बिद्रोही र सरकारी पक्षले विश्वसनीय ढंगले वार्ता गर्नुपर्छ ।
- नेपालमा हिजो र आजको भ्रष्टाचारमा के अन्तर पाउनुभा’छ ?
हिजो ढाकिन्थ्यो आज उदाङ्गिन्छ । वैयक्तिक झैं संस्थागत भ्रष्टाचार अझै उदाङ्गिने परम्परा शुरु भएको छैन ।
- इमान्दारीका साथ भन्नु पर्दा तपाईले जान÷अञ्जानमा भ्रष्टाचार गर्नुभा’छ ?
हामी सबै आ–आफ्नो ढंगले भ्रष्टाचारमा मुछिएका छौं । उल्लेखनीय त छैन, तर भयो होला ।
- दशैं–तिहार नजिकिंदै छ, चाड पर्वमा अनावश्यक रवाफ देखाउने हाम्रो सँस्कृतिका अनुयायीहरुलाई के भन्नु हुन्छ ?
सम्पूर्ण नेपालीले एकै साथ मनाउने राष्ट्रिय पर्व दशैं हो । दशैं तिहार जस्ता पर्व प्रदर्शन मुखी नभै पुस्ता अन्तर मेट्ने र अग्रजहरुबाट आशिर्वाद थाप्ने तथा अनुजले अग्रजलाई सम्मान गर्ने रुपमा उत्सव धर्मिता भित्र रहेर मनाउनु पर्छ र दशैमा राष्ट्रिय पोशाक अनिवार्य लगाउनु पर्छ ।
- नेपाली साहित्यमा तरलवादी आन्दोलनका प्रवर्तक मध्ये एक हुनुहुन्छ । के हो तरलवाद ?
साहित्यमा हुनु पर्ने पारदर्शीता, सम्प्रेषणगुण, सरलता लगायतका साहित्यिक गुणहरुबारे बिचारको समष्टी आग्रह तरलवाद हो ।
- यसको आवश्यकता किन पर्याे ?
मूलरुपले आयामेली आन्दोलन पछि बुटपालिस लगायतका आन्दोलनहरु चलेपनि आकार लिन सकेनन् । त्यतिबेला वैचारिक बहसको अवस्था थियो । साहित्यलाई तलाउ मान्ने हो भने हामी वैचारिक तरङ्ग फैलाउन चाहन्थ्यौं ।
- असल शासनका लागि आधारभूत आवश्यकता के हो ?
असल चरित्र ।
- समालोचकीय भ्रष्टाचार के हो ?
मलाई यस्तो आरोप लगाउन मन लाग्दैन । किनकी, मेरो पुस्तक तपाईकहाँ पुगेको छैन । अर्थात् किनेर पुस्तक पढ्ने समालोचकीय पहँुच साहित्यिक सिर्जनाहरुसम्म पुगेको छैन । पैसा लिएर समालोचना लेख्नु भ्रष्टाचार होईन । कतिदिन भोको पेट लिएर लेख्ने ? तर पैसा लियो भन्दैमा स्तुतीगान मात्र चाहीं गर्नु हुँदैन ।
- साहित्यिक सम्मान÷पुरस्कार स्थापना र वितरणमा हुने अनियमितता बारे तपाईको अनुभूति के छ ?
यसमा सबैभन्दा ठूलो भ्रष्टाचारी राज्य हो । पुरस्कार÷सम्मान योग्यसम्म पुग्दैन । अझ पुरस्कारमा पनि आयकर काट्छ । संस्थाहरुका हकमा चाहीं २ वटा कुरा छन्– एउटा पुरस्कार विनिमयको कुप्रथा र अर्को, सबैको मूल्याङ्गन गर्न नसक्ने परिस्थिति । नाम चलेका भन्दा राम्रा सिर्जना लेख्ने स्रष्टा पनि हुन सक्छन् नि ।
- “भ्रष्टाचार विरोधी धारा” प्रति तपाईको धारणा ?
साहित्यको ‘क्यानभास’ ठूलो छ । यसमा नअटाउने विषय छैन । ‘वीर्यदेखि मरेपछिको अलौकिक जीवन पनि हुन्छ’ भन्नेसम्म साहित्य पुगेको छ । यस मध्ये तपाईहरुको छनौटलाई असल नियतले स्वागत गर्छु ।
- कायापलट मार्फत भ्रष्टाचारीहरुलाई केही भन्नु हुन्छ ?
किन म यो अवस्थामा आइपुगें ? भनेर आत्ममूल्याङ्कन गरी परिमार्जित हुनुपर्छ ।
- अन्तमा केही ?
अभिव्यक्तिसँगै मान्छेले चरित्र पनि सुसँस्कृत बनाउनु पर्छ । यानेकी शब्दले भन्दा जीवनले सदाचारिता बोलोस् । धन्यवाद ।
प्रस्तुति : रुपिन्द्र प्रभावी
कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिकाको स्मारिका २०६२ वर्षा ऋतु, वर्ष–३, अङ्क–५, पूर्णाङ्क–१६ मा प्रकाशित साहित्यकार तीर्थ श्रेष्ठसँग गरिएको अन्तरवार्ता जस्ताको त्यस्तै ।
nice one
ReplyDelete