मुक्तकको सहरबाट ‘समैं दर्बानी’ (समीक्षा) - रुपिन्द्र प्रभावी

Thursday, February 11, 2021

मुक्तकको सहरबाट ‘समैं दर्बानी’ (समीक्षा)

 मुक्तकको सहरबाट ‘समैं दर्बानी’

–रुपिन्द्र प्रभावी

समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरु

भगवान्लाई किन्न खोज्छन् यहाँ मान्छेहरु

पूरा गर्न सपना र स्वार्थका ती सिँढीहरु

आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु ।


मान्छे यति स्वार्थी भए कि आफ्नो स्वार्थ पूरा गर्नका लागि ‘आफ्नै स्वार्थ’लाई समेत दागबत्ती दिन तयार हुन्छन् । यस्तो लाग्छ, आजको समय स्वार्थको अर्को नाम हो । बिनास्वार्थको मान्छेको कल्पना गर्नु पुरातनवादी आदर्श वा स्वैरकल्पनाको चरम बिन्दु मात्र हुन सक्छ तर स्वार्थका पनि ढाँचा हुन्छन् । शैली हुन्छन् । आजका मानिसको स्वार्थ यस्तो भयो कि लेखनाथ पौड्यालको ‘म खाऊँ मै लाऊँ...’वाला श्लोक नै ‘फ्लप’ हुन्छ । समयको यस्तै यस्तै ऐना देखाउने पहलस्वरुप मुक्तकको सहर पोखराबाट मुक्तककै एउटा नयाँ कृति आएको छ– गौरी तमुको समैं दर्बानी । 

पोखरा मुक्तकको सहर हो । यसमा दुई मत सायदै होला । २०३५ सालमा टिकट काटेर साहित्यिक रचना सुन्ने परम्पराको सुरुवात् गर्ने सहर हो पोखरा । सिर्जनाको मूल्य खोज्ने सो अभियानको नाम थियो– टिकटमा मुक्तक । यस अर्थमा पनि पोखराले मुक्तकको सहरका रुपमा सगौरव आफ्नो पहिचान स्थापित गरेको छ । त्यही कार्यव्रmम वा त्यसपछिका टिकटमा मुक्तकमा सुनाइएका सबै रचना संरचनाका दृष्टिले ‘मुक्तक’ नै थिए वा थिएनन्, त्यो विश्लेषणको अर्को पाटो हुन सक्ला तर मुक्तकलाई एउटा गरिमा दिने काम पोखराले गरेको छ, टिकटमा मुक्तकले गरेको छ । 


नेपाली र गुरुङ भाषामा एक साथ प्रकाशन भएको सायद नेपालमै यो पहिलो कृति हुनुपर्छ । १३५ नेपाली मुक्तकका १३५ नै गुरुङ भाषामा अनूदित मुक्तक समैं दर्बानीमा समेटिएका छन् । कृतिको नाम भने गुरुङ भाषामै ‘समैं दर्बानी’ राखिएको छ, जसको अर्थ ‘समयको दर्पण’ भन्ने हुन्छ ।


