कथालाई राजनीतिले खानुहुँदैन : घनश्याम ढकाल (अन्तरवार्ता) - रुपिन्द्र प्रभावी

Thursday, February 11, 2021

कथालाई राजनीतिले खानुहुँदैन : घनश्याम ढकाल (अन्तरवार्ता)

  भेटवार्ता

कथालाई राजनीतिले खानुहुँदैन : घनश्याम ढकाल

घनश्याम ढकाल प्रगतिवादी नेपाली साहित्यिक धरातलका एक स्थापित साहित्यकार । कथा, उपन्यास र समालोचनालाई प्रमुख लेखन विधाका रुपमा अगाडि बढाउनुहुने साहित्यकार ढकाल कविता र निबन्धमा पनि सशक्त कलम चलाउनुहुन्छ । वि.स. २०१० माघ १४ गते माता कौशल्या र पिता प्रभाकर ढकालका पुत्ररत्नका रुपमा स्याङ्जाको पुतलीबजार-, सतौंमा जन्मनुभएका घनश्याम ढकाल विगत लामो समयदेखि पोखरामा रहेर साहित्यिक कर्ममा क्रियाशील हुनुहन्छ । 

घनश्याम ढकाल (२०१०-२०६८)

२०२६ सालतिरै निबन्ध लेखनबाट साहित्य यात्रामा तातेताते गर्न थाल्नुभएका ढकालले २०४२ मा 'नाम कमाउने रहरमा' नामक निबन्धसङ्ग्रह प्रथम कृतिका रुपमा नेपाली साहित्यका पाठकहरुलाई दिनुभयो । त्यसपछि फैसला हारजीतको (कविता चर्चा २०४४), दरिद्रताबाट मुक्ति (निबन्ध २०४५) भरिया र यात्री (कथा २०४६), गाउँभित्र (उपन्यास २०४७), मानचित्रमा नपरेको सहिद ( कथा २०४८) , समर्पणको बाटोमा (कथा २०५१) , मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना (समालोचना २०५४) , आजको महाभारत (कथा २०५५) रातो आकास (उपन्यास २०६०) र भावनाका छालहरु (२०६२) गरी झण्डै एक दर्जन कृतिहरु क्रमश: पस्कनुभएको छ । यथार्थवादी नेपाली समालोचना, कलम, गण्डकी संगमजस्ता साहित्यिक पत्रिका तथा पुस्तकहरु सम्पादनकार्यमा समेत सक्रिय व्यक्तित्व ढकाल गण्डकी साहित्य सङ्गम, अखिल नेपाल लेखक सङ्घ र विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुका साथै प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार हुनुहन्छ । पोखरामा रहेर राष्ट्रिय स्तरमा राम्रो पहिचान बनाउन सफल साहित्यकार ढकालको साहित्यिक योगदानको कदर गर्दै विभिन्न सङ्घसंस्थाले पारिजात सिर्जनशील पुरस्कार, साहित्य सन्ध्या पुरस्कार २०६३, मनकुमारी - केदार शर्मा प्रतिभा पुरस्कार २०६५ जस्ता पुरस्कार/सम्मानले अभिनन्दन पनि गरेका छन् भने नेपाल सरकारले दिने राष्ट्रिय प्रतिभा परस्कार २०५१ उहाँले अस्वीकार गर्नुभएको थियो । प्राध्यापन पेसाको कमाइबाट जीविकोपार्जन गर्दै आजीवन साहित्य साधना र खास गरी कथामा क्रियाशील साहित्यकार घनश्याम ढकालसँग कोसेली साहित्यिक पत्रिकाको कथा विशेषाङ्क (२०६५का लागि कथाकै सेरोफेरोमा रहेर रुपिन्द्र प्रभावीले लिनुभएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

# कथा के हो ?

o  समग्र जीवनको खण्डको चित्रण हो ।


# कथा र उपन्यासबिचको भिन्नता के छ ?

कथाले जीवनको सानो खण्डको चित्रण गर्छ, उपन्यासले बृहत् जीवनको चित्रण गर्छ । 


# कथालाई लामो बनाउँदा उपन्यास र उपन्यासलाई छोट्याउँदा कथा बन्छ कि बन्दैन ?

त्यस्तो हुँदैन । यी दुवैका विधागत वैशिष्ट्यहरु छन् ।


# यहाँ लामो समयदेखि कथा लेखनमा क्रियशील हुनुहुन्छ । यहाँले कथा लेखनारम्भ गर्दाको समयको र अहिलेको कथालाई कसरी हेर्नुभएको छ ?

