पर्दापछाडिका गीतकार थुलुङ –रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Thursday, May 27, 2021

पर्दापछाडिका गीतकार थुलुङ –रुपिन्द्र प्रभावी

 


व्यक्तित्व

पर्दापछाडिका गीतकार थुलुङ 

–रुपिन्द्र प्रभावी

प्रारम्भ

वि. सं. २०२३ साउन ७ गते सोलुखुम्बुको साविक नेचा बेतघारी गा. वि. स. वडा नम्बर ६, पोखरेमा जन्मेका श्रीमान् थुलुङले जीवनको ऊर्जाशील समय पोखरमा रहेर साङ्गीतिक क्षेत्रमा बिताए । पिता रामश्वर राई र माता फागुलक्ष्मी राईका माइला सुपुत्र राईले पोखरामा तराना म्युजिक सेन्टर स्थापना गरेर सङ्गीत पाठशाला पनि चलाए । पोखराका अधिकांश साङ्गीतिक कार्यक्रममा दौडधुप गरिरहने थुलुङको वि. सं. २०७५ चैत २७ गते पोखरामै सवारी परी दुर्घटनामा ज्यान गयो ।

श्रीमान् थुलुङ (वि. सं. २०२३–२०७५) को नाम सुन्दा प्रायः सबैको दिमागमा बन्ने बिम्ब ‘गायक’ नै हो । अलिक अन्तरङ्ग  व्यक्तिहरूले ‘सङ्गीतकार’को घुर्मैलो घुर्मैलो बिम्ब पनि मानसिकतामा कतै निर्माण गरेका हुन सक्दछन् । वास्तवमा श्रीमान् थुलुङको अर्को महत्त्वपूर्ण व्यक्तित्वको पाटो ‘गीतकार’ पनि हो, जो पर्दापछाडि नै परेको छ । यसरी हेर्दा थुलुङ नेपाली साङ्गीतिक क्षेत्रका ‘त्रिवेणी’ नै थिए ।

श्रीमा्न थुलुङका रचनाका करिब डेढ दर्जन गीतहरू रेकर्ड भएका पाइन्छन् । रेकर्ड नभएका पनि करिब १०० गीत उनको डायरीमा थन्किएको उनको पारिवारिक स्रोतको भनाइ छ । रेकर्ड भएका मध्ये उनका मूल प्रवृत्तिको प्रतिनिधित्व गर्ने केही गीतका आधारमा उनको गीतकारिताको परिचयात्मक परिचर्चा यहाँ गरिएको छ । 


राष्ट्रप्रेमी गीतकार थुलुङ

नवराज बरालको सङ्गीतमा रहेको ‘विश्वको शिर सगरमाथा...’ बोलको राष्ट्रिय गीतमा स्वयम् श्रीमान् थुलुङको स्वर रहेको छ । ‘नेपाल आमा’ एल्बममा समेटिएको यो गीत राष्ट्रभक्तिले ओतप्रोत छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको महिमागान गर्दै पुर्खाले स्वगरूपी नेपाललाई विश्वभर चिनाइदिएको प्रसङ्ग गीतमा आएको छ । पहाडै पहाडले भरिएको नेपालमा जन्मेका नेपालीलाई विश्वले वीर गोर्खालीका नामले पनि चिन्दछ । शत्रुका सामु नझुक्नु वीर गोर्खालीको विशेषता नै हो । गीतकार थुलुङले हिमाल, पहाड र तराई (मधेस) नेपालका तीनै भूभाग प्राणभन्दा पनि प्यारो लाग्ने अभिव्यक्ति दिएका छन् । विविधतामा एकता नेपालीको विशेषता हो । जनक, बुद्ध, भृकुटी र सीता जस्तै नेपालले गौरव गर्ने पाटो विभिन्न जातीय संस्कृतिहरू पनि हुन् । बहुजातीय मुलुक नेपाल बहुसांस्कृतिक पनि छ । यति हुँदा हुँदै पनि सबै संस्कृति मान्ने नेपालीहरू मिलेर नै बसेका छन् । गीतमार्फत् थुलुङले स्रोता÷पाठकमा राष्ट्रवादी भावनासहित सांस्कृतिक एकताको भावना जगाउने अभिलाषा राखेका छन् ।

थुलुङको रचनामा रेकर्ड भएको अर्को राष्ट्रप्रेमी गीत हो– ‘मेरो देश नेपाल...।’ वसन्त थकालीको स्वरमा रेकर्ड भएको गीतमा सङ्गीत पनि रचनाकार थुलुङकै रहेको छ । यस गीतमा पनि उनले देशप्रेमको निश्छल भावना छताछुल्ल पारेका छन् । नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै हिमाल, पहाड, नदीनालाको महिमागान उनले गाएका छन् । यस्तो सुन्दर देशमा जन्म लिन पाएकोमा र यस्तो सुन्दर देशको गीत गाउन पाउँदा गौरवबोध गर्दै पुर्खाहरूको सपनालाई साकार पार्न श्रम र सिप लगाएर देशोन्नतिमा लाग्न आम मानिसलाई उनले आह्वान गरेका छन् । 