नेपाली साहित्यमा ‘मुक्तक के हो ?’ भन्ने विषयमा थुप्रै बहसहरु भए । कुनै रचना छोटो हुनेबित्तिकै मुक्तक भन्ने परम्परा अद्यापि छ । पोखराबाटै २०६५ मा मुक्तक मञ्च, पोखराको औपचारिक स्थापना भएपछि मुक्तकलाई पनि एउटा निश्चित संरचनामा राख्नुपर्ने पहिल्यैदेखिको आवाज बलियो भयो । यसअघि नै कैलालीका मुक्तककारहरुले अनौपचारिक रुपमै मुक्तक मञ्च, नेपाल गठन गरी अणिमा नामक मुक्तक प्रधान साहित्यिक पत्रिका नै प्रकाशन गरेकै बखत पनि नवप्रतिभाहरुमा मुक्तक भनेको रुवाई शैलीमा लेखिएकै हुनुपर्छ भन्ने एक किसिमको छाप बसेको थियो । अझै नेपाल मुक्तक प्रतिष्ठानले राजधानीबाटै बोल्न थालेपछि यो आवाज थप सशक्त बन्यो । यो आवाज अझै सशक्त त्यति बेला बन्यो, जब मुक्तकको सहर पोखराबाटै मुक्तकको संरचनासम्बन्धी घोषणा पत्र जारी भयो । नेपाल मुक्तक प्रतिष्ठानको आयोजना र मुक्तक मञ्च, पोखराको सहआयोजनामा भएको ३ दिने (२०७० माघ १६–१८) ‘मुक्तकको रचना विधान’ विषयक बृहत् गोष्ठीबाट ५ बुँदे घोषणा पत्र जारी गरिएको थियो । प्रतिष्ठानकै अध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा सरुभक्त, डा. घनश्याम परिश्रमी, राजेन्द्र थापा, उषा शेरचन, परिवर्तन र कृष्ण देवकोटा सदस्य रहेको उपसमितिले जारी गरेको घोषणा पत्रले मूलतः चुतुष्पदीय शैलीका रचनालाई मानक मुक्तक मान्ने धारणा अघि सारेको छ । यसले मुक्तकमा कलम चलाउन चाहने र चलाइरहेका स्रष्टाहरुमा निहीत अन्यौल केही हदसम्म भए पनि हल भएको मान्न सकिन्छ । गौरी तमु पनि घोषणा पत्रले घोषणा गरेको धारमा कलम चलाउने मुक्तककार हुन् । त्यसो त गौरी घोषणा पत्र आउनुअघि पनि यही धारमा कलम चलाउने मुक्तककार हुन् । पचासको दशकको उत्तराद्र्ध र साठीको दशकको सुरुवात्कालमा नेपाली साहित्यमा निकै चल्तीमा रहेको लघु साहित्यिक पत्रिकामा मुक्तक लेख्नेहरुमध्ये एक हुन् गौरी । आज नेपाली साहित्यका क्षेत्रमा लघु तथा हवाइ साहित्यिक पत्रिकामा लेखेर आफ्ना सिर्जना यात्रा सुरु गरेका स्रष्टाहरुले हस्तक्षेपकारी भूमिका खेलिरहेका देखिन्छन्, जसरी हिजो गोरखापत्र, शारदा वा रुपरेखामा छापेर मूर्धन्य स्रष्टाहरुले आफ्ना सिर्जनाकर्म अघि बढाएका थिए । गौरी पनि लघु वा हवाइ साहित्यिक पत्रिकामै लेखेर खारिएकी स्रष्टा हुन् भन्नुमा सङ्कोच मान्नुपर्ने देखिँदैन ।


पोखरामा सरुभक्तको ‘बन्द खामभित्र’ (२०३५) बाट सुरु भएको मुक्तक कृति प्रकाशनको यात्रामा ‘समैं दर्बानी’ (२०७४) सम्म आइपुग्दा पुरुष लेखकहरुकै बाहुल्य रहेको देखिन्छ । फुटकर रुपमा लेख्ने नारीहरु भने प्रशस्त छन् । उषा शेरचनको ‘अक्षरहरुको शिविरबाट’ निस्केपछि मिर्मिसा पराजुलीको ‘मुकुल’ र गौरी तमुको ‘समैं दर्बानी’ व्रmमशः एउटै वर्ष निस्किए । यसरी हेर्दा ‘समैं दर्बानी’ पोखरेली नारी मुक्तककारहरुले लेखेकामध्ये तेस्रो कृति हो ।


समैं दर्बानीको अर्को विशेषता पनि छ । नेपाली र गुरुङ भाषामा एक साथ प्रकाशन भएको सायद नेपालमै यो पहिलो कृति हुनुपर्छ । १३५ नेपाली मुक्तकका १३५ नै गुरुङ भाषामा अनूदित मुक्तक समैं दर्बानीमा समेटिएका छन् । कृतिको नाम भने गुरुङ भाषामै ‘समैं दर्बानी’ राखिएको छ, जसको अर्थ ‘समयको दर्पण’ भन्ने हुन्छ । 


कति दिन्छस् ठक्कर दे जिन्दगी

दुःख, पीडा नभए त के जिन्दगी

कहिले तँ लडाउँछस् कहिले म तँलाई

लड्दै उठ्न सिकेको छु अरे जिन्दगी !


