मेरो पेसा ! मेरो भविष्य ?
– चित्रकुमार गुरुङ
भर्ती देखाउने होइन ?
कि फालियौ ?
भिसा लागेन बाबु ?
डी. भी. भरेनौ ?
व्यवसायतिर हात हालेनौ ?
यी र यस्ता हजारौँ
प्रश्नवाणहरुको निशानामा पर्दै
मेरा विद्यालयकालीन
गुरुहरुलाई आदर्श मान्दै
उहाँहरुबाट प्रभावित हुँदै
मैले रोजेको पेसा–
शिक्षण
अर्थात्
म एउटा शिक्षक ।
मन मस्तिष्क सबै लगाई
हरपल खटिइरहन्छु तयार गर्न
एउटा असल, कुशल एवम् योग्य,
हर कोणबाट सफल हुन सक्ने
एक पूर्ण विद्यार्थी
एक पूर्ण मानव ।
कोही डाक्टर
कोही इन्जिनियर
कोही सी. ए.
कोही व्यापारी
कोही उद्योगी
साँच्ची भनुँ भने
नेता पनि, नीति निर्माता
के–के बने के–के ।
भेट हुँदा अति खुसी लाग्छ
उपहारमा उनीहरुले
एउटा प्रश्न उपहार दिन्छन् –
‘सर अझै त्यहीँ हुनुहुन्छ ?
पढाउँदै ?’
तन, मन र ध्यान लगाई
आफैंले आफैंलाई आफ्नै लागि भन्दा
आफैंले आफैंलाई आफ्नै परिवारिका लागि भन्दा
आफैंले आफैंलाई आफ्नै भविष्यका लागि भन्दा
बढी समय दिएर
बढी महŒव दिएर
विद्यालयको चौतर्फी विकासका लागि
वर्षौंसम्म खटिइरहेँ ।
आज जब म र मेरो परिवारलाई
हात मुख जोड्न नसक्ने
कठिन परिस्थिति आयो
मलाई मेरो विद्यालयले
एउटा उपहार दियो–
बेतलबी बिदा ।
No comments:
Post a Comment