निस्वार्थ राष्ट्रप्रेमको उत्कृष्ट नमुनाका रुपमा उनका गीतहरू आएका छन् । खास गरी सरल शब्दमा गहन भाव उनका गीतमा पाइन्छ । उनको राष्ट्रप्रेमी गीतले बोकेको मूल भाव नै वीरताको गुणगान गर्नु र वीरतामाथि गौरवबोध गर्नु रहेको पाइन्छ । उनको राष्ट्रवादी चिन्तन पहिचान र गौरवसँग जोडिएको छ । उनको गीत लेखनको सर्वाधिक सफल पाटो पनि राष्ट्रप्रेमी/राष्ट्रिय गीत लेखन नै हो ।


लोकगीतका रचनाकार थुलुङ

लोकगीत मूलतः सङ्कलन गरिने गीत हो । पछिल्लो समयका अधिकांश लोक गीतहरू सङ्कलन नभई रचना नै भएका पाइन्छन् । कतिपयले रचना नै गरे पनि सङ्कलन नै गरेको भनेर दाबी गरेका पाइन्छन् । तिनका वास्तविकता भने फरक हुन सक्छन् । थुलुङले भने लोक गीतहरूमा स्पष्ट रुपमा रचना नै भनेका छन् । त्यसो त उनका अधिकांश गीतमा लोक शैली प्रस्तुत भएका छन् ।

थुलुङको एल्बम ‘धन्दा नमान’ मौलिक लोकगीतले सजिएको एल्बम हो । एल्बमको शीर्ष गीत पुर्बेली भाकाको लोकगीत हो । ‘धन्दा नमान बैनी धन्दै नमान, तिम्रो जोवन मै लाने छु हुन्न नभन...’ बोलको उनको रचनाको गीत उनैले रुवी गौलीसँग युगल गाएका छन् । दोहोरी शैलीमा प्रस्तुत गरिएको गीतमा सङ्गीत पनि थुलुङकै रहेको छ । एकापसमा मिलेर जीवन बिताउने कुरामा केटा पक्षले विश्वस्त बनाउन खोजेको देखिन्छ भने केटी पक्षले धोका नदिने कुरामा आश्वस्त हुन खोजेको पाइन्छ । ‘माया नमार्नू हजुर माया नमार्नू, फूलैफूलको जोवन दिउँला धोका नदिनू...’ भन्दै एकार्काको पिरतीलाई कसिलो बनाउने प्रयास गीतमा गरेको पाइन्छ । एकार्काको पिरतीको कुरा गरिरहँदा पनि आमाबाबु, गाउँघर, साथीसँगीको सम्झना गर्दै तिनीहरूप्रतिको अनुरागसहित गीतकारले शब्द लेखेका छन् । परदेश जान नहुने र गाउँघर नैै रमाइलो भाएको भाव उनको यो गीतमा पनि पाइन्छ । मुनामदन खण्डकाव्यमा मुनाले मदनलाई जसरी भोट जाने बेलामा नजान अनेकौँ बिन्ती गर्छिन्, त्यसै गरी यो गीतमा स्त्रीले पुरुषलाई ‘यही ठाउँ रमाइलो छ’ भन्दै यहीँ रहन आग्रह गरेकी छिन् । केटाले पनि जहाँ गए पनि गाउँघरकै याद मनमा रहिरहने बताएका छन् । यस गीतमा पनि नारी–पुरुषबीचको स्वाभाविक प्रणय प्रेमसँगै मातृभूमि प्रेमको उदाहरण सुन्न पाइन्छ ।

उनको धन्दा नमान एल्बममै समावेश गरिएको अर्को लोकगीत ‘यो मायाको मुहारै हँसिलो....’ मा पनि मायालुलाई छोडेर जान नहुने र नसक्ने अभिव्यक्ति आएको छ । विदेश जाने दिन आइसके पनि छोडेर जान भने गाह्रो भएको भाव गीतमा पाइन्छ । मायाले बाँध्यो यसरी, हितैको मायालाई छोडेर जाऊँ म कसरी...भनेर नेपाली युवाहरूको बाध्यात्मक परिस्थितिको चित्रण गीतमा गरिएको छ । यसरी नै अन्य लोक गीतहरूमा पनि उनको मूल स्वर भनेकै ‘परदेश जानबाट युवालाई रोक्नुपर्छ’ भन्ने नै हो । 


