पोखरा । साहित्यकार दीपक समीपको पहिलो मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा सार्वजनिक भएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा
आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, कलाकार
दुर्गा बराललगायतले कृतिको लोकार्पण गरे । कार्यक्रममा सरुभक्तले दीपकलाई
प्रभावशाली मुक्तककार रूपमा चित्रण गरे । लमजुङमा २०५१ मा भएको भेटघाटको स्मरण
गर्दै उनले दीपक समीपलाई त्यस बेलादेखि संरक्षण कविता आन्दोलनका विभिन्न
कार्यक्रममा सहकार्य गर्दा र पोखरामा विभिन्न साहित्यिक संस्थाको नेतृत्व
गर्दासम्म असल र जुझारु स्रष्टाका रूपमा आफूले चिनेको बताए । उनले गजलमा जस्तै
मुक्तकमा पनि समीपको उपस्थिति हस्तक्षेपकारी भएको धारणा राखे ।
कवि तीर्थ श्रेष्ठले मुक्तक
बिन्दुमा सिन्धु अटाउने विधा भएको भन्दै आकारमा सानो भन्दैमा मुक्तक ख्याल ठट्टाको
विषय नभएको धारणा राखे । उनले दीपक समीप मुक्तकलाई गम्भीरतापूर्वक लेख्ने
मुक्तककार भएको बताए ।
मुक्तककार समीपले आफ्ना अनुभव र
अनुभूतिलाई मुक्तकमा समेट्ने प्रयास गरेको बताए । सङ्ग्रह प्रकाशनका लागि सहयोग
गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी दिनमा पाठकीय सुझावको अपेक्षा गरे ।
वि. सं. २०३३ जेठ १६ गते लमजुङको सूर्यपाल (हालः मध्यनेपाल नगरपालिका-३) मा
जन्मेका समीपले चालिसको दशकदेखि नै मुक्तक लेख्न थालेका हुन् । यसअघि वि. सं. २०६२
मा उनको ‘भूगोलभित्र नकोरिएको देश’ नामक गजल सङ्ग्रह प्रकाशन भएको थियो । मुक्तक र
गजलका अलावा कथा, लघुकथा, गीत र कवितामा समेत कलम चलाउने समीप गजल सन्ध्या पोखरा र
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् ।
आयोजक पोखरेली युवा सांस्कृतिक
परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा समीक्षा सञ्जीव
पौडेलले, स्रष्टा परिचय डा. ईश्वरमणि अधिकारीले र स्वागत कोषाध्यक्ष अर्जुन
अधिकारीले गरेका थिए । कार्यक्रममा कवि रमेश श्रेष्ठ र जीवन सागर भण्डारीले
शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी
थिइन् । बिएन पुस्तक संसारद्वारा प्रकाशित पुस्तकमा १०१ ओटा मुक्तक समेटिएका छन् ।
दीपक समीपको परिचयः
संरचनागत
आकारमा सानो भए पनि मुक्तक अन्य विधाभन्दा शक्तिशाली हुन्छ । मुटुभित्र धारिलो
छुरा धसिए झैँ हुनु, दिमागमा
हजारौँ भोल्टको करेन्ट लागे जस्तो झड्का लाग्नु र सिकारीको
गोलीले डालीमा बसेको चरा फुत्रुक्कै खस्नु जस्ता तीव्र गतिका असरहरू मुक्तकमा
निहित हुन्छन् । दीपक समीपका मुक्तकहरूमा यस्ता तीव्र प्रकारका असरहरू प्रशस्त
पाइन्छन् ।
साभारः
अक्षर अक्षरमा देश (मुक्तककार परिचय)
No comments:
Post a Comment