जिन्दगीको अर्को नाम सङ्घर्ष हो । डार्बिनकै सिद्धान्तलाई सम्झने हो भने पनि यो धर्तीमा बाँच्नका लागि हुने सङ्घर्षमा योग्यतम प्राणी मात्र बाँच्न सक्छ । जिन्दगीसँग जिन्दगीले नै लडाइँ लड्नुपर्छ । जतिसुकै आन्दोलन, सङ्घर्ष वा लडाइँ गरे पनि आफैँसँगको लडाइँमा जीत हासिल नगरेसम्म मानिसले कुनै पनि युद्ध जित्न सक्दैन सायद । गौरीका मुक्तकले जिन्दगीका यस्ता आशावादी दर्शन बग्रेल्ती प्रवाह गरेका छन् । दर्पणका रुपमा जिन्दगीका सुख–दुःख, आशा–निराशा, उतार–चढाव, हाँसो–रोदन, प्रेम–घृणा, योग–वियोग सारा कुरालाई चित्रण गरे पनि गौरीको मूल स्वर भने सङ्घर्ष नै हो, जीवनवादिता नै हो । उनका मुक्तकका मूल विषय पनि जिन्दगी नै हो भन्दा अत्युक्ति हुँदैन, भलै तिनमा व्यक्तिगत जीवन, सामाजिक जीवन र राष्ट्रिय जीवनका ऊहापोहहरु जीवन्त ढङ्गले छचल्किएका किन नहोऊन् । 


जीवनका लागि प्रेम गौरीको एक मात्र र अन्तिम सर्त हो । प्रेमका अनेकौँ आयामहरुलाई उनले केलाएकी छिन् । पति–पत्नीको प्रेम वा पे्रमी–पे्रमिकाको प्रेम । उनी स्वस्थ प्रेमको शक्तिमाथि अगाध आस्था राख्छिन् । प्रेममा हुने समर्पण, घात, घुर्की र प्रशंसा उनका प्रणयपरक मुक्तकले बोल्ने मूल बोली हुन् । उनी नारी पनि हुन् तर नारावादी नारीवाद उनलाई मन पर्दैन । केही ‘प्रबुद्ध’ नारीले झैँ पुरुषलाई गाली गरेर नारीवादी कहलिने रहर उनमा छैन । बरु, नारी स्वयम् सचेत भएर नारीलाई सम्मान गर्नुपर्ने दृिष्टकोण अघि सार्छिन् उनी । पितृसत्तात्मक सामाजिक संरचनाको चाहिँ तीब्र विरोधी हुन् गौरी । र पनि एकअर्कालाई निषेध गरेर होइन, हातेमालो गरेरै अघि बढ्नुपर्ने मत उनको छ । उनी लैङ्गिक मात्रै होइन, आम वर्गीय समानताका पक्षमा छिन् ।


गौरीले धेरैले जस्तै राष्ट्रिय राजनीतिलाई पनि आफ्ना मुक्तकमा महŒवका साथ स्थान दिएकी छिन् । वास्तवमा आम जनताको जस्तै असन्तुष्टि नेपालका राजनीतिक दल र तिनका नेताहरुप्रति गौरीका पनि छन् तर के नेताहरु यति भ्रष्ट हुनुमा हामी जनता कत्ति पनि जिम्मेवार छैनौँ त ? गौरीले जति सरकार बने पनि जनताका लागि ती ‘जुन जोगी आए पनि कानै चिरेका’ भए । जनताले बेहद सहनु र पार्टीका झोले हुनुलाई उनी दोष मान्छिन् । पहिचानका अनेकौँ किस्सा र मुद्दा विविध ढङ्गले उठिरहेका सन्दर्भमा गौरी चाहिँ भाषा, भेष र संस्कृतिलाई नै पहिचानको मूल तŒव मान्छिन् । आमा र बाबु दुवैलाई उत्तिकै महŒव दिन चाहने समैं दर्बानीकी आमा गौरी कुनै पनि कुरा अति प्रशंसा वा अति आलोचनाको विपक्षमा छिन् ।