गीतमा परदेशीको पीडा 

थुलुङका अधिकांश गीतमा परदेशीको पीडा पोखिएका हुन्छन्, या त परदेसिनुको पीडा छचल्किएका हुन्छन् । उपर्युल्लिखित लोक गीतमा परदेशी हुनु र परदेसिनुको पीडा पोखिएको चर्चा भइसकेको छ । यस्तै भावको उनको अर्को गीत हो– ‘म त हिँडेँ परदेशमा बस हजुर...।’  उमेश राईको स्वर रहेको यो गीतमा थुलुङको शब्द र सङ्गीत रहेको छ । आफू बाध्यताले गाउँघर छोडेर गए पनि मनमा भने गाउँघरमा नै रहने भन्दै छिटै फर्की आउने वाचासमेत गीतमा गरिएको छ । साहुको ऋण तिर्नका लागि मुटु जस्तै प्यारी मायालुलाई छोडेर बिदेसिन बाध्य हुनुपरेको गीतकारको धारणा छ । यस्तै अर्को गीत ‘परदेशी छोरा, यो मर्ने चोला...’ पनि उनको परदेशीको पीडा समेटिएको गीत हो । गीतमा स्वर, सङ्गीत र शब्द थुुलुङकै रहेको छ । परदेशमा हुँदा पनि आमाबाबुको मायाले सताइरहने भन्दै बाआमालाई सम्झँदा आँसु बरर बग्ने विचार गीतमा आएको छ । क्षणभङ्गुर जीवनमा पीडै पीडा बोकेर जीवन बाँच्नुपर्ने अवस्था आम नेपाली युवाहरूको रहेको छ । परदेशमा एक्लो जीवन बाँच्दा साउने भेल झैँ आँसु बग्ने अभिव्यक्ति गीतमा छ ः

                  साउनको बर्खे झरी जस्तै बग्छ यो आँसु

                  एक्लो जीवन यो ठाउँमा कसरी म बसूँ ?


पिरतीका गीतकार 

             हृदयमा जवानीको फूल फुल्यो

             फूल हेर्न तिमी आउनै भुल्यौ ।

श्रीमान् थुलुङको रचना रहेको यो गीतमा सङ्गीत र स्वर पनि थुलुङकै रहेको छ । कुनै सुन्दरी युवतीले युवकलाई हेर्दा उत्पन्न हुने मनोभावनालाई यस गीतमा प्रस्तुत गरिएको छ । विपरीत लिङ्गीय स्वाभाविक आकर्षण यस गीतमा झल्किन्छ । मायालुको साथबिना कुनै प्यास नमेटिने भाव व्यक्त गरिएको गीत सुगम सङ्गीतमा आधारित छ । वसन्त थकालीको स्वर तथा थुलुङकै शब्द र सङ्गीत रहेको ‘गएको राति त्यो मध्य रातमा उनैलाई देखेथेँ...’ बोलको गीत पनि सुगम सङ्गीतमा आधारित प्रेम गीत हो । सपनीमा देखेपछि राति नै बिउँझिनेबित्तिकै  मायालुलाई सम्झेर गीत लेखेको प्रसङ्ग गीतमा छ । भर्खरै चिनजान भएकी युवतीको गालाको खाल्डोमै दिल बसेपछि धेरै माया लागेको भावुक प्रेम गीतमा अभिव्यक्त छ । आफ्नो अभिव्यक्ति लेखेर इमेल गर्दा वास्तविक हो कि होइन भनेर युवतीले जाँचेको रमाइलो प्रसङ्गले शृङ्गार रसमै हास्य रसको अन्तरघुलन गर्ने क्षमता थुलुङमा रहेको बुझ्न सकिन्छ । यसबाहेक लोक गीत र अन्य गीतहरूमा पनि पिरतीको भावना उनका गीतमा पाइन्छन् । 


हृदयका गीतकार 

श्रीमान् थुलुङ गीतकार भावनाले बनेका गीतकार हुन् । गीतकार बन्ने लोभमा लेख्न थालेका गीतकार नभई हृदयमा उथलपुथल भएका भावनालाई धुनमा उन्नका लागि शाब्दिक साधना गर्ने गीतकार हुन् । यस अर्थमा उनका गीतहरू स्वाभाविक स्वभावका छन् । जबर्जस्ती शब्द खोजेर लेखिए जस्ता नभई हृदयको अन्तरबाट निस्केका सरल र स्वाभाविक शब्दमा उनिएका भावनात्मक अभिव्यक्ति थुलुङका गीत हुन् । उनले हृदयबाट जस्तो शब्द निस्किन्छ, त्यसैलाई गीति लयमा उन्ने प्रयत्न गरेका देखिन्छ । परिमार्जन र परिष्कारका लागि अन्य अग्रज गीतकार वा समालोचकसँग सल्लाह गर्ने आवश्यकता उनले सायद देखेनन् । यस अर्थमा उनका कतिपय गीतमा त्यसअघि नै स्थापित र चर्चित गीतका शब्दहरू पनि मिसिएका छन् भने कतिपयलाई थोरै परिमार्जन मात्रै गरिदिएको भए अझै सुन्दर बन्ने थियो भन्ने भान आम पाठक÷स्रोतालाई पर्न सक्छ ।