 कथाको विकासक्रम व्यापक हुँदै छ । कथामा विभिन्न प्रवृत्तिहरु टक्कर गरिरहेका छन् । प्रगतिशील धारले नेपाली साहित्यको नेतृत्व गरिरहेको छ । सुरुमा कथा कमजोर नै थियो, समय पनि त्यस्तै थियो । २०४६ को परिवर्तनपछि यसले अझ व्यापकता पाएको छ यद्यपि अरु विधाको तुलनामा कथाको विकास हुनुपर्नेजति हुन सकेको छैन ।

उत्तराधुनिकतवाद मार्क्सवादको विरोधी धाराका रुपमा अगाडि बढेको छ, यसले केन्द्रीय विचारको अन्त, महाख्यानको अन्तजस्ता धारणा लिएर आएको छ । यसले मार्क्सवादी चिन्तनलाई प्रहार गरिरहेको छ।

# नेपाली साहित्यका यौनमनोविश्लेषणवादी कथाकार विश्वेश्वरप्रसाद कोइराला, आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीजस्ता कथाकारहरुबाट यहाँ कति प्रभावित हुनुहुन्छ ?

o विश्वेश्वरको यौनवादबाट म प्रभावित पनि छैन र कहिल्यै पनि भइनँ, गुरुप्रसादको प्रवृत्तिबाट भने मैले शिक्षा लिएकै हुँ ।


# साहित्यमा आदर्श कति हुनुपर्छ

आदर्श हुनुपर्छ तर आदर्शवाद हुनुहुँदैन । आदर्शवाद प्राच्यवादी प्रवृत्ति भएकोले मैले स्वीकार गर्दिनँ ।


# तर गुरुप्रसाद मैनालीको आदर्शवाद त जनताले मन पराए नि

गुरुप्रसादको आदर्शवादमा जनविरोधी तत्त्व छैनउनको आदर्शमा यथार्थ मिसिएको छ । यथार्थोन्मुख आदर्शवाद भएकोले जनताले मन पराएका हुन् । 


# एक पटक फेरि पछि फर्कन चाहन्छु, कथा हुनका लागि आवश्यक तत्त्वहरु के के हुन् ?

कथानक, शैली, भाषा, जीवन र जगतसँग सम्बन्धित विषयवस्तुको प्रतिबिम्व हुनुपर्छ । वैचारिक दृष्टिकोणको दर्‍हो उपस्थितिले कथालाई पूर्ण बनाउनुपर्छ ।


# विचार भन्नाले राजनीतिको कुरा गर्दै हुनुहुन्छ

विचार भन्नाले राजनीतिमा मात्रै घटुवा गर्नुहुँदैन । विश्वदृष्टिकोण, आर्थिक परिवर्तन, विचार आदि हुन सक्छन् । यथार्थ चित्रण गर्दा राजनीति पनि आउन सक्छ।


# कति आउनुपर्छ राजनीति

कति आउनुपर्छ, कति पर्दैन भन्ने कुरो कथाकारमा भर पर्छ । मूल कुरो राजनीतिले कथालाई खानुहुँदैन । राजनीतिक कथा पनि लेखिन्छ तर राजनीतिक विषयवस्तुलाई कलात्मक र विचारात्मक ढङ्गले लेख्नुपर्छ। 


# कथा लेख्दा सबभन्दा बढी ध्यान दिनुपर्ने कुरो के हो

मूल कुरो त सौन्दौर्यदृष्टि हो । पक्षधरता, भाषाशैली आदि ध्यान दिनुपर्छ।


# साहित्यले समाजको चित्रण गर्छ ?

समाजशास्त्रीय धारणाले साहित्यलाई समाजको ऐना भन्छ तर म ऐना मात्रै हो भन्नेमा सहमत छैन । साहित्यले समाजका कुरा फोटोका रुपमा हैन, पुनः सिर्जनाका रुपमा आफ्नो कला, कल्पना, विचार र भाषाशैलीअनुरुप व्यक्त गर्नुपर्ने हुन्छ।