प्रेरणा हुन् आमा धर्ती, आकाश मेरो बाबा

अन्धकार मार्गहरुमा प्रभास मेरो बाबा

सिकेको हुँ तिमीबाटै सङ्घर्षले शिखर चुम्न

आत्मविश्वासको स्तम्भ आभास मेरो बाबा ।


गौरी आफ्ना मुक्तकहरुमा मानवतावादी विचार राम्ररी पोख्छिन् । उनी कतै भौतिकवादी, कतै अध्यात्मवादी देखिन्छिन् । कतै भाग्यवादी, कतै कर्मवादी भएर उभिन्छिन् । अर्थात् गौरीमा वैचारिक वा दार्शनिक अडानको अभाव टड्कारो देखिन्छ । कतिसम्म भने कतिपय मुक्तकमा उठाइएका विचारलाई आफ्नै अर्को मुक्तकले विरोध गरेका छन् । सीमान्तकृत वर्गप्रति सहानुभूति राख्ने उनका मुक्तकहरु वर्गीय पक्षधरतामा ढल्केर पनि अडिग हुन सकेका छैनन् । थोत्रा र मक्किएका संस्कारहरुको समूल अन्त्य गर्न चाहने उनका विचारहरु पर्याप्त विद्रोही बन्न सकेका छैनन् । उल्टो बगेको समयको नदीप्रति तीब्र रोष प्रकट गरेका छन् उनका मुक्तकले । वास्तवमा उनका मुक्तकहरु समयको दर्पण नै हुन् । समयले उठाएका प्रश्नहरुको पहाड उनका मुक्तकमा चुलिएका छन् । साहित्यलाई समाजको ऐना मान्ने दर्शनबाट गौरी अत्यन्त प्रभावित छिन् । साहित्यलाई समाजको ऐनामा मात्रै नमान्ने वा पुनःसिर्जन मान्ने तप्काका लागि गौरीका मुक्तक सामान्य रोनाधोना मात्रै पनि लाग्न सक्छन् तर उनका प्रश्नहरु केवल उनका होइनन्, आम नेपालीका हुन् । आफ्ना प्रश्नलाई साझा बनाउन सक्नु गौरीको खुबी हो ।


नेपाली मुक्तकका क्षेत्रमा समैं दर्बानीले पछिल्लो एक दशकको दर्पण देखाएको छ । यो ऐनामा तपाईँको पनि र मेरो पनि अनुहार दुरुस्तै देखिएको छ । सरुभक्तको भनाइलाई विश्वास गर्ने हो भने गौरीका मुक्तकले भाषिक निकटताको देश निर्माण गर्ने लक्ष्य लिएको छ । गुरुङ भाषा र साहित्यका क्षेत्रमा लमजुङमा रहेर आफ्नै सुरमा लागिरहेका केयरसिंह गुरुङले गौरीका नेपाली मुक्तकहरुलाई गुरुङ भाषामा अनुवाद गरेका हुन् । भावानुवाद भनिए पनि अधिकांशतः शब्दानुवाद नै गरिएकाले गुरुङ भाषाका मुक्तकमा संरचनागत विचलन देखिन्छ । गौरी आवेशका मुक्तक लेख्दिनन् । उनका मुक्तकमा अपेक्षित प्रहारक क्षमता कम पाइन्छ । उनका मुक्तक पढेपछि पाठकलाई रननन भएको अनुभव हुन्छ, न कि झ्याम्म हानेको । नेपाल मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलका भनाइमा समैं दर्बानीमा समयका स्वरहरु छन् । 


समैं दर्बानी नेपाली मुक्तकप्रेमीहरुका लागि त राम्रो खुराक हो नै, गुरुङ भाषा सिक्न चाहनेका लागि थप सन्दर्भ सामग्री हो । गौरी भन्छिन्, ‘करिब ४ हजार शब्द मैले नेपालीमा मात्र होइन, आफ्नो मातृभाषाको भण्डारमा थप्न सकेँ, यसमा गौरवबोध छ ।’ गुरुङ साहित्यिक मञ्च गठन गरेर लाहुरे संस्कृतिमा केन्द्रीत समुदायलाई अध्ययन र लेखनका क्षेत्रमा लाग्न प्रेरणा दिने अभियानमा लागेकी गौरीको लेखन यात्राले सम्भावनाका सङ्केतहरु प्रशस्त देखाएका छन् । ११० पृष्ठको कृतिको प्रकाशन मुक्तक मञ्च, पोखराले गरेको हो । अन्त्यमा, उनको जीवन उनकै सेल्फ पोट्रेट जस्तै बन्न सकोस्, शुभकामना ।


सरल, नरम, मिलनसार गौरी हुँ म

आफ्नै कर्ममा विश्वास गर्ने मौरी हुँ म

अजम्बरी छैनौँ हामी मरी लानु के नै छ र ?

परी आउँदा दुःखीलाई टेवा दिने लौरी हुँ म ।

No comments:

Post a Comment