कतिपय गीत आफूले सिर्जना गरेका धुनलाई न्याय गर्नका लागि लेखेका छन् थुलुङले र कतिपय धुन आफूले सिर्जना गरेका गीतलाई न्याय गर्नका लागि सिर्जना गरेका छन् । शब्दहरूमाथि न्याय गर्न सक्ने सङ्गीतकार तथा धुनहरूमाथि न्याय गर्न सक्ने गीतकारका रुपमा श्रीमान् थुलुङलाई चिन्न सकिन्छ । ती दुवैलाई न्याय गर्न हरदम प्रयत्न गर्ने गायक त हुन् नै उनी ।


निष्कर्ष

गीतकार थुलुङको गीति लेखन लोक परम्पराको जगमा अडिएको छ । पश्चिमी शब्दमा पूर्वेली लवज प्रदान गर्न सिपालु थुलुङ आफ्नो कलाकारितासँग पहिचानलाई सधैँ जोड्न चाहने गीतकार हुन् । पहिचानसँगै माटोप्रेम उनको अर्को महŒवपूर्ण प्रवृत्ति हो । आफ्ना अधिकांश रचनामा आफँैले सङ्गीत भरेका कारण पनि उनका शब्दहरूले न्याय पाएका छन् ।

सरल, सहज, मौलिक भाषाशैलीका स्वच्छन्दतावादी गीतकार हुन् थुलुङ । वैचारिकताभन्दा बढी कोमलताको गुण उनका गीतमा पाइन्छन् । साङ्गीतिक यात्रामा समयले जे आवश्यक ठान्दछ, त्यसलाई परिपूर्ति गर्ने सक्षमता थुलुङमा थियो । समयले नै उनलाई गीतकार पनि बनाएको थियो तर उनको चर्चा जति सङ्गीतकार वा गायकका रूपमा हुने गर्दछ, त्यति गीतकारका रुपमा हुने गर्दैन । उनले यो धराधाम छोडेर गइसकेका छन्, जति गीत उनले रचना गरे, तिनलाई सङ्कलन गरेर सिङ्गो कृतिका रुपमा सार्वजनिक गरिनु जरुरी छ– ती चाहे रेकर्ड भएका होऊन्, चाहे डायरीमा थन्किएका नै किन नहोऊन् । 


अन्त्यमा

श्रीमान् थुलुङसँग पोखरामा हुने साहित्यिक÷साङ्गीतिक कार्यव्रmममा मेरो पनि पटक पटक भेट हुने गरेको थियो । विशेष कार्यव्रmमका अलावा नियमित रूपमा पोखरामा विभिन्न संस्थाले गर्ने कार्यव्रmममा उनीसँग भलाकुसारी र भेटघाट गर्ने मौका मैले पनि पाएको थिएँ । ती कार्यव्रmमहरूमा हुने साउन्ड सिस्टमको अभावलाई उनको तराना म्युजिक सेन्टरमा रहेको साउन्ड सिस्टमले धेरै पटक पूर्ति गरेको छ । कार्यव्रmम सकिएपछि साउन्ड सिस्टम सम्बन्धित ठाउँमा फिर्ता गर्ने व्रmममा प्रायः उनको र मेरो भेट हुने गर्दथ्यो । यसो हुनुको कारण कतिपय कार्यव्रmमको आयोजक संस्थाको अध्यक्षको हैसियतले र कतिपयको सदस्यको  हैसियतले जिम्मेवारी आइपर्ने गर्दथ्यो । यसरी भेट हुने व्रmममा म पनि गीत लेख्ने व्यक्ति भएको उनलाई जानकारी थियो त्यसैले उनले मसँग पनि पटक पटक गीत माग गरेका थिए । मैले दिउँला भन्दा भन्दै समय कहिल्यै गीत नमाग्ने र दिन नसक्ने स्थितिसम्म आइपुग्यो । गीतको स्तरमाथि पनि उनको चिन्तन सधैँ सुन्न पाइन्थ्यो । स्तरीय गीत लेखिनुपर्छ भन्नेमा सधैँ सचेत उनलाई यतिखेर स्तरीय गीतका पक्षधर गीतकार तथा हृदयको गीत लेख्ने गीतकारका रुपमा म स्मरण गरिरहेको छु । भावपूर्ण श्रद्धाञ्जली श्रीमान् सर । 

साहित्य पोस्ट डट कममा पनि...

No comments:

Post a Comment