# नेपाली कथाको विगतदेखि वर्तमानसम्मको गति कुन रुपमा अघि बढेको छ ?

ठ्याक्कै समालोचकीय बनिबनाउ जवाफ दिन कठिन छ । नेपाली कथामा विभिन्न धारा र प्रवृत्तिहरुमा कथा लेखिँदै आएका छन् । कथा साहित्यको गतिमा मलाई सन्तोष छैन । गति नै  रोकिएको हैन तर जति विकास हुनुपर्ने हो, त्यति भएको छैन ।


# के कारण होला यसको ?

एउटा त विद्युतीय सञ्चारमाध्यमले पनि असर पारेको छ भने मान्छे बढी व्यस्त रहने परिवेशले पनि कथामा घोत्लिने समयको कमी छ र मुख्य कुरो दृष्टिकोणको पनि समस्या छ।


# कथाकारहरुको संस्था पनि कम छ, हगि ?

कथा सबभन्दा बढी पढिने विधा हो तैपनि जीवन र जगतलाई प्रतिबिम्बित गर्ने चाहना नभएको, छोटो र सजिलो विधातर्फ आकर्षित भएका कारण पनि कथाकारहहरुको संस्था सन्तोषजनक छैन।


# कथा लेख्दा दुःख बढी हुने, प्राप्ति कम हुन सक्छ । यसप्रति राज्यसत्ता दोषी छ कि छैन ?

प्राप्तिलाई दुई किसिमले हेर्न सकिन्छ- आर्थिक र मान/सम्मान तर साहित्यिक प्राप्ति तत्काल हुने कुरा होइन । राज्यसत्ताको पनि कमजोरी छ। वातावरण व्यवस्थापन र उचित मान/सम्मान दिन नसक्नु राज्यको दोष हो तर मूल कुरो लेखक नै हो । अझ लेखकहरुमा अन्तर्वस्तुको सङ्कट र वैचारिक दृष्टिकोणको कमीले कथा कम लेखिएको हो ।


# कथाको भविष्य कस्तो देख्नुहुन्छ ?

भविष्य आशालाग्दो छ । विविध प्रवृत्तिमा प्रतिस्पर्धात्मक ढङ्गले कथाहरु लेखिएका छन्। यसले सुनिश्चित भविष्यको सङ्केत गर्छ ।


# नेपाली कथा र अन्तर्राष्ट्रिय कथाबिचको भिन्नता कस्तो पाउनुहुन्छ ?

अत्यन्त गम्भीर र जटिल प्रश्न गर्नुभयो। अन्तर्राष्ट्रिय कथाको स्तरमा हाम्रा कथाहरु पुग्न सकेका छैनन् । अन्तर्राष्ट्रिय कथामा जुन ढङ्गले जीवनको व्यापक र जटिल सूक्ष्म प्रतिबिम्बित हुन्छ, हाम्रोमा त्यो छैन। ।


# यसमा केको कमजोरी हो ?

शैलीभन्दा विषयवस्तु र दृष्टिकोणको कमजोरी हो। जीवन र जगत‍्लाई गम्भीर दृष्टिकोणले नियाल्ने र पुनः सिर्जनाको समस्या हो।

असुन्दर सामाजिक जीवनलाई सुन्दर रुपान्तर गर्न र सामाजिक क्रान्ति गर्ने सन्देश पनि दिन पनि कथा लेख्न्छु । 


# नयाँ पुस्ता कथाप्रति आकर्षित हुन नसक्नुको कारण के होला ?

आइरहेका छन् तर आउनुपर्नेजति अएका छैनन् । अरु विधाका तुलनामा कमी छ, यसका विविध कारणहरु अगाडि पनि चर्चा गरियो।


# नेपाली कथाको विकासमा कसले कस्तो भूमिका खेल्नुपर्छ ?

मूल कुरो लेखक नै हो । राज्यले पनि न्यूनतम वातावरण सिर्जना गर्नुपर्छ । जीवन र जगत‍्लाई सही र वैज्ञानिक दृष्टिकोणले नियालेर लेखकले पुनः सिर्जना गर्नुपर्छ।


# यहाँले पुनः सिर्जनाको कुरा पटक पटक उठाइरहनुभएको छ । नेपाली साहित्यमा पछिल्लो समयमा बहसको विषय बनिरहेको उत्तरआधुनिकतावादले पनि पुनः सिर्जनाको कुरा गर्छ भनिन्छ । तपाईँले यसैलाई पृष्ठपोषण गरिरहनुभएको हो ?

