पोखरा । पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा-३, नदीपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई अर्पण गरे ।
साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककार, अनुसन्धानकर्ता वा मुक्तकसँग सम्बन्धित संस्थालाई प्रदान गरिँदै आएको छ । सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा र सरुभक्त सम्मानित भइसकेका छन् ।
सम्मानित साहित्यकार तेजनाथ घिमिरेले
स्रष्टाको दृष्टिले देखेका कुरा लेख्न नसकिने युगबाट देखेको लेख्न
पाउने युगमा आउन पनि धेरै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाए । अझै पनि कलमजीवीहरुलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन नसकेको बताउँदै घिमिरेले
यसका लागि सबै स्रष्टा एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले उमेरले ८ दशक पार गरिसक्दा पनि साहित्य साधनामा लागिपरेका घिमिरेलाई सम्मान गरेर मुक्तक मञ्च आफैँ सम्मानित भएको धारणा राखे । घिमिरे उमेरले वृद्ध भए पनि सिर्जनाका हिसाबले युवावस्थामै रहेको उनको तर्क थियो । नेपाली मुक्तकका लागि मुक्तक मञ्चले पुर्याएको योगदानको प्रशंसा गर्दै सरुभक्तले अल्पविरामले राष्ट्रिय मुक्तक पुरस्कारको स्थापना गरेर थप टेवा दिएको बताए ।
साहित्यकार/संस्कृतिकर्मी तीर्थ श्रेष्ठले घिमिरेका सम्पूर्ण रचनाहरु एकीकृत रुपमा प्रकाशन हुनुपर्ने धारणा राखे । पुरस्कारका संस्थापक विष्णु अल्पविरामले असल मुक्तककारको सम्मान गर्ने उद्देश्यले स्थापित पुरस्कार तेजनाथ घिमिरेजस्तो मूर्धन्य स्रष्टालाई प्रदान गर्न पाउँदा आफू हर्षित भएको बताए ।
सल्लाहकार दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा घिमिरलाई पुरस्कृत गरिएको हो ।
मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज पौडेलले स्वागत र सचिव श्रीराम अधिकारीले सञ्चालन गरेका थिए ।
सोही अवसरमा सम्पन्न ५९ औं नियमित मुक्तक वाचनमा भरतराज पौडेल, के.आर. ढकाल, अनिता दाहाल, अल्पविराम, लक्ष्मण थापा, विपिन आचार्य, कृष्ण देवकोटा, विकास गौचनलगायतले मुक्तक वाचन गरेका थिए ।
No comments:
Post a Comment