जागिर खाने
कि घुस ?
- रुपिन्द्र प्रभावी
लेखनाथ आफ्नो समयमा चर्चा र पहुँचप्राप्त
व्यक्तित्व । हालै किनेको पाँच रोपनी जमिन पास गर्न जिल्ला मालपोत कार्यालय गए ।
आफूले जाने- बुझेसम्मका प्रक्रिया तथा कागजात पुर्याएर सहायक अधिकृत
गोपिनाथनेर गए तर उनले निवेदनको व्यहोरा नमिलेको बहानामा फिर्ता पठाए । लेखनाथ 'ठिकै छ'
भनेर भए भरको सिप-ज्ञान लगाएर पुनः निवेदन लेखेर गए ।
कहिले के पुगेन, कहिले के पुगेन- बहानामा दुई तीन चोटि बाहिरिए लेखनाथ । यस्ता कर्मचारी नियुक्ति र निलम्बन गर्न सक्ने खूबी भएका उनी जनस्तरबाटै कार्य गराउँथे । मालपोत अधिकृतको यो नियतले असह्य भएर उनले फरर आफ्नो परिचय दिँदै सोधे - “तपाईँले खोज्नु भएको के हो ?" “यसो अलि-अलि भए त काम छिटै बनिहाल्छ नि हजुर ।” गोपिनाथले स्पष्टीकरण दिए । त्यसपछि भने झण्डै धम्कीको शैलीमा लेखनाथले भने- “गोपिनाथजी, तपाईँ घुस खान चाहनुहुन्छ कि जागिर ?” यो प्रश्नले गोपिनाथ झस्के र मौनतामै सरासर काम फत्ते गरी कागजातहरू लेखनाथको हातमा थमाएर यति मात्र बोले- “माफ गुर्नहोला ।”
(२०६२
मा गण्डकी अञ्चलस्तरीय लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त लघुकथा)
dherai ramro lagyo sir katha.
ReplyDelete