उत्तरआधुनिकतवादले पुनः सिर्जनाको कुरा गर्दैन। यसले त एक किसिमको ध्वंसको कुरा गर्छ । मैले ध्वंसको अर्थमा हैन, यथार्थको पुनः सिर्जनाको कुरा गरेको छु।

# यहाँ प्रगतिवादी साहित्यमा क्रियाशील हुनुहन्छ । उत्तरआधुनिकतावाद र प्रगतिवादको तुलना गरौं न !

यी दुईको त तुलना हुनै सक्दैन । उत्तराधुनिकतवाद मार्क्सवादको विरोधी धाराका रुपमा अगाडि बढेको छ, यसले केन्द्रीय विचारको अन्त, महाख्यानको अन्तजस्ता धारणा लिएर आएको छ । यसले मार्क्सवादी चिन्तनलाई प्रहार गरिरहेको छ। सत्य, न्याय, सार्वभौम विश्वव्यापी हुँदैन भन्छ र साम्राज्यवादको सांस्कृतिक पक्षलाई खण्डित गर्छ । यी सबैको विरोध प्रगतिवाद हो त्यसैले यी दुई विपरीत धार हुन् ।


# तर उत्तरआधुनिकतावादीहरु यसलाई मार्क्सवादको विरोध हो भन्नु भ्रम हो भन्छन् नि ?

भ्रममा उत्तरआधुनिकतावादीहरु छन् । यसका मान्यताले नै प्रगतिवादको विरोध गरिरहेको छ भने विरोध हैन भन्नु भ्रम हो । यसले सत्य, न्याय, प्रजातन्त्र, जनवाद, समानता यी सबैको सार्वभौम चरित्र हुन्न भन्ने व्याख्या गर्छ । उत्तरआधुनिकतावादको आधारशीला भनेको डेरिडाको विखण्डनवाद पनि हो । यसले यी सबैलाई विखण्डन गर्छ ।


# कथा किन लेख्नुहुन्छ ?

म उद्देश्यपूर्ण ढङ्गले लेख्छु । असुन्दर सामाजिक जीवनलाई सुन्दर रुपान्तर गर्न र सामाजिक क्रान्ति गर्ने सन्देश पनि दिन पनि कथा लेख्न्छु । 


# कथामा कल्पना बढी हुनुपर्छ कि यथार्थ ?

यथार्थालाई प्रष्ट पार्न कल्पना हुनुपर्छ, कल्पना भन्नाले स्वैरकल्पनाभन्दा समाजमा घट्न सक्ने यथार्थको कल्पना गरिनुपर्छ। ।


# यहाँको पहिलो प्रकाशित कथा कुन हो ? कुन पत्रिकामा छापिएको थियो ? o 'वारुणयन्त्र' भन्ने कथा पोखराबाट प्रकाशित 'हिमाली आवाज' भन्ने पत्रिकामा पहिलो पटक प्रकाशन भएको हो।


# यहाँलाई मन पर्ने कथाकारहरुको नाम लिनुपर्दा ?

खासगरी प्रगतिशील कथाकारहरु मनपर्छ नै । नामै लिनुपर्दा पारिजात, गुरुप्रसाद मैनाली नेपाली कथाकारहरुमा पर्छन् भने अन्तर्राष्ट्रियमा चेखव, गोर्की , लुसुन आदि मन पर्छन्।


# कथामा यौन विषयको समावेशलाई कसरी हेर्नुहुन्छ ?

आउन सक्छ । मूल कुरो विषय के लिइन्छ भन्ने होइन । विषयलाई कुन उद्देश्यले समावेश गरिन्छ भन्ने मुख्य हो त्यसैले जुनसुकै विषय लिन सकिन्छ।


# प्रगतिवादीहरु त यौनविषयक साहित्यलाई घृणा गर्छन् नि ?

पूरै यौनलाई घृणा गर्दैनन्, छाडा यौनलाई घृणा गर्छन् । यौन पनि जीवनको एक पाटो भएकोले मर्यादित ढङ्गले आउन सक्छ।


# साहित्य मनोरञ्जनका लागि लेखिनुहुन्छ कि हुँदैन ?

मनोरञ्जनका लागि मनोरञ्जन मात्रै साहित्यमा हुनुहुँदैन । त्यसले कुनै वर्गीय हित गर्नुपर्छ।


# पाठकहरुको आकर्षण त मनोरञ्जन दिने साहित्यमै बढी छ ?

राज्यको कमजोरीले पनि यस्ता साहित्यले बजार ढाकेको हो। स्वस्थ र सभ्य मान्छेले अश्लील साहित्य नै मन पराउँछन् भन्ने होइन । खराब कुराको प्रतिकार नभएसम्म क्षेत्र ढाक्छ।


# पोखरेली साहित्यमा कथाको स्थिति कस्तो छ ?

अरु विधाजति सशक्त छन्, तिनीहरुको तुलनामा कथाको उन्नति हुन सकेको छैन ।


# पोखरामा थुप्रै संस्थाहरु साहित्यिक उत्थानका लागि क्रियाशील हुँदा हुँदै पनि यस्तो स्थिति कायम छ, जहाँ संस्थाहरु छन् तर कथाकार जन्माउन असक्षम । कथाकार जन्माउन ती संस्थाहरुले के गर्नुपर्छ ?

कथा लेखकहरुलाई प्रोत्साहन गर्नुपर्छ । गद्य लेखनमा आकर्षण गर्नुपर्छ । कथासम्बन्धी गोष्ठी, अन्तरक्रिया र प्रतियोगिताहरु हुनुपर्छ ।


# यहाँ स्वयम् पनि केही संस्थाहरुको नेतृत्व गरिरहनुभएको छ, कथाको उन्नयनका लागि यहाँको संस्थागत कुनै याजना छ कि

 कथा विधाकै विकासका लागि भनेर कुनै ठोस योजना त बनाइएको छैन तर गद्य लेखनलाई प्रोत्साहन गरिरहेका छौं ।


# पोखरामा कथाको स्थितिलाई यहाँले झण्डै निराशाजनक चित्रण गर्नुभयो । कथाको विकासबिना प्रस्तावित साहित्यिक राजधानी पोखराले मूर्तरुप लिन सक्ला

पोखरा राजधानी हो कि होइन भन्ने बहसकै कुरा हो। कथाबिनाको राजधानी हुनै सक्दैन।


 # यहाँका सञ्चारमाध्यमहरुले कथाको विकासका लागि के कस्तो भूमिका खेलेका छन् 

सञ्चारले साहित्यलाई पर्याप्त महत्त्व दिन सकेको छैन । समग्र नेपालकै परिवेशमा यहाँको सञ्चार माध्यमले अरु विधालाई केही हदसम्म टेवा पुर्‍याए पनि कथाको विकासमा भूमिका खेलेको पाइँदैन । 


# पोखरमा रहेर कथा साहित्यमा साधनारत केही कथाकारका नाम लिनुपर्दा ?

प्रगतिवादीइतर धारमा सरुभक्त राष्ट्रिय स्तरमै चर्चित नाम हो भने प्रगतिवादी धारमा भवानी पाण्डे 'भास्कर', परशुराम कोइरालाजस्ता प्रतिभाहरु छन्।


# वर्तमान सन्दर्भमा कस्ता कथाहरु लेखिनुपर्छ ?

कथा मात्र हैन, साहित्य जीवन र जगत‍्सापेक्ष हुनुपर्छ । कथा कथाका लागि मात्र नभई सूक्ष्म ढङ्गले यथार्थको प्रतिबिम्बन गरी जीवन र जगत‍्लाई परिवर्तन गर्ने उद्देश्यमूलक ढङ्गले लेखिनुपर्छ । विविध प्रवृत्तिका कथाहरु आउनुपर्छ तर युगको प्रतिनिधित्व प्रगतिवादी धारका कथाले मात्र गर्न सक्छ । कथाले कुप्रवृत्तिलाई परास्त गर्नुपर्छ ।


# अन्तमा केही ?

बागलुङबाट प्रकाशित कोसेलीले कथाजस्तो गहन साहित्यिक विधागत विशेषाङ्क प्रकाशन गर्न लागेको सुन्दा अत्यन्त खुसी लागेको छ । यस्ता सत्कार्य हुनुपर्छ, यस्ता सत्प्रयासहरु भइरहनुपर्छ । मलाई आफ्ना विचार राख्न अवसर दिनुभएकोमा धन्यवाद ।

कोसेली, कथा विशेषाङ्क २०६५ बाट साभार

द्रष्टव्यः ढकालको २०६८ फागुन १ गते दुर्घटनामा परी निधन भएको थियो । ढकालप्रति हार्दिक श्रद्धाञ्जली ।





शब्दचित्रमा घनश्याम ढकाल

जन्ममिति– वि. सं .२०१० माघ १४ गते
जन्मस्थान– पुतलीबजार नगरपालिका–८, सतौं, ठूलापँधेरा, स्याङ्जा
बसोबास– पोखरा–८, सिमलचौर, कास्की

माता/पिता– कौशल्या/प्रभाकर ढकाल
श्रीमती– पारु ढकाल
छोरा/छोरी– विजय ढकाल ‘विश्वास’ (सहिद), सिर्जना ढकाल, वन्दना ढकाल
बुहारी– विरजा अधिकारी ‘नमुना’

शिक्षा– स्नातकोत्तर (तथ्याङ्क शास्त्र, बीएल)

प्राध्यापन : पृथ्वीनारायण क्याम्पस, पोखरा (२२ वर्षसम्म)
संस्थापक प्राध्यापक : जनप्रिय क्याम्पस, पोखरा

संलग्नता– पूर्वमहासचिव, पूर्वसल्लाहकार तथा अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल
अध्यक्ष, अखिल नेपाल लेखक सङ्घ, नेपाल
पूर्वउपाध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल
संस्थापक सचिव, पूर्वअध्यक्ष तथा सल्लाहकार– गण्डकी साहित्य संगम, पोखरा
सल्लाहकार – गण्डकी साहित्य परिषद्
संस्थापक – गोकुल साहित्य पुरस्कार
संस्थापक अध्यक्ष तथा संरक्षक, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, पोखरा
पूर्वअध्यक्ष तथा सल्लाहकार, प्रगतिशील लेखक संघ, कास्की
संस्थापक सदस्य, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति
सल्लाहकार, अभिज्ञान आन्दोलन, काठमाडौं
सल्लाहकार, नेपाल साहित्यिक पत्रकार संघ ।

सङ्गठनमा आबद्ध– अनेरास्ववियु, २०३० साल
कम्युनिस्ट पार्टीको निकट रहेर काम गरेको– २०३० सालदेखि
नेकपाको पूर्ण सदस्यता– २०३६ साल

लेखन आरम्भ– २०२६ सालदेखि (नौ कक्षामा पढ्दापढ्दै लेख्न सुरु)
लेखन मुख्य विधा– आख्यान र समालोचना

प्रकाशित कृतिहरू :
१। नाम कमाउने रहरमा, निबन्ध संग्रह, २०४२
२। गङ्गा–कावेरी एक्सप्रेस (चिठीलाई जवाफ), काव्य, २०४२
३। फैसला हारजीतको, कविता संग्रह, २०४४
४। अभिवादन गर्छ सगरमाथा पेरुभियाली जनक्रान्तिलाई, काव्य, २०४४
५। दरिद्रताबाट मुक्ति, निबन्ध संग्रह,२०४५
६। भरिया र यात्री, कथासंग्रह, २०४६
७। गाउँभित्र, उपन्यास, २०४७
८। सहिद मानचित्रमा नपरेको सहिद, कथासंग्रह, २०४८
९। समर्पणको बाटोमा, कथासंग्रह, २०५१
१०। माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, समालोचना, २०५४
११। आजको महाभारत, कथासंग्रह, २०५५
१२। रातो आकाश, उपन्यास, २०६०
१३। भावनाका छालहरू, शोकगीतिका, २०६२
१४। ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सैद्धान्तिक पुस्तिका
१५। सहिदको सालिक, कथासंग्रह, २०६६
१६। सौन्दर्यशास्त्रको आँखीझ्याल, सौन्दर्यचिन्तन पुस्तिका, २०६६

सम्पादित ग्रन्थ :
१। यथार्थवादी नेपाली समालोचना, २०६२
२। पोखरेली समालोचना, २०६५
३। माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७ ९सम्पादन संयोजक०

सम्पादक : पसिना, कलम, गण्डकी संगम, चन्द्रागिरि लगायतका विभिन्न साहित्यिक पत्रिका ।

प्रधानसम्पादक : क्रमभंग विचारप्रधान द्वैमासिक

प्राप्त पुरस्कार :
क० राष्ट्रिय प्रतिभा पुरस्कार–२०५१ (अस्वीकार)
ख० पारिजात सृजन पुरस्कार–२०५५
ग० साहित्य सन्ध्या पुरस्कार– २०६३
घ० मनकुमारी–केदार शर्मा प्रतिभा पुरस्कार– २०६५

मृत्यु : २०६८ फागुन १, काठमाडौं
 

No comments:

Post a Comment